२०८३ बैशाख १०

विज्ञान विषय प्रवर्द्वनका क्रममा नवीनको टोलिले गर्यो तीन प्रदेशका उत्कृष्ट शैक्षिक संस्थाको अध्ययन तथा अवलोकन
  • लुम्बिनी खोज
  • २०८३ बैशाख ९, बुधबार ११:४१ गते

बुटवल, ९ वैशाख ।

नवीन औद्योगिक कदर बहादुर रीता मावि बुटवलले विज्ञान विषय प्रवर्द्वन कार्यक्रम अन्तर्गत तीन वटा प्रदेशका उत्कृष्ट शैक्षिक संस्थाको अध्ययन तथा अवलोकन गरेको छ । गण्डकी, मधेश र कोशी प्रदेशका उत्कृष्ट शैक्षिक संस्थाको अध्ययन तथा अवलोकन भ्रमणगरिएको विद्यालयका प्रधानाध्यापक प्रेम बहादुर बस्नेतले बताए । ती शैक्षिक सस्थाका सबल पक्षहरू, सफलताका गतिविधिहरु तथा विद्यालयले अवलम्वन गरेका असल अभ्यासहरू विस्तृत रुपमा जानकारी लिएको भन्दै उनले यस किसिमको अध्ययन तथा अवलोकन कार्यक्रमले शैक्षिक सस्थाहरुमा सकरात्मक प्रभाव पार्ने बताए ।

नवीनको टोलिले पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त उत्कृष्ट मध्येको एक अक्सफोर्ड कलेज गैडाकोटमा भएका सिभिल इन्जिनियरिङ ल्याब, होटल व्यवस्थापनका ल्याबहरू स्टकचरल इन्जिनियरिङ्गमा स्नातकोत्तरका कक्षाहरु लगायतको अवलोकन गरेको छ । उक्त अवलोकनमा अक्सफोर्ड कलेजका सञ्चालक तथा इन्जिनियरिङका कोर्डिनेटर भीम भण्डारीले नवीन औद्योगिक कदर बहादुर रीता माविमा कक्षा ९–१२ मा सिभिल इन्जिनियरिङ अध्ययन हुने हुँदा कक्षा १२ को बोर्ड परीक्षा पश्चात ६ महिने ओजेटीको लागि १० जना विद्यार्थीहरुलाई सहभागी गराई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको बस्नेतले बताए । उक्त अवसरमा अक्सफोर्ड कलेजका सहायक क्याम्पस प्रमुख कृष्ण हरि पौडेलको सञ्चालनमा सम्पन्न कार्यक्रममा नवीनका प्रधानाध्यापक बस्नेतले विद्यालयका समग्र पक्षको जानकारी गराएका थिए ।

विद्यार्थी संख्यामा देशमै प्रथम हुने लक्ष्यमा जनता नमुना

मधेश प्रदेशको विद्यार्थी सङ्ख्यामा बढी नेपालमा विद्यार्थी सङ्ख्यामा दोस्रो रहेको विदेह नगरपालिकामा रहेको जनता नमुना मा. वि. धनुषाको पनि नवीनको टोलीले अवलोकन गरेको छ । जनता नमुनामा ६ हजार ५ सय ६७ विद्यार्थीहरू अध्ययन गर्छन् । जसमा ४ हजार विद्यार्थीहरु साइकल चढेर पढ्न आउने गर्दछन् । ८५ प्रतिशत गरिब तथा दलित बस्ती रहेको उक्त विद्यालयलाई अभिभावकबाट पर्याप्त सहयोग रहेको जानाकारी गराइएको थियो । विद्यालय स्रोतका शिक्षकको लागि बिदेह नगरपालिकाले सबै आर्थिक सहयोग गर्ने गरेको पायएको बस्नेतले बताए । विद्यालयमा करिब ४० किसिमका उपसमितिहरू रहेका छन्। शिक्षक लगवुक व्यवस्था गरी महिनाको अन्त्यमा राम्रो कार्यसम्पादन गर्ने शिक्षकलाई सम्मान गर्ने व्यवस्था विद्यालयले गरेको छ । विद्यार्थीहरूको क्षमता र रुचि अनुसार गायन, नृत्य, संगीत, चित्रकला, हाजिरी जवाफ प्रतियोगितालाई प्राथमिकता दिने गरेको छ। गत वर्षको एसइइको नतिजा ९५ प्रतिशत रहेको थियो। विद्यालयको स्वामित्वमा १४ बिगाहा १७ धुर जग्गा छ। करिब १ सय जना शिक्षक कर्मचारी रहेकोमा विद्यालय स्रोतका शिक्षक ५२ जना रहेका छन्, १८ जना नगरपालिका स्रोतका शिक्षक रहेको र विद्यालयमा दुवै माध्यममा पठनपाठन हुने गर्छ।

