२०८२ चैत्र ७

लुम्बिनी प्रादेशिक अस्पतालमा एमआरआई सेवा सुरु
  • लुम्बिनी खोज
  • २०८२ चैत्र ६, शुक्रबार १४:२८ गते

बुटवल ६ चैत ।
लुम्बिनी प्रादेशिक अस्पताल बुटवल मा एमआरआई सेवाको शुभारम्भ गरिएको छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य ले अस्पतालको ११६ औं वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा उक्त सेवाको शुभारम्भ गर्दै लुम्बिनी प्रादेशिक अस्पताललाई थप उचाइमा पु¥याउन प्रतिष्ठानको रूपमा विकास गर्ने गरी पहल भइरहेको बताए । विशिष्ट र विशिष्टीकृत स्वास्थ्य सेवामा नागरिकको पहुँच थप सुनिश्चित गर्न प्रतिष्ठानको अवधारणा अघि सारिएको उनले बताए ।
शुक्रबार बुटवलमा आयोजित वार्षिकोत्सव उद्घाटन कार्यक्रममा उनले सबै प्रकारका रोगको उपचार सम्भव हुने गरी अस्पतालको सेवा विस्तारलाई प्राथमिकतामा राखिएको बताए । ‘प्रादेशिक अस्पताललाई प्रतिष्ठानको रूपमा विकास गरेर लैजाने योजना छ । त्यसमा हामीले ध्यान दिएका छौं,’उनले भने,‘यसलाई नमुना अस्पतालका रूपमा विकास गर्न प्रदेश सरकारले काम अघि बढाएको छ । सबैको साझा प्रयासबाट आमूल परिवर्तन सम्भव भएको छ । समन्वय र सहकार्यकै कारण अस्पताल यहाँसम्म आइपुगेको हो ।’
प्रदेश सरकारले सेवा विस्तारलाई प्राथमिकता दिएको उल्लेख गर्दै उनले सेवाग्राहीले सस्तो र सुलभ रूपमा गुणस्तरीय स्वास्थ्य सेवा पाउने वातावरण बनेको बताए । ‘एमआरआई मेसिन जडान भएपछी सेवाग्राहीले अब सस्तो र सुलभ ढंगले सेवा लिन पाउने अवसर प्राप्त भएको छ । गोरखपुर वा काठमाडौं जानू पर्ने बाध्यताको अन्त्य भएको छ’उनले भने,‘एक हजार दुई सय शैयाको अस्पताल निर्माणको काम अघि बढेको छ । २१ महिनाको अवधिमा ४० प्रतिशत भौतिक प्रगति भएको छ । तीन वर्षभित्र सबै सेवा नयाँ भवनबाट सञ्चालन गर्ने योजना छ ।’
स्वास्थ्यकर्मीहरूको मनोबल उच्च राख्न प्रदेश सरकारले आवश्यक कानुनी व्यवस्था समेत गरिसकेको उल्लेख गर्दै उनले जिम्मेवारीपूर्वक सेवा प्रवाह गरिरहेकोमा धन्यवाद व्यक्त गरे। साथै, अझ सक्रिय र समर्पित भएर जनसेवामा लाग्न आग्रह गरे ।
कार्यक्रममा स्वास्थ्य मन्त्री खेमबहादुर सारुले लुम्बिनी प्रादेशिक अस्पताल प्रदेशकै गौरव भएको उल्लेख गर्दै सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउनेगरी काम भइरहेको बताए ।
कार्यक्रममा बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रा अर्याल, स्वास्थ्य सचिव दुर्गालक्ष्मी श्रेष्ठ लगायतले शुभकामना मन्तव्य व्यक्त गरे। अस्पतालका सुपरिटेन्डेन्ट डा. इन्द्र ढकालले अस्पतालको प्रगति र भावी योजनाबारे जानकारी दिएको कार्यक्रममा अवकाशप्राप्त कर्मचारीहरूलाई कदरपत्र प्रदान गरी सम्मान गरिएको थियो । कार्यक्रममा पूर्व मेडिकल सुपरिटेन्डेट डाक्टर राजेन्द्र खनाल, पूर्व लेखा अधिकृत मित्रलाल त्रिपाठी, पूर्व नर्सिङ प्रमुख प्रभा ज्ञवालीलाई विशेष सम्मान गरिएको थियो ।
साथै २५ वर्ष सेवा अवधि पूरा गरेका कर्मचारीहरूलाई दीर्घ सेवा पदक प्रदान गरिएको थियो । यसैगरी लुम्बिनी प्रदेशका स्वास्थ्य सचिव तथा पूर्व नर्सिङ प्रशासक दुर्गालक्ष्मी श्रेष्ठलाई विशेष सम्मान गरिएको थियो । अस्पताल विकास समितिका अध्यक्ष अजयमान श्रेष्ठ को अध्यक्षतामा सम्पन्न कार्यक्रमको सहजीकरण अस्पतालका प्रशासन प्रमुख प्रेम गौतमले गरेका थिए ।