२०८३ बैशाख ४

आचारसंहिता विपरीत डिजेको प्रयोग नगर्न कपिलबस्तु प्रशासनको अपिल
  • लुम्बिनी खोज
  • २०८२ फाल्गुन ९, शनिबार १०:४३ गते

डिलाराम भुसाल
कपिलवस्तु, ९ फागुन ।
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन नजिकिँदै जाँदा उम्मेदवारहरूले प्रचारप्रसारमा डिजेको प्रयोग बढाएपछि कपिलवस्तु प्रशासनले निर्वाचन आचारसंहिता विपरीत हुने गतिविधि नगर्न अपील गरेको छ।
प्रतिनिधि सभा निर्वाचनको तयारी तीव्र बन्दै जाँदा केही उम्मेदवारहरूले सवारी साधनमा डिजे जडान गरी प्रचारप्रसार गरिरहेको व्यापक जनगुनासो आएपछि जिल्ला प्रशासन कार्यालय कपिलबस्तुले ध्यानाकर्षण गराएको छ । प्रशासनका अनुसार डिजेको प्रयोग निर्वाचन आचारसंहिताविपरीत पर्ने भएकाले तत्काल रोक्नुपर्ने आवश्यकता देखिएको बताएको छ।
सहायक प्रमुख जिल्ला अधिकारी तथा निर्वाचन आचारसंहिता अनुगमन अधिकृत भविश्वर घिमिरेले सूचना जारी गर्दै प्रतिनिधि सभा निर्वाचन स्वच्छ, निष्पक्ष, मर्यादित र भयरहित वातावरणमा सम्पन्न गराउनु सबै पक्षको साझा दायित्व भएको उल्लेख गरेका छन्। उनले आचारसंहिताले निषेध गरेका सामग्री तथा विधि प्रयोग नगर्न राजनीतिक दल, उम्मेदवार र समर्थकहरूलाई आग्रह गरेका छन्।
प्रशासनले विशेष गरी सवारी साधनमा उच्च ध्वनि क्षमताको डिजे प्रयोग गरी मतदातालाई प्रभावित पार्ने गतिविधि बढेको भन्दै यस्ता कार्य तत्काल बन्द गर्न आगह गरेको बताएको छ। आचारसंहिता उल्लंघन गरे कानुनी कारबाहीसमेत हुन सक्ने प्रशासनको भनाइ छ।
निर्वाचनलाई शान्त, व्यवस्थित र मर्यादित बनाउन सबै सरोकारवाला पक्ष जिम्मेवार बन्नुपर्ने प्रशासनले स्पष्ट पारेको छ।