२०८३ भाद्र ७
बुटवल ६ भदौ।
सामाजिक विज्ञान, शिक्षाशास्त्र तथा व्यवस्थापनका क्षेत्रमा भइरहेका नवीन अनुसन्धान र शैक्षिक सम्भावनाबारे विमर्श गर्न दुईदिने अन्तर्राष्ट्रिय सम्मेलन रुपन्देहीमा सुरु भएको छ।
राममणि बहुमुखी क्याम्पस, तिलोत्तमा–५, मणिग्राम, रुपन्देहीको अनुसन्धान व्यवस्थापन समितिको आयोजनामा शनिबारदेखि सुरु भएको सम्मेलनको मूल विषय ‘उत्कृष्टताको खोजीमा सामाजिक विज्ञानका उदीयमान दृष्टिकोण तथा शैक्षिक अवसरहरू’ रहेको छ।
सम्मेलनमा नेपालसहित भारत, फिलिपिन्स र मलेसियाका विश्वविद्यालय तथा शैक्षिक क्षेत्रका विज्ञहरूको सहभागिता रहेको आयोजकले जनाएको छ। सम्मेलनले सामाजिक विज्ञान, शिक्षाशास्त्र, व्यवस्थापन तथा उच्च शिक्षाका क्षेत्रमा देखिएका नयाँ प्रवृत्ति, अनुसन्धानका सम्भावना र शैक्षिक उत्कृष्टताका लागि आवश्यक अवसरबारे अन्तर्राष्ट्रियस्तरमा ज्ञान तथा अनुभव आदानप्रदान गर्ने आयोजक क्याम्पसका उपप्राध्यापक मुक्तिनाथ गैह्रेले बताए।
त्रिविका कार्यवाहक रजिस्ट्रार चालिसे मुख्य वक्ता
सम्मेलनको उद्घाटन सत्रमा त्रिभुवन विश्वविद्यालयका कार्यवाहक रजिस्ट्रार तथा व्यवस्थापन संकायका डीन प्रा. डा. महानन्द चालिसे मुख्य वक्ताका रूपमा सहभागी भएका थिए। उनले शिक्षा क्षेत्रको सुधारका लागि सबै सरोकारवाला पक्ष लाग्नुपर्ने धारणा राखे। विगतमा भएका कमजोरी सुधार गर्दै अघि बढ्नुपर्ने आवश्यकता पनि उनले औँल्याए।
राममणि बहुमुखी क्याम्पसका प्रमुख ताराप्रसाद पराजुलीले अनुभव प्राप्त बौद्धिक व्यक्तिहरूलाई एकै ठाउँमा जुटाएर अनुभव लिने तथा सम्भावनाहरूलाई एकीकृत गर्दै शैक्षिक अवसरबारे गहन छलफल गर्न कार्यक्रम आयोजना गरिएको बताए।
भारतको दीनदयाल उपाध्याय गोरखपुर विश्वविद्यालय, गोरखपुरका समाजशास्त्र विभाग प्रमुख प्रा. डा. अनुराग द्विवेदी र फिलिपिन्सको अब्रा स्टेट इन्स्टिच्युट अफ साइन्सेज एन्ड टेक्नोलोजीका प्राध्यापक डा. एलेक्सिस ए. एनरिक्वेज पनि मुख्य वक्ताका रूपमा सहभागी छन्।
शिक्षाविद्देखि उद्योगी–व्यवसायीसम्मको सहभागिता
उद्घाटन सत्रमा शिक्षाविद्, प्राध्यापक, अनुसन्धानकर्ता, सरकारका प्रतिनिधि, उद्योगी–व्यवसायी, क्याम्पसका पूर्व तथा वर्तमान पदाधिकारी, शिक्षक, कर्मचारी, विद्यार्थी तथा विभिन्न शैक्षिक संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
दुईदिने सम्मेलनमा व्यवस्थापन, सामाजिक विज्ञान र शिक्षाशास्त्रका समसामयिक विषयमा मुख्य वक्ताहरूका प्रस्तुति, प्यानल छलफल तथा विभिन्न सरोकारवालासँग अन्तरक्रिया गरिनेछ।
