२०८३ भाद्र २६
बुटवल २५ भदौ ।
रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापना कार्यमा सहयोग पुर्याउने उद्देश्यले यशोदा ग्रुपअन्तर्गतका यशोदा फुड्स प्रालि र श्रीराम टोबाको प्रालिले नेपाल सरकारको ‘प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोष’मा रु. तीन करोड ५१ लाख ५१ हजार आर्थिक सहयोग गरेका छन्।
सहयोग रकमबराबरको चेक यशोदा ग्रुपका अध्यक्ष कमलकिशोर मालपानी र चेयरमेन चुन्नप्रसाद शर्माले संयुक्त रूपमा नेपाल सरकारका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेका हुन्।
बाढीबाट रसुवा, नुवाकोट र धादिङलगायतका जिल्लाका विभिन्न क्षेत्र प्रभावित भएपछि कम्पनीले राहत सामग्री वितरणलाई समेत प्राथमिकता दिएको जनाएको छ। कम्पनीका अनुसार अति प्रभावित क्षेत्र तथा पीडितहरूलाई राखिएका आश्रयस्थलमा रु. ३० लाखबराबरको ‘करेन्ट’ चाउचाउ पठाएर सम्बन्धित निकाय तथा प्रभावित नागरिकलाई प्रत्यक्ष रूपमा वितरण गरिएको छ।
कम्पनीले आवश्यकताअनुसार थप चाउचाउ तथा राहत सामग्री पठाउन आफूहरू तयार रहेको जनाएको छ। विपतकाे यस घडीमा प्रभावित नागरिकका लागि आवश्यक पर्ने अन्य सहयोग गर्न पनि यशोदा ग्रुप पूर्ण रूपमा तयार र प्रतिबद्ध रहेको बताइएको छ।
कम्पनीका अनुसार बाढी तथा प्राकृतिक विपतबाट प्रभावित नागरिकको तत्कालीन राहतसँगै पुनर्स्थापना र पुनरुत्थानका प्रयासमा निजी क्षेत्रको तर्फबाट सक्दो सहयोग पुर्याउने उद्देश्यले उक्त सहयोग गरिएको हो।