२०८२ चैत्र १५
बुटवल १४ चैत ।
बुटवलमा सञ्चालन गरिएको विद्यालय स्तरिय महिला भलिवलको उपाधि सिद्धेश्वर माध्यमिक विद्यालयले प्राप्त गरेको छ । नेपाली काँग्रेसका संस्थापक नेता पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको १६औं स्मृति दिवसको अवसरमा जिपि स्मृति प्रतिष्ठान रुपन्देहीले आयोजना गरेको महिला भलिवल रनिङ् शिल्ड प्रतियोगितामा उजुरसिंहलाई ३–१ को सेट (१६–२५, २५–२३, २५–१६ र २५–१७)मा हराउदै सिद्धेश्वरले उपाधि जितेको हो ।
शनिबार भएको फाइनल प्रतिस्पर्धामा पराजित भएको उजुरसिंह दोस्रोमा समेटिएको छ ।
प्रथम भएको सिद्धेश्वरले नवीन र दोस्रोमा समेटिएको उजुरसिंहले पर्रोहा माविलाई हराएर फाईनलमा प्रवेश गरेका हुन् । प्रतियोगितामा प्रथम भएको सिद्धेश्वरलाई २५ हजार रुपैंया तथा दोस्रो भएको उजुरसिंहलाई २० हजार नगद पुरस्कार सहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ ।
रुपन्देही भित्रका ११ वटा सामुदायिक विद्यालयले प्रतिस्पर्धा गरेको प्रतियोगितामा नवीन औद्योगिक माध्यमिक विद्यालय तेस्रो भएको छ । नविनले पर्रोहा माध्यमिक विद्यालयलाई ३ शुन्यको सेटमा हराएको हो । नविनसंग हारेको पर्रोहा सान्त्वना भएको छ ।
तेस्रो र सान्त्वना भएका नवीन र पर्रोहालाई क्रमशः १५ हजार र १० हजार रुपैंया नगद पुरस्कार सहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ ।
प्रतियोगितामा सिद्धेश्वरकी निरुता नाथ उत्कृष्ट र पर्रोहा माविकी दर्शना रोका अनुशासित खेलाडि घोषित भए । उनीहरुलाई जनही १ हजार ५ सय रुपैंया नगद पुरस्कार सहित ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ । उनीहरुलाई प्रतिष्ठानका अध्यक्ष रामबहादुर कार्की, बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेय तथा प्रतष्ठानका सल्लाहकार राधेश्याम राजभण्डारीले नगद पुरस्कारसहित शिल्ड, मेडल र प्रमाणपत्र वितरण गरे ।
प्रतियोगितामा प्रथम भएको सिद्धेश्वर, दोस्रो भएको उजिरसिंह, तेस्रो भएको नवीन र सान्त्वना भएका पर्रोहासहित ज्ञानोदय माध्यमिक विद्यालय, शान्ति नमुना माध्यमिक विद्यालय, नहरपुर माध्यमिक विद्यालय, नवरत्न माध्यमिक विद्यालय, पशुपति माध्यमिक विद्यालय, मोतिपुर माध्यमिक विद्यालय र नयाँगाउ माध्यमिक विद्यालयले प्रतिस्पर्धा गरेको कार्यक्रम संयोजक प्रतिष्ठानका कार्यसमिति सदस्य बाबुराम बिकले जानकारी गराए । कार्यक्रम परतिष्ठानकी सचिव गंगा पन्थीको सञ्चालनमा भएको थियो ।

