२०८२ पुष १२

प्रर्दशनीमा पर्यटन बहसः पर्यटन र लगानीमैत्री वातावरण हुनुपर्नेमा जोड
  • लुम्बिनी खोज
  • २०८२ पुष ११, शुक्रबार १६:२५ गते

बुटवल, ११ पुस ।
पर्यटन क्षेत्रको विकासका लागि नीतिगत रुपमै सुधार हुनुपर्नेमा जोड दिइएको छ । संघ तथा प्रदेशका नीति पर्यटन मैत्री बन्नुपर्ने र नीतिगत सुधार सगै बजेटको सही प्रयोग गर्नुपर्ने सो क्षेत्रका विज्ञ तथा सरोकारवाला निकायले सुझाव दिएका छन् । उनीहरुले लुम्बिनी प्रदेशका पर्यटकीय स्थलहरु बीचको सहज पहुँच बनाउनुपर्ने, धार्मिक स्थानहरुमा सोही खालका पर्यटकीय वातावरण बनाउन पनि उनीहरुले आग्रह गरेका छन् ।
रुपन्देही उद्योग संघले संचालन गरेको १६ औं औद्योगिक प्रदर्शनीको अवसरमा आयोजित पर्यटकीय प्रवेशद्वार र पूर्वाधार लुम्बिनी समृद्धिको आधार विषयक पर्यटन बहसमा सहभागीहरुले पर्यटकीय संघसंस्थाहरुबीच समन्वय र सहकार्यको वातावरण बनाउन सुझाव पनि दिए । राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा पर्यटकीय अभियान तथा टुरप्याकेज संचालन गर्न, भारतीय पर्यटकहरुको सम्मानपूर्व व्यवहार गर्न उनीहरुको सुझाव छ । पर्यटन र लगानीमैत्री वातावरणले मुलुकको संवृद्धिमा योगदान पुग्नेमा विशेष जोड दिइएको छ ।
सहभागी अधिकांशले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नियमित संचालनका लागि सरकारसँगै निजी क्षेत्र पनि थप अग्रसर हुनुपर्ने आग्रह गरे । लुम्बिनीमा आएका पर्यटक किन प्रदेशका अरु जिल्लामा जान सकेनन् र लुम्बिनीमै पनि किन रात बिताउन सकेनन् ? पूर्वाधारसहित निजी क्षेत्रको पनि ठूलो लगानी भएपनि पर्यटक किन बढ्न सकेनन् , जस्ता प्रश्न उठान गर्दै सहभागिले पर्यटनको राम्रो संभावना भएको लुम्बिनी प्रदेशको विकासमा सबै एक भएर अगाडी बढ्नुपर्ने बताए ।
उद्योग संघले समृद्ध नेपाल निर्माणको आधार, स्वदेशी उद्यमशीलताको विस्तार भन्ने मूल नाराका साथ बुटवलमा १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी कृषि, प्रविधि तथा पर्यटन महोत्सव–२०८२ मा यो विषय केन्द्रीत गरेर छलफल गराएको हो । छलफलमा नियामक निकायका तर्फबाट पर्यटन विकास परिषद, लामो समयदेखि यो क्षेत्रको प्रवद्र्धनमा लेखेका अध्येता, लेखक तथा पत्रकार, पर्यटन व्यवसायी, पर्यटन विधामा अध्यापन गर्ने कलेजका अध्यापक तथा विद्यार्थी तथा विभिन्न सघसंस्थाका प्रतिनिधिको सहभागिता रहेको थियो ।
