२०८२ फाल्गुन ३०

चुनावी खर्चपछि बाँकी रकमबाट सेवा केन्द्र सञ्चालन गर्ने महावीर पुनको योजना
  • लुम्बिनी खोज
  • २०८२ फाल्गुन २९, शुक्रबार १६:१० गते

बुटवल २९ फागुन ।
म्याग्दीबाट स्वतन्त्र उम्मेदवारका रूपमा प्रतिनिधिसभा सदस्यमा निर्वाचित महावीर पुनले चुनावी खर्चको विवरण सार्वजनिक गर्दै बाँकी रकम जनसेवामा प्रयोग गर्ने योजना बताएका छन्।
उनका अनुसार २७ जनाबाट जम्मा ५६ लाख ३७ हजार ८९३ रुपैयाँ संकलन भएको थियो। प्रचारप्रसारमा २८ लाख ६८ हजार ८६८ रुपैयाँ खर्च भएपछि २७ लाख ६९ हजार २५ रुपैयाँ बचत भएको छ।
बाँकी रकमबाट म्याग्दीको बेनीमा पाँच वर्षका लागि सेवा केन्द्र सञ्चालन गरिने उनले बताएका छन्। उक्त केन्द्रले सरकारी कामका लागि सदरमुकाम आउने नागरिकलाई निःशुल्क प्रशासनिक सहयोग र सहजीकरण उपलब्ध गराउनेछ। कार्यालयमा दुई कर्मचारी राखिने र कम्प्युटर, प्रिन्टर तथा फोटोकपीजस्ता उपकरणको व्यवस्था गरिनेछ।
पुनले यो योजना चुनावी अभियानका क्रममा मतदातासँग गरिएको प्रतिबद्धताअनुसार अघि बढाइएको बताएका छन्।