२०८३ बैशाख ४

बुटवल उवासंघको स्थापना दिवसमा छात्रबृत्ति अक्षकोष स्थापना र पूर्व अध्यक्षलाई सम्मान गरिने
  • लुम्बिनी खोज
  • २०८२ फाल्गुन ९, शनिबार ११:२० गते

बुटवल, ९ फागुन ।
फागुन १० गते बुटवल उद्योग वाणिज्य संघ, रुपन्देहीको ७३ औं स्थापना दिवस मनाईँदै छ । निजी क्षेत्रमा यस क्षेत्रकै सबैभन्दा पुरानो संस्था मध्ये एक बुटवल उद्योग वाणिज्य संघ २०१० साल फागुन १० गते स्थापना भएको थियो । त्यसयता संघले उद्योगी व्यवसायीहरुको हकहित तथा व्यवसायिक प्रवद्र्धनसहित आर्थिक, सामाजिक तथा औद्योगिक विकासमा नेतृत्वदायी भूमिका खेल्दै आएको छ ।
यस क्षेत्रको शिक्षा, स्वास्थ्य, सामाजिक तथा आर्थिक विकासमा लगानीसहितको योगदान गर्दै आएको बुटवल उद्योग वाणिज्य संघले स्थापना दिवसको अवसरमा आईतबार संघमा औपचारिक कार्यक्रम आयोजना गरिएको संघका महासचिव मुक्तिप्रसाद अधिकारीले जानकारी गराए । उनका अनुसार कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अञ्जनकुमार श्रेष्ठ सहित नीजि तथा सरकारी सेवाका प्रतिनीधिहरुको सहभागिता रहने छ ।
संघले स्थापना दिवसको अवसरमा प्रत्येक वर्ष १ जना पूर्वअध्यक्षलाई सम्मान गर्दै आएको छ । उक्त कार्यक्रममा पूर्वअध्यक्षहरुको तर्फबाट निर्मलप्रसाद लाकौललाई सम्मान गर्न लागिएको हो । लाकौल २०६१ देखि २०६३ सम्म संघको अध्यक्ष भएर काम गरेका थिए । पूर्वअध्यक्ष लाकौलले संघको श्रीबृद्धि तथा यस क्षेत्रको औद्योगिक, व्यवसायिक सहित आर्थिक तथा सामाजिक विकासमा पु¥याएको योगदानको उच्च मुल्यांकन सहित सम्मान गर्न लागिएको संघका अध्यक्ष हरिप्रसाद अर्यालले जानकारी गराए ।
सोही कार्यक्रममा संघले बुटवलका तीन वटा सामुदायिक विद्यालयमा छात्रबृत्ति अक्षयकोष स्थापना गर्नेछ । अध्यक्ष अर्यालका अनुसार बुटवल उपमहानगरपालिका वडा नं. ४ मा रहेको कान्ति माध्यमिक विद्यालयमा स्थापित ‘बुटवल उद्योग वाणिज्य संघ रुपन्देही, कान्ति माध्यमिक विद्यालय अक्षयकोष’लाई बृद्धि गरिने छ भने बुटवल ६ मा रहेको तिलोत्तमा माध्यमिक विद्यालय र वडा नं. ४ मा रहेको लक्ष्मी माध्यमिक विद्यालयमा छात्रबृत्ति अक्षयकोष स्थापना गरिने छ । त्यसैगरी संघको औषधि व्यवसायी बस्तुगत समितिको समन्वयमा मानव सेवा आश्रमलाई औषधी प्रदान गरिने छ ।