संघका पूर्वअध्यक्ष तेजकुमार पाठकले संघले औद्योगिक प्रदर्शनीसँगै पर्यटन, कृषि र प्रविधिलाई प्राथमिकताका साथ अघि बढाउने क्रममा यस किसिमका कार्यक्रमलाई अगाडी सारेको बताए । संघका अध्यक्ष कृष्णप्रसाद पराजुलीले पर्यटन क्षेत्रको विकासका लागि सामुहिक भावनाका साथ अगाडी बढ्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा लुम्बिनी पर्यटन विकास परिषद लुम्बिनी अध्यक्ष रामु जोशीले धार्मिक र पर्यटन क्षेत्र छुट्टाएर योजना बनाएको बताउँदै प्रदेशबाट गन्तव्य पहिचान गरेको र ६३० वटा गन्तव्य लक्षित गरेर योजना अगाडी बढेको बताए । पर्यटन क्षेत्रका अध्येता डा. गितु गिरीले यो क्षेत्रमा ठूलो लगानी भएपनि कनेक्टिभिटी नभएकाले यसमा ध्यान दिन आग्रह गरे । होटल व्यवसायी महासंघका निवर्तमान अध्यक्ष हिराध्वज शाहले पर्यटन नीतिमै समस्या रहेकाले सहभागितामा मेरो हो भन्ने गराउन र नीतिमा सानाठूला होटल चलाउने विषय नै उपयुक्त नरहेकाले सच्चाउनुपर्ने सुझाव दिए ।
पर्यटन व्यवसायी सिपी शर्माले पर्यटक टिकाउन किन सकेनौं त ? भन्ने विषयमा सरकारले मात्रै होइन अब निजी क्षेत्रले पनि ध्यान दिनुपर्ने धारणा राखे । पर्यटन व्यवसायी तथा मणिमुकुन्द सेन उद्यानका अध्यक्ष माधव नेपालले बन ऐन र पर्यटन ऐन सुधारको खाचो औल्याए ।
आर्थिक क्षेत्रका जानाकार डा. बाबुराम ज्ञवालीले उद्योगको हिसाबले पर्यटन क्षेत्रमा काम नभएको उल्लेख गर्दै भने, पहिले नेपाली नेपालभित्र घुमौं अनि बाहिरी पर्यटक ल्याउने योजना बनाऔं’ ।
नेपाल उद्यान महासंघका अध्यक्ष खेम लुईटेलले पर्यटक लक्षित उद्यान नभएकाले समस्या भएको बताउँदै धेरै कंक्रिट संरचनाहरुले विदेशी पर्यटकलाई तान्न नसकेको बताए । नेपाल ज्योतिष परिषदका सुन्दर भण्डारीले धार्मिक पर्यटनमा ध्यान दिन आग्रह गर्दै धेरै मठमन्दिर अस्तव्यस्त भएकोले अब ती संरचनाहरु चलायमान बनाउन निजी क्षेत्रले पनि योजना बनाउनुपन बताए । कार्यक्रममा टिप्पणीकर्ता पर्यटन क्षेत्रका अध्येता युवराज कंडेलले पर्यटन बहसमा फरक फरक अनुहार आएकाले केही नयाँ विषयले प्रवेश गर्नुका साथै योजना बनेको बताए । आन्तरिक पर्यटक बढाउनुपर्ने, स्थानीय पाठ्यक्रममै पर्यटनका क्षेत्रलाई राख्नुपर्ने, खानाका स्वादमा मौलिकतापन तथा बौद्ध शिक्षा, सम्पदा क्षेत्रलाई ध्यान दिनुपर्ने बताए । लुम्बिनी बौद्ध विश्वविद्यालयका व्यवस्थापन विभाग प्रमुख डा श्रीप्रसाद भट्टराईले नीति बनाउने निकायलाई यस्ता कार्यक्रममा सहभागी बनाउनुपर्ने बताउँदै विश्वविद्यालयमा विद्यागत छलफल गराउने योजना बनाउनुपर्ने बताए । होटल व्यवसायी संघ रुपन्देहीका अध्यक्ष माधव खनालले पर्यटनमैत्री वातावरण र लगानीमैत्री वातावरण नभएकाले पर्यटन क्षेत्र अस्थिर भएको बताउँदै यसको लागि राजनीतिक स्थायित्व आवश्यक पर्ने बताए ।
कार्यक्रममा गोष्ठी तथा सेमीनार उपसमिति संयोजक डिल्लीनारायण पाण्डे, यातायात व्यवसायी नारायण घिमिरे, पाणिनि उद्यान जितगढीका अध्यक्ष ऋषि आजाद, पत्रकारहरु दिनेश पाण्डे, विक्रम खड्का, सुदिप भण्डारी, शरण कर्मचार्य, विद्यार्थी सुदिप पाण्डे, एक्सीस कलेजका अध्यापक आशिष गौतमलगायतले पर्यटन क्षेत्रका बारेमा चर्चा गरेका थिए ।