२०८३ भाद्र ७
बुटवल । नागरिकको सुरक्षा तथा ट्राफिक व्यवस्थापनमा दिनरात खटिने सुरक्षाकर्मीको स्वास्थ्यलाई लक्षित गर्दै बुटवल हस्पिटल प्रालिले निःशुल्क स्वास्थ्य परीक्षण तथा उपचार गरेको छ।
नेपाल राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलको संयोजनमा आयोजित स्वास्थ्य शिविरमा इलाका प्रहरी कार्यालयमा कार्यरत सुरक्षाकर्मीसहित करिब एक सय जना सुरक्षाकर्मी, कर्मचारी तथा कैदीबन्दीको स्वास्थ्य परीक्षण गरिएको हो।
शिविरमा बुटवल हस्पिटलका वरिष्ठ फिजिसियन डा. गौरव धिताल, अर्थोपेडिक्स विशेषज्ञ डा. उत्सव रेग्मीलगायत विशेषज्ञ चिकित्सकले स्वास्थ्य परीक्षण गरेका थिए। शिविरमा ईसीजी, रक्तचाप, सुगर तथा पिसाब परीक्षणलगायतका स्वास्थ्य जाँच गरिएको थियो।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय, रुपन्देहीका प्रमुख जनकबहादुर शाहीले सुरक्षाको क्षेत्रमा दिनरात खटिने सुरक्षाकर्मीको स्वास्थ्यप्रति चासो राख्दै कार्यालय परिसरमै स्वास्थ्य शिविर आयोजना गरेकोमा बुटवल हस्पिटलप्रति आभार व्यक्त गरे। उनले आगामी दिनमा पनि अस्पतालबाट यस्तै सहयोग र सद्भावको अपेक्षा रहेको बताए।
ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रमुख निशान थापाले बुटवल हस्पिटलले सुरक्षाकर्मीको स्वास्थ्यका लागि महत्वपूर्ण सहयोग गरेको बताए। शिविरले नागरिकको सुरक्षामा खटिने सुरक्षाकर्मीलाई आफ्नो स्वास्थ्य अवस्थाबारे जानकारी लिन तथा स्वास्थ्यप्रति सचेत बन्न सहयोग पुगेको उनको भनाइ थियो।
सडकमा नियमित रूपमा खटिने सुरक्षाकर्मी विभिन्न किसिमका संक्रमणको जोखिममा रहने भएकाले उनीहरूको नियमित स्वास्थ्य परीक्षण आवश्यक रहेको वरिष्ठ फिजिसियन डा. गौरव धितालले बताए। समयमै स्वास्थ्य परीक्षण गर्दा सम्भावित स्वास्थ्य समस्या पहिचान गरी आवश्यक उपचार तथा सावधानी अपनाउन सकिने उनले बताए।
शिविरमा अस्पतालका प्रशासन प्रमुख विक्रम खड्का, बजार प्रमुख सुमन तिमिल्सिनासहित मेडिकल अफिसरहरू कृष्ण पौडेल, सिद्धार्थ पाण्डे, नियन्ता कार्कीलगायत स्वास्थ्यकर्मीले सेवा प्रदान गरेका थिए।
स्वास्थ्य परीक्षणका क्रममा सुरक्षाकर्मी तथा अन्य सहभागीको स्वास्थ्य अवस्था जाँच गर्नुका साथै आवश्यक परामर्शसमेत प्रदान गरिएको अस्पतालले जनाएको छ।







