२०८३ जेष्ठ २०
पर्यटन आर्कषित गर्दै बसाई लम्बाउने कार्यक्रम आवश्यक रहेकोमा जोड
बुटवल, ।
पर्यटकीय दृष्टिले अत्यन्तै महत्व बोकेको रुपन्देहीमा पर्यटन उद्योगमा राम्रो सभावना हुदाहुदै पनि पर्यटकलाई थप आर्कषित गर्दै बसाइ लम्बाउने चुनौतीको सामना गरिरहनुपरेकोमा जोड दिइएको छ । शान्तिका अग्रदुत गौतम बुद्धको जन्मस्थल लुम्बिनी, ऐतिहासिक जितगढी किल्लासहित अन्य ऐतिहासिक तथा धार्मिक एंव सास्कृतिक महत्वका स्थलहरु यहा रहेकाले पर्यटन क्षेत्र फस्टाउन सकिनेमा सरोकारवालाहरुले जोड दिएका हुन् । रुपन्देहीमा पर्यटकीय गन्तब्यहरु धेरै रहेपनि पर्यटनको आर्कषण बढाउन तथा पर्यटकको बसाइ लम्बाउन थप काम गर्नुपर्नेमा जोड दिइएको छ । यसका लागि आवश्यक ब्यवस्थापन पक्षमा ध्यान दिनुपर्ने तथा पर्यटकको ध्यान खिच्ने गरी प्रचारप्रसार गर्नुपर्नेमा पनि जोड दिइएको छ ।
धार्मिक, सांस्कृतिक, ऐतिहासिक तथा प्राकृतिक पर्यटनको बहुआयामिक गन्तव्यका रूपमा रहेको रुपन्देहीमा पर्यटन क्षेत्रको विकास गर्न एकीकृत नीति, पूर्वाधार विस्तार र निजी क्षेत्रको सक्रिय सहभागिता आवश्यक रहेको औँल्याइएको छ ।
त्यस्तै पर्यटन क्षेत्रमा रहेका समस्या समाधान गरि सो क्षेत्रलाई आर्थिक विकासको एक अधार बनाउनका लागि राज्यको नीति र कानुनी जटिलतालाई हटाउनु पर्ने कुरा पनि उठाइएको छ । रुपन्देही उद्योग संघको आयोजना तथा बुटवल उपमहानगरपालिकाको सहयोगमा सोमवार बुटवलमा भएको रुपन्देहीको पर्यटन उद्योगका अवसर र चुनौती विषयक वृहत गोष्ठीमा बक्ताहरुले पर्यटक बसाई लम्ब्याउने गरि प्याकेज योजना र प्रचारमा जोड दिनुपर्ने सुझाव दिएका छन् ।
कार्यक्रममा वोल्दै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले रुपन्देहीको आर्थिक विकासमा पर्यटनको सम्भावना राम्रो रहेको चर्चा गर्दै त्यसमा नीजि क्षेत्र लाग्न आग्रह गर्दै स्थानिय सरकार त्यसमासहकार्य गर्दै अगाडी बढ्ने बताए । उपप्रमुख सावित्रादेवी अर्यालले रुपन्देही पर्यटनका लागि आर्कषक जिल्ला रहेको धारणा राख्दै थप ब्यवस्थीत गर्दै अगाडी बढ्नुपर्नेमा जोड दिइन् ।
कार्यपत्र प्रस्तुत गर्दै नेपाल पर्यटन बोर्डका वरिष्ठ व्यवस्थापक सुमन घिमिरेले नेपालको पर्यटनको अवस्था तथा ल्म्बिनी प्रदेशमा पर्यटनको संभावनाका बारेमा चर्चा गरेका थिए ।
देवदह नगरपालिकाका प्रमुख ध्रुवप्रसाद खरेलले बुद्धसँग सम्बन्धित देवदह क्षेत्रको अन्तर्राष्ट्रिय पहिचान विस्तार गर्न विशेष कार्यक्रम आवश्यक रहेको धारणा राखे । लुम्बिनी विश्वविद्यालयका ब्यवस्थापन विभागका प्रमुख डाक्टर श्रीप्रसाद भट्टराईले पर्यटनलाई ज्ञान, अनुसन्धान र दक्ष जनशक्ति विकाससँग जोडेर दीगो उद्योगका रूपमा विकास गर्नुपर्ने धारणाराखे ।
रुपन्देहीको पर्यटन क्षेत्रको अवस्थाका बारेमा कार्यपत्र प्रस्तुत गर्दै लेखक युवराज कडेलले रुपन्देहीमा पर्यटनका क्षेत्र धेरै रहेको चर्चा गरे । उनले सबै क्षेत्रलाई जोडेर पर्यटन क्षेत्रको विकास गर्न सकिएमा पर्यटकको बसाई लम्बाउन सकिने पनि बताए ।
रुपन्देही उद्योग संघका अध्यक्ष कृष्णप्रसाद पराजुलीले रुपन्देहीलाई लुम्बिनी केन्द्रित पर्यटनको मुख्य प्रवेशद्वार बनाउने लक्ष्यसहित निजी क्षेत्रलाई प्रोत्साहन गर्ने नीति आवश्यक रहेको बताए । उनले पूर्वाधार विकास, सहजीकरण र लगानीमैत्री वातावरण बने पर्यटन उद्योगले रोजगारी र आय वृद्धि गर्ने उल्लेख गरे । वरिष्ठ उपाध्यक्ष जिवकान्त काफ्लेले रुपन्देहीको पर्यटन विकासमा थप योगदान पुग्ने गरी कार्यक्रम गरिएको धारणा राखेका छन् । संघका महासचिव सुमन बस्यालले पर्यटन प्रवद्र्धनका लागि निजी क्षेत्र र सरकारबिचको सहकार्य अझ मजबुत हुनुपर्नेमा आफूहरुको जोड रहदै आएको बताउछन् ।
