२०८३ श्रावण २७

राममणिमा अन्तरक्रियात्मक प्रशिक्षण
  • लुम्बिनी खोज
  • २०८३ श्रावण २७, बुधबार १५:४८ गते

भिन्न परिवेशमा पनि साझा आकांक्षा पूरा गर्न युवाको भूमिका महत्वपूर्ण

बुटवल, २७ साउन ।

रूपन्देहीको मणिग्रामस्थित राममणि बहुमुखी क्याम्पसमा विद्यार्थी गुणस्तर समूहको आयोजनामा अन्तरक्रियात्मक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।

अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा संयुक्त राष्ट्रसंघले तय गरेको यस वर्षको मूल सन्देश ‘भिन्न परिवेश, साझा आकांक्षा’ (Different Contexts, Common Aspirations) लाई आधार बनाएर कार्यक्रम आयोजना गरिएको हो।

कार्यक्रममा प्राज्ञिक व्यक्तित्व एवम् युवा उद्यमी तथा मणिग्राम विश्राम बाटिकाका प्रबन्ध निर्देशक प्रणदा आचार्य दीक्षितले नेपाली युवाशक्तिको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रभावका विषयमा प्रशिक्षण दिएकी थिइन्।

उनले आफूले युरोपमा अध्ययन गरे पनि नेपालबाटै आफ्नो कामलाई विस्तार गर्दै अघि बढ्ने उद्देश्यले नेपाली संस्कृति र मौलिकतामा आधारित आतिथ्य सत्कार तथा पर्यटन विकासको क्षेत्रमा काम गरिरहेको बताइन्। नेपाली युवामा रहेको क्षमता र सिर्जनशीलतालाई स्वदेशमै उपयोग गर्न सके देशको विकासमा महत्वपूर्ण योगदान पुग्ने उनको भनाइ थियो।

कार्यक्रममा विद्यार्थीहरू चन्दा थापा र अनिषा न्यौपाने तथा प्राध्यापकहरू डा. अशोक भण्डारी र मुक्तिनाथ गैह्रेलगायतले विभिन्न विषयमा जिज्ञासा राखेका थिए।

विद्यार्थी गुणस्तर समूहकी सृजना काफ्लेको अध्यक्षतामा भएको कार्यक्रममा सहायक क्याम्पस प्रमुख खुमकान्त पाण्डेले स्वागत गरेका थिए।

कार्यक्रममा क्याम्पस प्रमुख ताराप्रसाद पराजुलीले मानिस जुनसुकै वर्ग र परिवेशमा जन्मिए पनि जीवनमा सफलता हासिल गर्न मेहनत र लगनशीलता आवश्यक पर्ने बताए। उनले निरन्तर परिश्रम गर्ने व्यक्तिकै पक्षमा सफलता र प्रभाव रहने धारणा व्यक्त गरे।

अन्तरक्रियात्मक प्रशिक्षणमा स्नातक तहका करिब १५० विद्यार्थीका साथै प्राध्यापक तथा कर्मचारीहरूको सहभागिता रहेको थियो।