२०८२ चैत्र ५

रास्वपाको अभिमुखीकरण कार्यक्रमः विपक्षीहरुलाई कटाक्ष नगर्न सांसदहरुलाई लामिछानेको आग्रह
  • लुम्बिनी खोज
  • २०८२ चैत्र ४, बुधबार १६:३१ गते

काठमाण्डौ ४ चैत ।
राष्ट्रिय स्वतन्त्र पार्टीको दुईदिनको अभिमुखीकरण तथा परिचयात्मक कार्यक्रम सम्पन्न भएको छ । नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूका लागि आयोजना गरिएको यो कार्यक्रम “परिवर्तनको नेतृत्व, परिणामको राजनीति” भन्ने मूल नारासहित चैत्र ३ र ४ गते ललितपुरमा सम्पन्न भएको हो ।
समापन सत्रमा पार्टी सभापति रवि लामिछानेले पार्टीको रणनीति, दृष्टिकोण तथा नीतिगत प्राथमिकताबारे स्पष्ट पार्दै सांसदहरूलाई अनुशासित, उत्तरदायी र परिणाममुखी राजनीति अभ्यास गर्न आग्रह गरे उनले जनताको विश्वासलाई कार्यसम्पादनमार्फत् प्रमाणित गर्नुपर्ने उल्लेख गर्दै संसदभित्र र बाहिर दुवै क्षेत्रमा प्रभावकारी भूमिका निर्वाह गर्न निर्देशन दिए। रास्वपाले आफ्नो देशको इतिहास आफ्नै हातले लेख्ने प्राप्त गरेको उल्लेख गर्दै सभापति लामिछानेले यो जित जनताको भएकाले अझै धेरै जिम्मेवार बन्नुपर्नेतर्फ सचेत गराए । साथै महान् शहिदहरुको त्याग लाई मनन गर्दै सबैभन्दा महत्वपूर्ण मुद्दा सामाजिक न्याय भएको उनले बताए । मधेश र कर्णालीको विकासलाई पहिलो प्रथमिकतामा राख्दै सिगों देशलाई विकास गर्ने योजनाहरु तर्जुमा गर्नमा उनले जोड पनि दिए । विपक्षीहरुलाई कटाक्ष नगर्न आग्रहसमेत लामिछानेले गरे ।
विश्वविद्यालयहरूले काचुली फेर्नु पर्ने, उद्योग कलकारखाना चल्नुपर्ने, कामधन्दा निरन्तर चल्नुपर्ने, रोजगारी श्रृजना गर्नुपर्ने लगायतका सवालहरुमा पनि जोड दिइएको छ । विधानमा भएको राइट टु रिकल लागू गर्छौं भन्दै उनले मन्त्री आदिका लागि कुनैखालको भनसुन तथा समय व्यतित गर्ने कार्य आदि समेत नगर्न आग्रह गरे । विज्ञता, क्षमताका आधारमा सरकारको गठन हुने प्रष्ट्याउँदै उनले कसैले नेतृत्वका अगाडि नपर्दा मन्त्री नभइने भन्ने पुरानो दृष्टिकोण त्यागी जनताका सवालमा लाग्न ध्यानाकर्षण गरे ।
अभिमुखीकरणले नवनिर्वाचित सांसदहरूलाई आफ्नो जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह गर्न आवश्यक ज्ञान, सीप, दृष्टिकोण र संस्कार विकासमा टेवा पुर्याउने विश्वास गरिएको सो पार्टीले जनाएको छ।
कार्यक्रमको सुरुवातमा पार्टीका सभापतिद्धय डीपी अर्याल र डा.स्वर्णिम वाग्लेले घण्टी बजाएर संयूक्त रुपमा उदघाटन गदै जनताबाट प्राप्त विश्वासलाई परिणाममुखी उपलब्धिमा रूपान्तरण गर्न सांसदहरूको भूमिका अत्यन्त महत्वपूर्ण रहेको बताए ।
सहमहामन्त्री विपिनकुमार आर्चायले संचालन गरेको सो कार्यक्रममा नवनिर्वाचित सांसदहरूलाई प्रभावकारी, उत्तरदायी र परिणाममुखी संसदीय भूमिकातर्फ उन्मुख गराउने उद्देश्य लिएको थियो । दुई दिनसम्म सञ्चालन भएको कार्यक्रममा सांसदहरूलाई नेपालको संवैधानिक व्यवस्था, संघीय संसदको संरचना तथा कार्यप्रणाली, विधायन प्रक्रिया, संसदीय समितिहरूको भूमिका, बजेट तथा योजना निर्माण, नीति विश्लेषण, सुशासन र पारदर्शिताका मापदण्ड जस्ता विषयहरूमा विस्तृत जानकारी प्रदान गरिएको थियो। पूर्व सचिवहरू, विषय विज्ञहरूले सहजीकरण गरेका सत्रहरूले सांसदहरूलाई व्यवहारिक ज्ञान र दृष्टिकोण विकासमा सहयोग पुगेको छ ।
कृत्रिम बुद्धिमत्ता र एल्गोरिदमले लोकतन्त्र, शक्ति सन्तुलन र सुशासनमा पार्ने प्रभावबारे पनि विशेष प्रस्तुति राखिएको थियो । कार्यक्रममा पुनः निर्वाचित सांसदहरूले आफ्नो संसदीय अनुभव प्रस्तुत गर्दै चुनौती, सिकाइ र कार्यशैलीबारे जानकारी दिएका थिए । साथै समूहगत छलफल तथा ब्रेनस्टोर्मिङमार्फत् सांसदहरूलाई विभिन्न रणनीतिक सवालहरूमा छलफल चलाइएको थियो । आगामी संसदीय कार्यदिशा तय गर्न महत्वपूर्ण आधार तयार भएको कार्यक्रममा योग तथा ध्यानसहितको माइण्डफुलनेस अभ्यास समेत गरिएको थियो ।