२०८३ असार १८

नवीनमा कक्षा ११ व्यवस्थापन समूहका नवआगन्तुक विद्यार्थीको अभिमुखीकरण
  • लुम्बिनी खोज
  • २०८३ असार १७, बुधबार १४:०६ गते

बुटवल, १७ असार।
नवीन औद्योगिक कदरबहादुर रीता माध्यमिक विद्यालय देवीनगरमा व्यवस्थापन समूह अन्तर्गत कक्षा ११ मा अध्ययनरत नवआगन्तुक विद्यार्थीहरूको अभिमुखीकरण कार्यक्रम बुधबार सम्पन्न भएको छ।

कार्यक्रममा बुटवल उपमहानगरपालिका शिक्षा तथा जनस्वास्थ्य एवं वित्त व्यवस्थापन महाशाखाका प्रमुख वरिष्ठ उपसचिव मित्रमणि खनाल ले विद्यार्थीहरूले देशकै उत्कृष्ट विद्यालय र व्यवस्थापन विषय छनोट गरेकोमा बधाई व्यक्त गरे। उनले विद्यालयमा पठनपाठनको वातावरण उत्कृष्ट रहेको उल्लेख गर्दै विद्यार्थीहरूले आफ्नो बानी–व्यवहारमा सकारात्मक परिवर्तन ल्याउनुपर्ने बताए। ज्ञान र सीप विकासका लागि विद्यालयले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको उल्लेख गर्दै उनले विद्यालयको आचारसंहिता पूर्ण रूपमा पालना गर्न सुझाव दिए।

उत्प्रेरणात्मक वक्ता तथा एनएमबी बैंक का शाखा प्रबन्धक एवं मानव अधिकार तथा शान्ति समाज रुपन्देहीका जिल्ला सभापति अर्जुन ज्ञवाली ले विद्यार्थीहरूलाई आजको अवस्थामा ल्याउन योगदान पुर्‍याउने अभिभावक, शिक्षक, छिमेकी तथा साथीहरूप्रति आभार व्यक्त गर्न आग्रह गरे। उनले जीवनमा सफल हुन स्पष्ट लक्ष्य, त्यसअनुसारको योजना, कार्यतालिका र क्रियाकलाप आवश्यक हुने बताए। सपना, संकल्प, जीवनको लक्ष्य, सफलताका पाँच मन्त्र, जीवन बदल्ने बानी, मानव अधिकार, वातावरण तथा सञ्चारको महत्त्वबारे उनले उत्प्रेरणात्मक प्रस्तुति दिएका थिए।
बुटवल उपमहानगरपालिका ११ का वडा अध्यक्ष रामचन्द्र क्षेत्रीले कक्षा ११ मा व्यवस्थापन समूहमा अध्ययन गर्ने विद्यार्थीहरूलाई बधाई तथा शुभकामना दिँदै दृढ संकल्प, अनुशासन र नियमित अध्ययनले सफलता सम्भव हुने बताए। उनले लगनशील भएर अध्ययन गर्न विद्यार्थीहरूलाई सुझाव दिए।

कार्यक्रमकै अवसरमा वरिष्ठ उपसचिव मित्रमणि खनालले विज्ञान विषय प्रवर्द्धन कार्यक्रम अन्तर्गत निर्माण गरिएको कम्प्युटर प्रयोगशालाको उद्घाटन पनि गरेका थिए।

विद्यालयका प्रधानाध्यापक प्रेमबहादुर बस्नेत ले विद्यालयका भौतिक, आर्थिक, शैक्षिक तथा व्यवस्थापकीय पक्षका साथै विद्यमान समस्याबारे धारणा राखे। सहायक प्रधानाध्यापक अर्जुन खनाल ले विद्यालयको आचारसंहिता–२०८३ तथा विद्यार्थी अनुशासनसम्बन्धी विषयमा प्रकाश पारे।

शैक्षिक सत्र २०८२ को वार्षिक परीक्षामा समूहगत रूपमा उत्कृष्ट जिपिए हासिल गर्ने २० जना विद्यार्थीलाई जिपिएका आधारमा एक हजारदेखि दश हजार रुपैयाँसम्म गरी कुल ४५ हजार रुपैयाँ नगद पुरस्कार वितरण गरिएको थियो। पुरस्कार वरिष्ठ उपसचिव मित्रमणि खनाल र वडा अध्यक्ष रामचन्द्र क्षेत्रीले संयुक्त रूपमा वितरण गरेका थिए।

रामचन्द्र क्षेत्री को अध्यक्षतामा सम्पन्न कार्यक्रममा व्यवस्थापन समूह कक्षा १२ का विद्यार्थी सुदीप खड्का ले सञ्चालन गरेका थिए भने व्यवस्थापन समूह कक्षा ११ का इन्चार्ज जयराम पन्थी ले स्वागत मन्तव्य व्यक्त गरेका थिए। सहभागीका तर्फबाट विद्यार्थी देवी पौडेल ले धारणा राखे।

यसैबीच, शिक्षा तथा सामाजिक विकास निर्देशनालय लुम्बिनी प्रदेश द्वारा असार १४ गते आयोजित लुम्बिनी प्रदेशस्तरीय स्टेम प्रतियोगितामा प्रथम स्थान हासिल गर्न सफल भौतिकशास्त्र विषयका समन्वय शिक्षक विनयकुमार विक तथा विद्यार्थीहरू प्रमोद आचार्य, प्रतिज्ञा चन्द र सागर विक लाई नगदसहित सम्मान गरिएको थियो। सम्मान उत्प्रेरणात्मक वक्ता अर्जुन ज्ञवालीले गरेका थिए।