अनुसन्धान र शैक्षिक उत्कृष्टताका लागि साझा मञ्च
सम्मेलनले नेपालसहित विभिन्न देशका विश्वविद्यालय तथा शैक्षिक क्षेत्रका विज्ञहरूलाई एउटै मञ्चमा ल्याएर अनुसन्धानका नयाँ आयाम, शैक्षिक दृष्टिकोण र उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका उपायबारे बहस गर्ने अवसर प्रदान गर्ने अपेक्षा गरिएको आयोजकले जनाएको छ।
क्याम्पसको अनुसन्धान व्यवस्थापन समितिले आयोजना गरेको सम्मेलनले व्यवस्थापन, सामाजिक विज्ञान, शिक्षाशास्त्र र उच्च शिक्षाका क्षेत्रमा भइरहेका अनुसन्धानलाई अन्तर्राष्ट्रिय अनुभवसँग जोड्दै नयाँ सम्भावनाको खोजी गर्ने महत्वपूर्ण मञ्चका रूपमा काम गर्ने कार्यक्रम संयोजक डा. अशोक भण्डारीले जानकारी दिए।
उनका अनुसार सम्मेलनमार्फत विभिन्न देशका विज्ञ, अनुसन्धानकर्ता, शिक्षक तथा सरोकारवालाबीच ज्ञान, अनुभव र विचारको आदानप्रदान हुनुका साथै आगामी दिनमा अनुसन्धान तथा शैक्षिक सहकार्यका नयाँ सम्भावनासमेत पहिचान हुने अपेक्षा गरिएको छ।
सम्मेलनमा नेपालसहित चार (४) देशका विज्ञहरूको सहभागिता रहेको छ । सम्मेलनमा नेपाल, भारत र फिलिपिन्सका ३ जना प्राध्यापकहरूले मुख्य वक्ताका रूपमा शनिबार कार्यपत्र प्रस्तुत गरे ।
क्याम्पस सञ्चालक समितिका अध्यक्ष धु्रवकुमार धितालको अध्यक्षतामा भएको कार्यक्रममा मुख्य वक्ता भारतको दीनदयाल उपाध्याय गोरखपुर विश्वविद्यालयका प्रा. डा. अनुराग द्विवेदीले वर्तमान उत्तरआधुनिक मानव विकासको सन्तुलनमा समाजशास्त्रीय अनुसन्धान सान्दर्भिक रहेको बताए । प्राध्यापक द्विवेदीले प्रविधि, अर्थतन्त्र र भौतिक विकासको सदुपयोग गर्न र सुखी संसार बनाइरहनका लागि सबैको ध्यान पुग्न आवश्यक रहेको उल्लेख गरे ।
अन्तर्राष्ट्रिय सम्मेलनका अर्का मुख्य वक्ता फिलिपिन्सको अब्रा स्टेट इन्स्टिच्यूट अफ साइन्सेज एण्ड टेक्नोलोजी का प्राध्यापक डा. एलेक्सिस ए. एन्रिक्वेजले हालको कृत्रिम बुद्धिमत्ता (ए.आई.) अवसरसँगै बहुपक्षीय चुनौती लिएर आएको उल्लेख गदै कार्यपत्रमा यसको सदुपयोगबाट प्राध्यापक तथा विद्यार्थी लाभान्वित हुने बताइएको छ ।
क्याम्पसका उपप्राध्यापक मुक्तिनाथ गैह्रेको सञ्चालनमा मणिग्राम विश्राम वाटिकामा आयोजित उद्घाटन सत्रमा नेपाल पब्लिक क्याम्पस संघका केन्द्रीय अध्यक्ष शत्रुघन प्रसाद गुप्ता, क्याम्पस प्रमुख ताराप्रसाद पराजुली र अनुसन्धान व्यवस्थापन समितिका संयोजक डा. अशोक भण्डारीले मन्तव्य व्यक्त गरेका थिए ।
