२०८३ बैशाख ६
बुटवल ५ चैत ।
रुपन्देहीको बुटवल उपमहानगरपालिका–११ प्रगतिनगरस्थित प्रगतिनगर सामुदायिक विद्युत सहकारी संस्था लिमिटेडले स्थानीय सरकार, नेपाल विद्युत प्राधिकरण र उपभोक्तासँग समन्वय गर्दै अगाडी बढीरहेको जनाएको छ ।
विद्युत सेवा विस्तारसँगै सामाजिक उत्तरदायित्वका विविध कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ ।
वि.सं. २०६० कात्तिक १५ गते प्रगतिनगर विकास समूहका रूपमा स्थापना भएको संस्था २०७३ माघ २३ गते सहकारीमा रूपान्तरण भएको हो । तिनाउ नदिसंग जोडिएको बुटवल उपमहानगरपालिका वडा नं. ११ स्थित प्रगतिनगरमा २०५३ सालतिर अव्यवस्थित रुपमा बस्ती बसेको थियो । संस्थाका अध्यक्ष जीतबहादुर मल्लका अनुसार बुटवलको कर्णालीको रुपमा चिनिएको प्रगतिनगरमा विद्युतीकरणका लागि यो संस्था खोलिएको हो ।
२०६० सालमा सरकारले ग्रामिण सामुदायिक विद्युत योजना ल्यायो । सोही सरकारी नितिलाई आधार बनाएर सुरु गरिएको प्रगतिनगर ग्रामिण सामुदायिक विद्युतिकरण कार्यक्रम २०६५ मा सफल सञ्चालनमा आएको हो । तिलोत्तमा (तिनाउ) नदी किनारमा अवस्थित यस संस्थाले हाल क्षेत्रीय उपभोक्तालाई नियमित र व्यवस्थित विद्युत सेवा प्रदान गर्दै आएको छ ।
संस्थाले सञ्चालन गरेका गतिबिधि जानकारी गराउन आयोजना गरिएको पत्रकार सम्मेलनमा संस्थाका अध्यक्ष मल्लले हाल १४ वटा १ सय केभिए क्षमताका ट्रान्सफर्मर सञ्चालनमा छन् । करिब ३ किलोमिटर उच्च भोल्टेज (एचटी) र १९ किलोमिटर निम्न भोल्टेज (एलटी) लाइन विस्तार गरिएको जानकारी दिए । उनका अनुसार, जसमा अधिकांश लाइन थ्रिफेज छन् । सहकारीमा १ हजार ५८३ सिङ्गल फेज र ८ वटा थ्रिफेज खानेपानी ग्राहक रहेका छन् भने करिब ५० भन्दा बढी कुटिर उद्योग विद्युत सेवामा निर्भर छन् ।
संस्थाले नेपाल विद्युत प्राधिकरणबाट वार्षिक करिब ३० लाख युनिट विद्युत खरिद गरी उपभोक्तालाई वितरण गर्दै आएको छ । खरिद र बिक्रीबीच करिब ७ प्रतिशत चुहावट रहेको उनले जानकारी दिए ।
१३ सदस्यीय कार्यसमिति र ६ कर्मचारीमार्फत सञ्चालन भइरहेको सहकारीले प्रविधि प्रयोगमा पनि जोड दिएको छ । ‘दियालो टेक्नोलोजिज’को सफ्टवेयरमार्फत आय–व्यय व्यवस्थापन गरिँदै आएको छ भने उपभोक्तालाई इसेवा र खल्तीमार्फत विद्युत महसुल भुक्तानी सुविधा उपलब्ध गराइएको छ ।
सहकारीले उपभोक्ता हितमा विभिन्न सहुलियत कार्यक्रम सञ्चालन गर्दै आएको छ । दशैं(तिहारमा एक महिनाको डिमाण्ड शुल्क छुट, समयमै बिल तिर्ने उपभोक्तालाई २ प्रतिशत छुट, निःशुल्क मिटर फाराम तथा सडक बत्ती व्यवस्थापनजस्ता कार्यक्रम सञ्चालनमा छन् ।
यसका साथै स्वास्थ्य शिविर, रक्तदान, विद्यालय सहयोग, नदी तटबन्धमा आर्थिक सहयोग, अपांग आश्रमलाई खाद्यान्न वितरणलगायत सामाजिक कार्यमा पनि संस्था सक्रिय छ । शेयर सदस्यको मृत्युमा ११ हजार रुपैयाँ शोक अनुदान दिने, जेष्ठ नागरिक तथा एकल महिलालाई सम्मान गर्ने कार्यक्रम पनि सञ्चालन हुँदै आएका छन् ।
संस्थाले अपी पावर कम्पनी र अरुण काबेली जलविद्युत आयोजनामा करिब १२ लाख ५६ हजार रुपैयाँ लगानी गरेको छ । साथै, कर्मचारीको जीवन बीमा, सामाजिक सुरक्षा कोषमा आबद्धता तथा सेवा वडापत्रमार्फत छिटोछरितो सेवा प्रवाहलाई प्राथमिकता दिइएको अध्यक्ष मल्लले बताए ।

