२०८२ माघ २६

कपिलवस्तुमा छाडा चौपाया नियन्त्रण अभियानः ५६ गाई भागीरथी गौ संरक्षण केन्द्रमा स्थानान्तरण
  • लुम्बिनी खोज
  • २०८२ माघ २५, आईतवार १५:३१ गते

डिलाराम भुसाल
कपिलवस्तु २५ माघ ।
कपिलवस्तुमा बढ्दो छाडा चौपायाका कारण किसानको बाली नष्ट हुनुका साथै सडक दुर्घटनाको जोखिम बढ्न थालेपछि जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले नियन्त्रण अभियान सुरु गरेको छ । सोही अभियानअन्तर्गत कपिलवस्तु नगरपालिकाका विभिन्न स्थानबाट संकलन गरिएका ५६ वटा छाडा गाईलाई बाणगंगा नगरपालिका– ८ स्थित भागीरथी गौ संरक्षण विकास केन्द्र ९मोभुवन धाम०मा लगेर छाडिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरीक्षक सन्तोष आचार्यले छाडा चौपायाका कारण किसान र सर्वसाधारणले भोग्दै आएको समस्या समाधान गर्न प्रहरी स्वयं सक्रिय भएको बताए । ‘किसानले लगाएको बाली जोगाउन र सडक दुर्घटना न्यूनीकरण गर्न यो अभियान सुरु गरिएको हो,’ उनले भने, ‘स्थानीय तह र सम्बन्धित निकायसँग समन्वय गरेर अभियानलाई निरन्तरता दिइनेछ ।’
त्यस्तै, जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक रिपेन्द्रकुमार सिंहले छाडा चौपायाका कारण हुने क्षति र जोखिम कम गर्न प्रहरी गम्भीर रहेको स्पष्ट पारे । ‘छाडा चौपायाले बाली नष्ट गर्नुका साथै सडकमा दुर्घटनाको अवस्था सिर्जना गरिरहेको छ,’ उनले भने, ‘यसलाई व्यवस्थित गर्न गौ संरक्षण केन्द्रसँग सहकार्य गर्दै चरणबद्ध रूपमा चौपाया स्थानान्तरण गरिएको हो ।
प्रहरीको यो पहलले किसानलाई राहत पुग्ने र सडक सुरक्षामा समेत सकारात्मक प्रभाव पर्ने स्थानीयवासीको विश्वास छ । आगामी दिनमा पनि यस्ता अभियानलाई थप प्रभावकारी बनाइने जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।