उद्घाटन पश्चात सञ्चालित विशेषज्ञ समूह छलफल (प्यानल डिस्कसन) का क्रममा सृजनात्मक क्षति, वर्तमान अर्थतन्त्रका चुनौती र अवसर, कृत्रिम बुद्धिमता लगायत विषयमा विज्ञहरूले आफ्ना तर्क प्रस्तुत गरेका थिए । डा. अशोक भण्डारीको सञ्चालनमा भएको विशेषज्ञ समूह छलफलमा भारतको दीनदयाल उपाध्याय गोरखपुर विश्वविद्यालयका प्रा. डा. अनुराग द्विवेदी, त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायका सहायक डीन प्रा.डा. दिलिप पराजुली र त्रिभुवन विश्वविद्यालय अर्थशास्त्र केन्द्रीय विभागका सह प्राध्यापक डा. रेशम थापाले विज्ञका रूपमा भूमिका निर्वाह गरेका थिए ।
अन्तर्राष्ट्रिय सम्मेलनकै क्रममा सञ्चालित दोस्रो समूह छलफलमा (प्यानल डिस्कसनमा) सरोकारपक्षका विज्ञहरूले स्थानीय उद्योग, व्यवसायबाट पुगेको आर्थिक योगदान एवम् तिनको दिगोपनाका चुनौतीबारे आफ्ना अनुभव प्रस्तुत गरे । त्यसैगरी, दक्ष जनशक्ति उत्पादनमा सामुदायिक क्याम्पसका योगदान, वर्तमान चुनौती र सम्भावनाबारे आफ्ना अनुभव प्रस्तुत गरे ।
उपप्राध्यापक कृष्णकुमार रेग्मीको सञ्चालनमा भएको समूह छलफलमा नेपाल पब्लिक क्याम्पस संघका केन्द्रीय अध्यक्ष शत्रुघन प्रसाद गुप्ता, विश्वविद्यालय अनुदान आयोगका उपनिर्देशक नारायणप्रसाद भण्डारी, नेपाल घरेलु तथा साना उद्योग महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष गणेशप्रसाद अधिकारी, शिवगंगा डेरीका सञ्चालक एवम् देवदह नगरपालिकाका पूर्व प्रमुख हिरा बहादुर खत्री, लुम्बिनी साँस्कृतिक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तारा ज्ञवाली र एन.आई.सी.एशिया बैंक लुम्बिनी प्रदेश प्रमुख राजन पोखरेलले विज्ञका रूपमा भूमिका निर्वाह गरेका थिए ।
दुवै प्यानल डिस्कसनका (विशेषज्ञ छलफलका) क्रममा उपस्थित प्राध्यापक, अनुसन्धानकर्ता तथा सहभागीहरूले विज्ञहरूसँग जिज्ञासा राखेका थिए । त्यस्तै, सम्मेलन सञ्चालनका बीच–बीचमा विद्यार्थीहरूले साँस्कृतिक प्रस्तुतिहरू प्रस्तुत गरेका थिए ।
सो सम्मेलनको दोस्रो दिन आइतबार नेपाल, भारत, फिलिपिन्स र मलेशिया गरी ४ देशका विभिन्न विश्वविद्यालय एवम् क्याम्पसका अनुसन्धानकर्ताका ३३ वटा कार्यपत्र प्रस्तुत गरिने अनुसन्धान व्यवस्थापन समितिका सदस्य राजेन्द्र थापाले जानकारी दिए । सम्मेलन उद्घाटनका दिनमा विभिन्न क्याम्पस तथा विश्वविद्यालयका २१८ जनाको सहभागिता रहेको सहायक क्याम्पस प्रमुख खुमकान्त पाण्डेले बताए ।



