२०८२ फाल्गुन २९

राममणि क्याम्पसको ३८ औं वार्षिकोत्सवको तयारी पूरा
  • लुम्बिनी खोज
  • २०८२ फाल्गुन २८, बिहीबार १३:१३ गते

रुपन्देही, २८ फागुन ।
रूपन्देहीको मणिग्रामस्थित राममणि बहुमुखी क्याम्पसको ३८ औं वार्षिकोत्सवको तयारी पूरा भएको छ । भोलि (२०८२ फागुन २९ गते) मनाइने क्याम्पसको वार्षिकोत्सव तथा अभिभावक दिवसको तयारी पूरा भएको क्याम्पसले जानकारी दिएको हो ।
यसअघि खेलउत्सव देखि वार्षिक मुखपत्र प्रकाशन सम्मका कार्यसम्पादन गरिसकेको क्याम्पसले वार्षिकोत्सवका लागि विभिन्न १२ वटा उपसमिति बनाई आवश्यक गृहकार्य पूरा गरेको सहायक क्याम्पस प्रमुख खुमकान्त पाण्डेले जानकारी दिए ।
वार्षिकोत्सवका अवसरमा वर्षभरिका शैक्षिक तथा अतिरिक्त क्रियाकलापमा उत्कृष्ट विद्यार्थीलाई पुरस्कृत गरिने क्याम्पस प्रमुख तारा प्रसाद पराजुलीले जानकारी दिए ।
त्यसैगरी, सम्मान कार्यक्रम, मुखपत्र ‘दीपिका’को २१ औं अङ्क विमोचन, क्याम्पस प्रमुखको प्रतिवेदन प्रस्तुति, एवम् विद्यार्थीका प्रतिभा प्रस्फुटनका कार्यक्रम गरिने जानकारी दिँदै क्याम्पस सञ्चालक समितिका अध्यक्ष ध्रुवकुमार धितालले सबै सरोकारपक्षलाई सरिक भैदिनुहुन अनुरोध समेत गरेका छन् । कार्यक्रम दिनको ११ बजेदेखि सञ्चालन हुने क्याम्पसले जानकारी दिएको छ ।