२०८३ भाद्र २४

जसपा नेपालकी प्रदेश सभा सदस्य अम्बिका काफ्ले पदमुक्त
  • लुम्बिनी खोज
  • २०८३ भाद्र २४, बुधबार १४:४४ गते

बुटवल, २४ भदौ ।

जनता समाजवादी पार्टी (जसपा) नेपालकी लुम्बिनी प्रदेश सभा सदस्य अम्बिका काफ्ले पदमुक्त भएकी छिन्। प्रदेश सभा सचिवालयले काफ्लेको दल त्यागसम्बन्धी सूचना प्रकाशन गरेसँगै काफ्लेको सांसद पद गएको हो।

प्रदेश सभा अधिवेशन चालु नरहेको अवस्थामा सभामुखको निर्देशनअनुसार  राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ३५ को उपदफा २ तथा लुम्बिनी प्रदेश सभा नियमावली, २०७९ को नियम १९६ बमोजिम दल त्यागसम्बन्धी सूचना प्रकाशन गरिएको सचिवालयले जनाएको छ।

जसपा नेपाल लुम्बिनी प्रदेश सभा संसदीय दलको निर्णय र सिफारिसका आधारमा पार्टी केन्द्रीय समितिले काफ्लेलाई प्रदेश सभा सदस्य पदबाट निष्काशन गर्ने निर्णय गरेको पत्रका आधारमा सुचना प्रकाशित गरेको प्रदेश सभाले जनाएको छ। काफ्लेले पटकपटक स्पष्टीकरणको मौका दिँदा समेत बेवास्ता गरी पार्टी तथा संसदीय दलको निर्णयविपरीत कार्य गरेको सो पार्टीले प्रदेश सभामा बुझाएको पत्रमा उल्लेख छ।

सो निर्णयबारे जानकारी गराउँदै जसपा नेपालको लुम्बिनी प्रदेश सभा संसदीय दलको कार्यालयबाट प्रदेश सभा सचिवालयमा पत्र प्राप्त भएको थियो। उक्त पत्र सभामुख तुलाराम घर्ती मगरसमक्ष पेश गरिएपछि प्रदेश सभा बैठक चालु नरहेको अवस्थामा कानुनी व्यवस्थाअनुसार सचिवालयको सूचनापाटीमा सूचना प्रकाशन गर्न निर्देशन दिइएको थियो।

प्रदेश सभा सचिव दुर्लभकुमार पुन मगरले जारी गरेको सूचनामा काफ्लेको दल त्यागसम्बन्धी विवरण सार्वजनिक गरिएको उल्लेख छ। सूचनामा पार्टीले प्रदेश सभा सदस्य पदबाट निष्काशन गरेको जानकारीलाई कानुनी प्रक्रियाअनुसार सचिवालयले प्रकाशन गरेको जनाइएको छ।

काफ्लेलाई मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सभाबाट विश्वासको मत लिने क्रममा पार्टीले जारी गरेको ह्वीपसँग सम्बन्धित विषयमा पार्टी तथा संसदीय दलको निर्णयविपरीत कार्य गरेको आरोपमा कारबाही गरिएको हो।