२०८२ फाल्गुन ४

कानुन संशोधन गरेर भएपनि सुकुम्बासी समस्या समाधान गर्छुः पौडेल
  • लुम्बिनी खोज
  • २०८२ फाल्गुन ३, आईतवार १५:२१ गते

बुटवल ३ फागुन ।
नेपाली काँग्रेस रुपन्देही क्षेत्र नं. २ का उम्मेद्वार चुन्नप्रसाद पौडेलले लामो समयदेखि अन्यौलमा रहेको सुकुम्बासी समस्या समाधान गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । उनले काँग्रेस नेतृत्वमा सरकार बनाउन सकियो भने लामो समयदेखिको भुमिहीन, सुकुम्बासी, अब्यवस्थित बसोबासी समस्या नीति बदलेर भएपनि समाधान गर्ने प्रतिवद्वता व्यक्त गरे ।
निर्वाचन परिचालनका लागि गठित भुमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबास क्षेत्र समन्वय समितिले गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै उम्मेद्वार पौडेलले विगतका जनप्रतिनीधिहरुले दिएको आश्वासन पुरा नहुँदा त्यही मुद्दा बोकेर जादा त्यहाँका मतदाताले पत्याउने अवस्था नरहेको भनाई राखे । उनले भने–‘सुकुम्बासी समस्यालाई सधै भोट बैंकको रुपमा प्रयोग गर्ने नभई समस्या समाधानका लागि सार्थक पहल गर्न आवश्यक छ ।’
त्यस अवसरमा समितिका संयोजक, काँग्रेस नेता, भूमि समस्या समाधान आयोगका पूर्व जिल्ला अध्यक्ष हरिबहादुर आचार्य क्षेत्रीले आफू आयोगको जिल्ला अध्यक्ष हुँदा भएका प्रगति सहितको कामको फेहरिस्त उम्मेद्वार पौडेललाई हस्तान्तरण गरे । उनले आफ्नो कार्यकालमा समस्या समाधानका लागि धेरै काम गरेको र कतिपयलाई पुर्जा समेत वितरण गरिएको, केही वितरणको तयारीमा रहेको अवस्थामा आयोग विघटन गरेका कारण जग्गाको नापजाँच तथा पुर्जा वितरणको कामलाई पुरा गर्न नसकिएको जानकारी गराए ।
त्यस अवसरमा समितिका सदस्यहरुले वडागत रुपमा भएका समस्या र समाधानका उपायका बारेमा जानकारी गराएका थिए । कार्यक्रममाा नेपाली काँग्रेसका केन्द्रीय सदस्य रामबहादुर कार्कीले भूमिहिन सुकुम्बासी समस्यालाई भोट बैंकको रुपमा प्रयोग गरेका कारण उनीहरुका समस्या समाधान हुन नसकेको बताउँदै काँग्रेस नेतृत्वको सरकार बन्दा त्यो समस्या समाधान हुने जिकिर गरे ।