२०८३ जेष्ठ ११
बुटवल, ११ जेठ ।
उद्यमीहरुलाई व्यवसायीक योजना तयारी तथा ऋण प्रक्रिया सम्बन्धी सहजिकरण कार्यशाला गरिएको छ । रुपन्देही उद्योग संघको सहजिकरणमा घरेलु तथा साना उद्योग कार्यालय, सिद्धार्थनगर रुपन्देहीको आयोजनामा बुटवलमा सम्पन्न कार्यक्रममा उद्योग तथा व्यवसाय सञ्चालन गर्दा अवलम्बन गर्नु पर्ने कानुनी प्रक्रिया तथा राज्यले दिएका अनुदान एवं सेवाहरुको सहजीकरणका लागि गरिएका व्यवस्थाका बारेमा छलफल गरिएको थियो ।
कार्यक्रममा रुपन्देहीका विभिन्न क्षेत्रमा उद्योग व्ययवसाय सञ्चालन गर्दै आएका महिला उद्योगी व्यवसायीहरु सहित ३ दर्जनको सहभागीता रहेको रुपन्देही उद्योग संघका कार्यकारी प्रमुख यादव प्रसाद भण्डारीले जानकारी दिए ।
कार्यक्रममा रुपन्देही उद्योग संघका अध्यक्ष कृष्ण प्रसाद पराजुलीले आर्थिक बिकासका लागि घरेलु तथा साना उद्योगको प्रवद्र्धन र संरक्षण आवश्यक भएको कुरामा जोड दिए । परम्परागत ढाँचामा उद्योग व्यवसाय सञ्चालन गर्दा प्रतिफल पाउन नसकिने धारणा राख्दै उनले आधुनिक प्रविधि र सञ्जालको उपयोग गर्न सबैले ध्यान दिनु पर्ने बताए । घरेलु तथा साना उद्योग कार्यालय, सिद्धार्थनगर रुपन्देहीका वरिष्ठ शाखा अधिकृत मोहन परिवारले कार्यालयले दिदै आएको सेवा र हालसम्मको प्रगति विवरण प्रस्तुत गरेका थिए । नेपाल बैंक लिमिटेड, मणीग्राम शाखा प्रवन्धक सुरेन्द्र सिंह आलेले बैंकिङ क्षेत्रबाट उद्योग व्यवसाय सञ्चालनका लागि गरिने ऋण लगानी प्रक्रियाका बारेमा जानकारी गराएका थिए ।
कार्यक्रममा उद्योग तथा व्यवसाय सञ्चालन पूर्व बनाउनु पर्ने कार्ययोजना र त्यस अनुसारको गतिविधि हुृन नसक्दा लगानीको प्रतिफल पाउन नसकेको कुरामा ध्यान दिन आग्रह गरिएको थियो । सो अवसरमा राज्यले उद्योगी व्यवसायीहरुलाई दिने विभिन्न छुट र सेवाका विषयमा जानकारी गराउदै त्यसको उपयोग गर्न अनुरोध गरिएको थियो ।