२०८३ बैशाख ८

जितगढी किल्लालाई राष्ट्रिय सम्पदामा सूचिकृत गर्न पहल लिएका छौंः मुख्यमन्त्री आचार्य
  • लुम्बिनी खोज
  • २०८३ बैशाख ७, सोमबार १४:३८ गते

बुटवल ७ बैशाख ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य ले ऐतिहासिक जीतगढी किल्ला लाई राष्ट्रिय सम्पदाको सूचीमा सूचिकृत गर्न संघीय सरकारसँग पहल गरिररहेको बताएका छन् ।
बुटवलमा आयोजित जीतगढी विजय उत्सव समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले किल्लालाई राष्ट्रिय महत्वको धरोहरका रूपमा अघि बढाउन र यसलाई राष्ट्रिय सम्पदामा सूचिकृत गर्न निरन्तर पहल भइरहेको बताए ।‘यसलाई राष्ट्रिय सम्पदाका रूपमा सूचिकृत गर्ने र जीतगढी उत्सवलाई राष्ट्रिय उत्सवका रूपमा मनाउने विषयलाई प्राथमिकतामा राखेर संघीय सरकारसँग पहल भइरहेको छ’उनले भने,‘आगामी दिनमा पनि प्रदेश सरकारका तर्फबाट निरन्तर प्रयास रहनेछ ।’

कार्यक्रम बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले जितगढी किल्लाको संरक्षण र विकासमा उपमहानगरपालिकाले खेल्दै आएको भुमिकाका बारेमा चर्चा गरेका थिए । जितगढी विजय उत्सवलाई राष्ट्रिय पर्वका रुपमा मनाउनुपर्नेमा जोड दिए । जितगढीमा रहेको सुरुङ मार्ग पुरा गर्ने गरी काम अगाडी बढाउन देखि युद्ध संग्रालयका लागि आवश्यक सामाग्रीको खरिद गर्न सकिएमा यहाको पर्यटन विकासमा निकै राम्रो प्रभाव पार्ने उनले बताए ।
कार्यक्रममा रुपन्देहीका प्रमुख जिल्ला अधिकारी माधव पोखरेल, उपप्रमुख सावित्रादेवी अर्याल, बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरि अर्याल, जितगढीको इतिहासका जानकार देवेन्द्रराज शाक्य लगायतले जीतगढी किल्लाको बारेमा चर्चा गरेका थिए
बुटवल उपमहानगरपालिकाको आयोजनामा हरेक वर्ष मनाइँदै आएको जीतगढी विजय उत्सव यस वर्ष पनि विशेष कार्यक्रमका साथ सुरु भएको हो । उत्सवमार्फत किल्लाको संरक्षण, प्रवद्र्धन र वीरताको इतिहासलाई जनस्तरसम्म पु¥याउने लक्ष्य राखिएको आयोजकले जनाएको छ ।
वि।सं। १८७२ वैशाख ७ गते आधुनिक हतियारसहित आएको अंग्रेज फौजलाई नेपाली सेनाले पराजित गरेको ऐतिहासिक दिनको सम्झनामा यो उत्सव मनाइँदै आएको हो । उजिरसिंह थापा को नेतृत्वमा नेपाली सेनाले सुलेभान उड नेतृत्वको अंग्रेज फौजलाई पराजित गरेको थियो । इतिहासविद्हरूका अनुसार उक्त युद्धमा तीन सयभन्दा बढी अंग्रेज सैनिक मारिएका थिए । उक्त युद्धमा लेफ्टिनेन्ट अम्बर अधिकारी, कुम्मेदान वृषसुर थापा, जमादार भीमसेन देउजा, जमादार सुरवीर बोहरा, हवलदार रणसुर बानियाँ, सिपाही हंसवीर अधिकारी, नकुल बानियाँ र जुठे बस्नेतले वीरगति प्राप्त गरेका थिए ।
इतिहासअनुसार कर्णेल उजिरसिंह थापाले विजय प्राप्त भएमा भगवती मन्दिर निर्माण गर्ने भाकल गरेका थिए । विजयपछि पाल्पामा मन्दिर निर्माण गरिएको र हालसम्म भगवती जात्रा निकाल्ने परम्परा कायम रहेको छ । चुरे पर्वतको काख र तिनाउ नदीको पश्चिम किनारमा रहेको जीतगढी किल्ला सेनकालीन समयमा निर्माण भएको मानिन्छ । अंग्रेजसँगको युद्धपछि विजयको प्रतीकका रूपमा यसको नाम ‘जीतगढी’ रहन गएको हो ।