२०८३ असार ४

नवीनमा विज्ञान र सिभिल इन्जिनियरिङ्ग कक्षा ११ का नव आगन्तुक विद्यार्थीहरुको अभिमुखिकरण
  • लुम्बिनी खोज
  • २०८३ असार ३, बुधबार १३:२७ गते

बुटवल, ३ असार ।
नवीन औद्योगिक कदर बहादुर रीता माध्यमिक विद्यालयमा विज्ञान र सिभिल इन्जिनियरिङ्ग कक्षा ११ का नव आगन्तुक विद्यार्थीहरुको अभिमुखिकरण कार्यक्रम बुधवार सम्पन्न भएको छ ।
कार्यक्रममा इलाका प्रशासन कार्यालय बुटवलका कार्यालय प्रमुख नेपाल सरकारका उपसचिव श्रीनाथ पौडेलले एसइइ उत्तीर्ण समस्त विद्यार्थीहरुलाई बधाई दिदै नेपालमै शैक्षिक गुणस्तर राम्रो भएको दक्ष जनशक्ति भएको विद्यालयमा विद्यार्थीहरुले पढ्ने अवशर पाएकोमा भाग्यमानी भएको बताउदै विद्यार्थीहरुले आफ्नो रुची अनुरुपका विषयहरु अध्ययन गरेमा सजिलै सफल हुन सक्ने बताए । उनले कक्षा ११,१२ मा विद्यार्थीहरु टिनएज उमेर समूहका भएकोले सबै भन्दा बढी उर्जा आत्मविश्वास हुनुका साथै यो उमेर संवेदनशिल उमेर पनि भएकोले यो उमेरको सबै भन्दा बढी सकारात्मक क्रियाकलापमा खर्च गर्नु पर्नेमा जोड दिदै विद्यालयले औपचारिक शिक्षा मात्र नभई सीपयुक्त शिक्षा पनि संचालन गरेकोले विद्यार्थीहरुले त्यसको पनि लाभ लिन सक्ने धारणा राखे ।
बुटवल उपमहानगरपालिका वडा नं. ११ का वडा अध्यक्ष रामचन्द्र क्षेत्रीको अध्यक्षतामा विज्ञान समुह कक्षा १२ की विद्यार्थी प्रतीज्ञा चन्दको संचालनमा सम्पन्न कार्यक्रममा उत्प्रेरणात्मक बक्ता डा. आविष्कार पराजुलीले विद्यार्थीहरुलाई समग्र पक्षहरुको बारेमा उत्प्रेरणात्मक सहजीकरण गरेका थिए ।
विद्यालयका प्रधानाध्यापक प्रेम बहादुर बस्नेतले विद्यालयको भौतिक, शैक्षिक, व्यवस्थापकीय, आर्थिक पक्ष र समस्याहरु राखेका थिए ।
विद्यालयका सहायक प्रधानाध्यापक अर्जुन खनालले विद्यार्थी आचार संहिता २०८३ अन्तरगत अनुशासन, पोशाक, कपालको साइज लगायतमा सहजीकरण गरेका थिए । विज्ञान समुहका इन्चार्ज लक्ष्मी नारायण चौधरीले विज्ञान समुह र सिभिल इन्जिनियरिङ्ग समुहमा अध्ययन गर्ने विद्यार्थीहरुले ध्यान दिनु पर्ने समग्र पक्षबारे जानाकारी गराएका थिए । नवीन विद्यार्थी क्लवका अध्यक्ष लक्ष्मी पाण्डेले नवीन विद्यार्थी क्लवको समग्र पक्षहरुको सम्बन्धमा सहजीकरण गरेकी थिइन् ।
जेष्ठ २९ गते सामाजिक विकास डिभिजन कार्यालय रुपन्देहीद्वारा संचालित रुपन्देही र नवलपरासी जिल्लामा कक्षा ११ र १२ मा विज्ञान विषय र प्राविधिक धार तर्फ कक्षा ११ र १२ मा अध्ययन गर्ने विद्यार्थी वीच भएको विज्ञान प्रदर्शनीमा प्रथम हुन सफल विज्ञान समुहका विद्यार्थीहरु एलिशा थापा, सिर्जना यादव, टिकादेवी चौधरीलाई र स्टेम प्रतियोगितामा तृतीय हुन सफल विद्यार्थीहरु प्रमोद आचार्य, प्रतिज्ञा चन्द र समन्वय गर्ने भौतिक शास्त्र विषय शिक्षक विनय कुमार विकलाई उक्त कार्यक्रममा सम्मान गरिएको थियो ।
कार्यक्रममा विज्ञान समुहका विद्यार्थीहरुले रोचक नृत्य प्रस्तुत गरेका थिए । नवीन विद्यालयमा विज्ञान, सिभिल इन्जिनियरिङ्ग, व्यवस्थापन, व्यवस्थापनमा होटल व्यवस्थापन, कानुन र शिक्षा समुह अध्यापन हुने गर्छ ।