विद्यालयमा व्यवस्थापन, विज्ञान, पशु विज्ञान, कानुन र शिक्षा समूह अध्ययन हुने गर्छ। विद्यालयका प्रधानाध्यापक पवन कुमार मण्डलले विद्यालयको लागि ठुलो संघर्ष गर्नु परेको र दुई तीन वर्षभित्रमा विद्यार्थी संख्यामा देशमै प्रथम हुने लक्ष्य रहेको बताए । उक्त विद्यालयमा आयोजित अन्तरक्रियामा शिक्षक अभिभावक संघका अध्यक्ष उत्तीमलाल मण्डलको अध्यक्षतामा नवीन औद्योगिक कदर बहादुर रीता मा.वि.का प्रधानाध्यापक प्रेम बहादुर बस्नेतको सञ्चालनमा सम्पन्न अन्तरक्रियामा नवीन औद्योगिक कदर बहादुर रीता मा.वि.का विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष तथा अभिभावक कृष्ण प्रसाद खरेलले धारणा राखेका थिए ।

विराटनगर महानगरपालिकामा रहेको शैक्षिक गुणस्तरमा अब्बल पोखरिया मा .वि.को अध्ययन तथा अवलोकन भ्रमणको क्रममा उक्त विद्यालयमा एमबिबिएस अध्ययन गर्ने विद्यार्थीहरूलाई MUCK परीक्षा सञ्चालन गर्ने गरेको छ। यस वर्ष ४५७ जना विद्यार्थीहरूले एसइइ परीक्षा दिएको र शैक्षिक सत्र २०८३ को लागि चैत्र २८ गते विद्यालयले प्रवेश परीक्षा लिएकोमा २ हजार २ सय विद्यार्थीहरू सहभागी भएका थिए । यस विद्यालयमा ४० जना सरकारी स्रोतमा शिक्षक कार्यरत रहेको र विद्यालय स्रोतमा ८६ जना गरी १२६ जना शिक्षक कर्मचारी कार्यरत रहेका छन् । विद्यालयमा खेलमैदानको अभावले प्रार्थना सञ्चालन गर्ने गरेको छैन । विद्यालयले चारवटा परीक्षा सञ्चालन गर्ने गरेको छ। गत वर्षको एसइइमा ९९ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए भने कक्षा १२ को बोर्ड परीक्षामा ७८ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए उक्त विद्यालय ० देखि ३ सम्म १६ कोठे भाडाको जग्गामा, कक्षा ४, ५, ९, १०, ११ र १२ कक्षा ६ कठ्ठा पाँच धुरको जग्गामा र महानगरपालिकाको भोगाधिकार भएको ११ कठ्ठा १३ धुरमा कक्षा ६ ,७ र ८ सञ्चालन हुँदै आएको छ। हाल विद्यालयमा ३ हजार ७ सय ५२ विद्यार्थीहरू अध्ययनरत रहेका छन् । उक्त विद्यालयमा आयोजित अन्तरक्रियामा नवीन औद्योगिक कदर बहादुर रीता मा .वि.का विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष तथा अभिभावक कृष्ण प्रसाद खरेलको अध्यक्षतामा पोखरिया मा।वि।का अंग्रेजी शिक्षक गोविन्द बहादुर अधिकारीको सञ्चालनमा सम्पन्न कार्यक्रममा पोखरिया माविका प्रधानाध्यापक खेमराज भट्टराईले विद्यालयका असल अभ्यासहरुका बारेमा जानकारी गराएका थिए । नवीन औद्योगिक कदर बहादुर रीता मा.वि. को तर्फबाट प्रधानाध्यापक प्रेम बहादुर बस्नेतले विद्यालयका समग्र असल अभ्यासहरु प्रकाश पारेका थिए ।

