२०८३ भाद्र २५

नवीन औद्योगिक माविमा विद्यालय सुधार योजना निर्माण कार्यशाला सम्पन्न
  • लुम्बिनी खोज
  • २०८३ भाद्र २४, बुधबार १४:०६ गते

सरोकारवालाले विद्यालयको शैक्षिक गुणस्तर सुधार, चुनौती र भावी योजनाबारे दिए सुझाव

बुटवल, २४ भदौ ।

बुटवल–११ देवीनगरस्थित नवीन औद्योगिक कदरबहादुर रीता माध्यमिक विद्यालयमा विद्यालय सुधार योजना निर्माण कार्यशाला–२०८३ सम्पन्न भएको छ।

विद्यालय सुधार योजना निर्माणका लागि आयोजित कार्यशालामा विद्यालय सुधार योजना निर्माण कार्यदल, स्थानीय तहका प्रतिनिधि, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक अभिभावक सङ्घका पदाधिकारी, शिक्षक, विद्यार्थी, अभिभावक, बुद्धिजीवी, शिक्षाप्रेमी, समाजसेवी तथा शिक्षासँग आबद्ध विभिन्न सरोकारवालाको सहभागिता रहेको थियो।

कार्यशालामा सहभागीहरूलाई विभिन्न समूहमा विभाजन गरी विद्यालय सुधारका विषयमा छलफल गरिएको थियो। समूहगत छलफलमा ‘कस्तो विद्यालयलाई राम्रो विद्यालय मान्ने ?’, ‘हाम्रो विद्यालयका राम्रा पक्ष के–के हुन् ?’, ‘विद्यालयलाई अझ राम्रो बनाउन के गर्नुपर्छ ?’ तथा ‘विद्यालयलाई थप सुधार गर्ने क्रममा के–कस्ता समस्या तथा चुनौती आउन सक्छन् ?’ लगायतका विषयमा सरोकारवालाले लिखित दस्तावेजसहित आफ्ना धारणा तथा सुझाव प्रस्तुत गरेका थिए।

कार्यशालामा बुटवल उपमहानगरपालिका वडा नं. ११ का अध्यक्ष रामचन्द्र क्षेत्री, बुटवल उपमहानगरपालिकाका वरिष्ठ शिक्षा अधिकृत कमला चुँदाली, पूर्व जिल्ला शिक्षा अधिकारी भोजबहादुर केसी, नेपाल सरकारका पूर्व उपसचिव केदारनाथ घिमिरे, बुटवल उपमहानगरपालिकाका नगर सदस्य मायादेवी दर्नाल, विद्यालय सल्लाहकार समितिका संयोजक तथा पूर्व विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णप्रसाद खरेललगायतले धारणा राखेका थिए।

त्यस्तै, विद्यालय व्यवस्थापन समितिका सदस्यहरू हुमाकान्त लम्साल, भावना चालिसे र लक्ष्मीनारायण चौधरी, शिक्षक अभिभावक सङ्घका सदस्य जयराम पन्थी, समाजसेवी रामचन्द्र तिवारी, सहायक प्रधानाध्यापक अर्जुन खनाल, नवीन एल्मुनाईका अध्यक्ष तेजबहादुर राना, नवीन विद्यार्थी क्लबकी अध्यक्ष अन्जना ज्ञवाली, क्लबका सचिव राजन नेपाली तथा विज्ञान समूहका विद्यार्थी प्रमोद आचार्यलगायतले विद्यालय सुधारका लागि विभिन्न सुझाव प्रस्तुत गरेका थिए।

कार्यशालाले विद्यालयका सबल पक्षलाई थप प्रभावकारी बनाउँदै शैक्षिक गुणस्तर अभिवृद्धि गर्न आवश्यक योजना, प्राथमिकता र सम्भावित चुनौती पहिचान गर्न सहयोग पुगेको विद्यालयले जनाएको छ।

कार्यक्रम विद्यालय व्यवस्थापन समितिका ज्येष्ठ सदस्य अनिलकुमार ठाकुरको अध्यक्षता तथा विद्यालयका प्रधानाध्यापक प्रेमबहादुर बस्नेतको सहजीकरणमा सम्पन्न भएको थियो।

विद्यालय सुधार योजनाका प्रमुख चरणमा योजना निर्माण, योजना कार्यान्वयन र समीक्षा रहेका छन्। विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्दै राम्रो विद्यालय, राम्रो शिक्षण र राम्रो सिकाइको सुनिश्चितता प्रदान गर्नु विद्यालय सुधार योजनाको मूल ध्येय रहेको विद्यालयले जनाएको छ।

विद्यालय सुधार योजनाअन्तर्गत विद्यालय विकास योजना तथा विज्ञान प्रवर्द्धन कार्यक्रमसमेत समेटिने जनाइएको छ।