२०८३ भाद्र ६

राममणि बहुमुखी क्याम्पसमा अन्तर्राष्ट्रिय सम्मेलन
  • लुम्बिनी खोज
  • २०८३ भाद्र ५, शुक्रबार १५:३२ गते

सामाजिक विज्ञान, शिक्षाशास्त्र र व्यवस्थापनका उदीयमान दृष्टिकोणमा अन्तर्राष्ट्रिय विज्ञबीच विमर्श हुने

बुटवल, ५ भदौ ।
राममणि बहुमुखी क्याम्पस, तिलोत्तमा–५, मणिग्राम, रुपन्देहीले सामाजिक विज्ञान, शिक्षाशास्त्र तथा व्यवस्थापनका क्षेत्रमा भइरहेका नवीन अनुसन्धान र शैक्षिक सम्भावनाबारे विमर्श गर्न दुईदिने अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्ने भएको छ।

क्याम्पसको अनुसन्धान व्यवस्थापन समितिको आयोजनामा भदौ ६ र ७ गते (२२ र २३ अगस्ट २०२६) हुने सम्मेलनको मूल विषय “Emerging Perspectives in Social Sciences and Pedagogical Opportunities in Pursuit of Excellence” अर्थात् “उत्कृष्टताको खोजीमा सामाजिक विज्ञानका उदीयमान दृष्टिकोण तथा शैक्षिक अवसरहरू” रहेको छ।

सम्मेलनमा नेपालसहित भारत, फिलिपिन्स र मलेशियाका विश्वविद्यालय तथा शैक्षिक क्षेत्रका विज्ञहरूको सहभागिता रहनेछ। सम्मेलनले सामाजिक विज्ञान, शिक्षाशास्त्र, व्यवस्थापन तथा उच्च शिक्षाका क्षेत्रमा देखिएका नयाँ प्रवृत्ति, अनुसन्धानका सम्भावना र शैक्षिक उत्कृष्टताका लागि आवश्यक अवसरबारे अन्तर्राष्ट्रियस्तरमा ज्ञान तथा अनुभव आदानप्रदान गर्ने आयोजकले जनाएको छ।

त्रिविका कार्यवाहक रजिस्ट्रार चालिसे मुख्य वक्ता

सम्मेलनको उद्घाटन सत्रमा त्रिभुवन विश्वविद्यालयका कार्यवाहक रजिस्ट्रार तथा व्यवस्थापन संकायका डीन प्रा. डा. महानन्द चालिसे प्रमुख अतिथि तथा मुख्य वक्ताका रूपमा सहभागी हुनेछन्।

त्यस्तै, भारतको दीनदयाल उपाध्याय गोरखपुर विश्वविद्यालय, गोरखपुरका समाजशास्त्र विभाग प्रमुख प्रा. डा. अनुराग द्विवेदी र फिलिपिन्सको अब्रा स्टेट इन्स्टिच्युट अफ साइन्सेज एण्ड टेक्नोलोजीका प्राध्यापक डा. एलेक्सिस ए. एनरिक्वेज मुख्य वक्ताका रूपमा सहभागी हुने कार्यक्रम रहेको छ।

मणिग्राम विश्राम वाटिकामा बिहान ९ बजेदेखि सुरु हुने उद्घाटन कार्यक्रममा तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाण विशेष अतिथिका रूपमा सहभागी हुनेछन्।

शिक्षाविद्देखि उद्योगी–व्यवसायीसम्मको सहभागिता

उद्घाटन सत्रमा शिक्षाविद्, प्राध्यापक, अनुसन्धानकर्ता, सरकारका प्रतिनिधि, उद्योगी–व्यवसायी, क्याम्पसका पूर्व तथा वर्तमान पदाधिकारी, शिक्षक, कर्मचारी, विद्यार्थी तथा विभिन्न शैक्षिक संस्थाका प्रतिनिधिहरूको सहभागिता रहनेछ।

सम्मेलनका क्रममा विद्यार्थीहरूले सांस्कृतिक प्रस्तुतिसमेत गर्ने कार्यक्रम रहेको छ।

दुईदिने सम्मेलनमा व्यवस्थापन, सामाजिक विज्ञान र शिक्षाशास्त्रका समसामयिक विषयमा मुख्य वक्ताहरूका प्रस्तुति, प्यानल छलफल तथा विभिन्न सरोकारवालासँग अन्तरक्रिया गरिनेछ।

अनुसन्धान र शैक्षिक उत्कृष्टताका लागि साझा मञ्च

सम्मेलनले नेपालसहित विभिन्न देशका विश्वविद्यालय तथा शैक्षिक क्षेत्रका विज्ञहरूलाई एउटै मञ्चमा ल्याएर अनुसन्धानका नयाँ आयाम, शैक्षिक दृष्टिकोण र उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका उपायबारे बहस गर्ने अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ।

क्याम्पसको अनुसन्धान व्यवस्थापन समितिले आयोजना गर्न लागेको सम्मेलनले व्यवस्थापन, सामाजिक विज्ञान, शिक्षाशास्त्र र उच्च शिक्षाका क्षेत्रमा भइरहेका अनुसन्धानलाई अन्तर्राष्ट्रिय अनुभवसँग जोड्दै नयाँ सम्भावनाको खोजी गर्ने महत्वपूर्ण मञ्चका रूपमा काम गर्ने कार्यक्रम संयोजक डा. अशोक भण्डारीले जानकारी दिए।

उनका अनुसार सम्मेलनमार्फत विभिन्न देशका विज्ञ, अनुसन्धानकर्ता, शिक्षक तथा सरोकारवालाबीच ज्ञान, अनुभव र विचारको आदानप्रदान हुनुका साथै आगामी दिनमा अनुसन्धान तथा शैक्षिक सहकार्यका नयाँ सम्भावनासमेत पहिचान हुने अपेक्षा गरिएको छ।