कोशी प्रदेशको सुन्दर हरैया नगरपालिकामा रहेको उत्कृष्ट विद्यालय सकुना मा.वि. जुन संघीय नमुना विद्यालय हो। २०२९ मा स्थापना भएको विद्यालयको भौतिक, आर्थिक, शैक्षिक र व्यावसायिक पक्ष राम्रो रहेको छ । २०७६ मा कक्षा १२ को बोर्ड परीक्षामा प्रथम अमरसिंह मा.वि. पोखरा र तृतीय भवानी विद्यापीठ पर्वत भएकोमा नेपाल द्वितीय भएको सकुना मा.वि.ले डिजिटल कक्षालाई प्राथमिकता दिएको छ। कक्षा ९–१२ सिभिल इन्जिनियरिङ अध्यापन विज्ञान, व्यवस्थापन, कानुन र शिक्षा समूह अध्ययन अध्यापन हुने विद्यालयमा पूर्णकालिन शिक्षक ४९, आंशिक शिक्षक ९४, कर्मचारी ३१ गरी १७४ जनशक्ति विद्यालयमा कार्यरत छन् र ४ हजार ६ सय ७८ विद्यार्थीहरु अध्ययनरत रहेका छन् । २०८१ मा विज्ञान प्रवर्द्वन कार्यक्रममा छनोट भएको विद्यालयको २०८१ को एसइइ परीक्षामा ९६ प्रतिशत र एसएलसीमा ८८ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए । उक्त अन्तरक्रिया कार्यक्रम नवीन विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष तथा अभिभावक कृष्णप्रसाद खरेलको अध्यक्षतामा सकुना मा.वि.का सूचना अधिकारी जगत बहादुर बनको सञ्चालनमा सम्पन्न कार्यक्रममा सकुना मा.वि.का प्रधानाध्यापक हिक्मत बहादुर बस्नेतले विद्यालयका सबल पक्षहरू सफलताका गतिविधिहरु विद्यालयले अवलम्वन गरेका असल अभ्यासहरू विस्तृत रुपमा जानकारी गराएका थिए । नवीनका प्रधानाध्यापक प्रेम बहादुर बस्नेतले विद्यालयका विद्यालय सुधारका चार खम्बाहरु, सोक विश्लेषण, नतिजा उपलब्धि लगायतमा प्रकाश पारेका थिए ।

उक्त भ्रमणमा विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष तथा अभिभावक कृष्ण प्रसाद खरेल, विद्यालयका प्रधानाध्यापक प्रेम बहादुर बस्नेत, सहायक प्रधानाध्यापक अर्जुन खनाल, सहायक प्रधानाध्यापक तथा शिक्षा समूह इन्चार्ज रोमनाथ घिमिरे ,सिभिल इन्जिनियरिङ इन्चार्ज सपना भट्टराई, विज्ञान समूह इन्चार्ज लक्ष्मी नारायण चौधरी, कानुन समूह इन्चार्ज अधिवक्ता लोकप्रसाद खरेल, माध्यमिक तह इन्चार्ज कपिल प्रसाद पौडेल, नेपाली विषय प्रमुख विष्णु पन्थी, अङ्ग्रेजी विषय प्रमुख राजन अधिकारी, कक्षा ११ र १२ गणित विषय संयोजक तुलसीराम घिमिरे, परीक्षा समिति ११ र १२ संयोजक राकेश अग्रहरी, परीक्षा समिति मन्टेस्वरी देखि १० का संयोजक सन्तोष पछाई, निरन्तर मूल्याङ्कन संयोजक शुवदना कुँवर , कक्षा ११ र १२ इसिए इन्चार्ज नेत्रलाल खरेल, विद्यालय तह इसीए इन्चार्ज लक्षण भुसाल, दिवा खाजा संयोजक युवराज पाण्डे, विद्यालय कर्मचारी बुटवलका अध्यक्ष देवराज चौधरी र नवीन विद्यार्थी क्लबकी अध्यक्ष लक्ष्मी पाण्डेय लगायत ६५ जना शिक्षक तथा कर्मचारीको सहभागिता रहेको थियो । वैशाख ४ देखि ७ गतेसम्म अध्ययन अवलोकन भ्रमण गरिएको बस्नेतले बताए ।