२०८३ भाद्र २१

शितल सहकारीद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५१ हजार सहयोग
  • लुम्बिनी खोज
  • २०८३ भाद्र २०, शनिबार १४:०१ गते

सामुदायिक स्वास्थ्य क्लिनिकलाई औषधि खरिदका लागि २० हजार, एसईई उत्तीर्ण विद्यार्थीलाई छात्रवृत्ति
बुटवल, २० भदौ ।
बुटवलस्थित शितल बचत तथा ऋण सहकारी संस्थाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५१ हजार १ सय ११ रुपैयाँ सहयोग गर्ने भएको छ। सहकारीको शनिबार सम्पन्न १७ औं वार्षिक साधारण सभाले उक्त रकम कोषमा जम्मा गर्ने निर्णय गरेको अध्यक्ष गणेशप्रसाद अधिकारीले जानकारी दिए।
त्यस्तै, सहकारीले सामुदायिक स्वास्थ्य क्लिनिकलाई औषधि खरिदका लागि २० हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ।
सहकारीका सदस्यका छोराछोरीमध्ये एसईई परीक्षामा उत्तीर्ण भएकामध्ये शेयर सदस्य तुलसी पुनका छोरा निशान पुनलाई साधारण सभाको अवसरमा छात्रवृत्ति प्रदान गरिएको छ।
सहकारीका सचिव माया खनालका अनुसार साधारण सभामा प्रस्तुत विभिन्न प्रतिवेदन छलफल गरी पारित गरिएको थियो।
ज्येष्ठ सदस्य कृष्णकुमारी गुरुङको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा बुटवल उपमहानगरपालिका सहकारी शाखा प्रमुख गुणाखर खनालले सहकारी क्षेत्रको वर्तमान अवस्था र भूमिकाबारे चर्चा गर्दै सहकारीका ऐन, नीति, नियम तथा विधिको पूर्ण पालना गरेर अघि बढ्नुपर्नेमा जोड दिए।
सहकारीका अध्यक्ष गणेशप्रसाद अधिकारीले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थाले हालसम्म निर्वाह गर्दै आएको भूमिका तथा आगामी योजनाबारे जानकारी गराएका थिए।
सचिव माया खनालको सञ्चालन तथा उपाध्यक्ष विष्णुप्रसाद ज्ञवालीको स्वागत मन्तव्यमा सम्पन्न कार्यक्रममा कोषाध्यक्ष कमल ज्ञवाली र लेखा सुपरिवेक्षण समितिका संयोजक लोकेन्द्रसिंह आंकबुहाकंले आ–आफ्नो क्षेत्रको प्रतिवेदन प्रस्तुत गरेका थिए।
कार्यक्रममा सहकारीका सल्लाहकारहरू तिलप्रसाद भराई, ध्रुवप्रसाद धिताल र जीवनारायण अधिकारीले सहकारी क्षेत्रका विषयमा धारणा राख्दै विभिन्न सुझाव दिएका थिए।
त्यस्तै, रुपन्देही उद्योग संघका पूर्वअध्यक्ष माधव पौडेल, बुटवल औद्योगिक क्षेत्र उद्योग संघका उपाध्यक्ष प्रज्वोल थान्जु, तिलगंगा सहकारीका गमप्रसाद रेश्मी, सुमेरु सहकारीका नित्यानन्द ज्ञवाली तथा शेयर सदस्यका तर्फबाट यमनाथ अधिकारीलगायतले सहकारीको भूमिका र आगामी कार्यदिशाबारे धारणा राखेका थिए।