२०८२ पुष १५
बुटवल, १२ पुस ।
धुर्कोट गाउँपालिकाको समन्वयमा बुटवल अस्पताल प्रा। लि। तथा जैसिथोक सामुदायिक सिकाइ केन्द्रको आयोजनामा स्वास्थ्य शिविरमा ४ सय बढीको स्बास्थ्य परिक्षण गरिएको छ । शनिबार गुल्मीको धुर्कोट गाउँपालिका वडा नं। ४ जैसिथोकमा बृहत् निःशुल्क स्वास्थ्य शिबिर जैसिथोक स्वास्थ्य चौकीमा सञ्चालन गरिएको थियो ।
स्वास्थ्य शिबिरमा बाल बलिका देखि वृद्धासम्म गरी करिब ४ सयभन्दा बढी स्थानीयवासीले विभिन्न रोगको स्वास्थ्य परीक्षण तथा उपचार सेवा लिएका छन । कार्यक्रमको उद्घाटन गर्दै धुर्कोट गाउँपालिकाका अध्यक्ष भूपाल पोखरेलले गाउँमै विशेषज्ञ चिकित्सकसहितको स्वास्थ्य सेवा उपलब्ध गराउन सकिनु स्थानीय सरकारको महत्वपूर्ण उपलब्धि भएको बताए ।उनले आगामी दिनमा पनि स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राख्दै यस्ता निःशुल्क तथा विशेषज्ञ सेवा कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे ।
चिकित्सकको सल्लाहअनुसार आवश्यक औषधिसमेत निःशुल्क वितरण गरिएको जैसिथोक सामुदायिक सिकाइ केन्द्रका अध्यक्ष राजन पोखरेलले जानकारी दिए ।
शिविरमा सहभागी चिकित्सकहरूले रोगको प्रकृति अनुसार उपचार, परामर्श तथा दैनिक जीवनशैलीमा अपनाउनुपर्ने सावधानीबारे सुझाव दिएका थिए ।
गाउँपालिकाकी उपाध्यक्ष सिता गिरीले निःशुल्क स्वास्थ्य शिविरले ग्रामीण नागरिकको स्वास्थ्य सचेतना बढाउन सहयोग पुगेको उल्लेख गर्दै यस्ता कार्यक्रम नियमित रूपमा सञ्चालन गर्नुपर्ने आवश्यकता औँल्याइन । शिविरमा सहभागी बुटवल अस्पताल प्रा। लि। का मेडिकल सुपरिटेन्डेन्ट डा। कृष्ण प्रसाद खनालले आफू जन्मिएको गाउँमै स्वास्थ्य सेवा दिन पाउँदा खुसी र गर्व लागेको बताए । उनले समयमै उपचार नगरे रोग जटिल बन्ने जोखिम रहने भन्दै नियमित स्वास्थ्य परीक्षण र चिकित्सकको सल्लाह पालना गर्न आग्रह गरे ।
शिविरमा अर्थोपेडिक सर्जन डा। उत्सव रेग्मी, स्त्रीरोग विशेषज्ञ डा। बिन्दु खरेल, बालरोग विशेषज्ञ डा। प्रदीप शर्मा, फिजिसियन सागर पौडेल लगायतका चिकित्सकहरूले सेवा प्रदान गरेका थिए ।
स्थानीयवासीहरूले गाउँमै सर्जनसहितको स्वास्थ्य सेवा र निःशुल्क औषधि पाउँदा खुसी व्यक्त गर्दै यस्ता स्वास्थ्य शिविर ग्रामीण भेगका नागरिकका लागि ठूलो राहत बनेको प्रतिक्रिया दिएका छन् ।
शिविर सफल बनाउन सक्रिय भूमिका खेलेका समाजसेवी भरत जंग क्षेत्री र राजेन्द्र पोखरेललाई कार्यक्रमका अवसरमा सम्मान गरिएको थियो ।