२०८३ भाद्र २७

नवीनमा तीज गीत तथा नृत्य प्रतियोगिता, ६६ टोलीको सहभागिता
  • लुम्बिनी खोज
  • २०८३ भाद्र २६, शुक्रबार १४:४० गते

संस्कृति संरक्षणमा विद्यार्थीको भूमिका उजागर गर्दै आयोजित प्रतियोगितामा विभिन्न तहका विद्यार्थी उत्कृष्ट

बुटवल, २६ भदौ ।

नवीन औद्योगिक कदरबहादुर रीता माध्यमिक विद्यालय देवीनगरमा नवीन विद्यार्थी क्लबको आयोजनामा खुला तीज गीत तथा नृत्य प्रतियोगिता–२०८३ सम्पन्न भएको छ। ‘संस्कृति संरक्षणमा विद्यार्थीको भूमिका’ विषयमा आयोजित प्रतियोगितामा विद्यालयका विभिन्न तहका विद्यार्थीका ६६ टोलीले सहभागिता जनाएको प्रधानाध्यापक प्रेमबहादुर बस्नेतले बताए ।

कक्षा ११ र १२ का विद्यार्थीबीच बिहान तथा कक्षा ३ देखि १० सम्मका विद्यार्थीबीच दिवा समयमा प्रतियोगिता सञ्चालन गरिएको थियो। कार्यक्रममा सामाजिक विकास डिभिजन कार्यालय रुपन्देहीका कार्यालय प्रमुख हरिबहादुर बिष्टले विद्यार्थीमा कला तथा सिर्जनशीलता बढ्दै जाओस् भन्ने शुभकामना व्यक्त गर्दै विद्यालयले विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि वातावरण तयार गरेकोमा प्रशंसा गरे। उनले विद्यार्थीले प्रस्तुत गरेको बहुप्रतिभाको उच्च सम्मान गर्दै यस्ता कार्यक्रमले विद्यार्थीको प्रतिभा विकासमा सहयोग पुग्ने बताए।

कक्षा ११ र १२ का विद्यार्थीबीच भएको प्रतियोगितामा शुष्मा समूह प्रथम, विज्ञान समूह कक्षा १२ द्वितीय, अनिशा समूह तृतीय र दिपा श्रीस समूह सान्त्वना भएका छन्। त्यस्तै, कक्षा ३ देखि ६ सम्मको प्रतियोगितामा अनुष्का समूह प्रथम, नेहा बानियाँ समूह द्वितीय, वर्षा भुसाल समूह तृतीय र रेनुका खत्री समूह सान्त्वना भएका छन्।

कक्षा ७ देखि १० सम्मको प्रतियोगितामा कक्षा १० की राधा राना समूह प्रथम, कक्षा ८ की सोनाम परियार समूह द्वितीय, कक्षा १० की दिपिका चौधरी समूह तृतीय र कक्षा ७ की गृष्मा विक समूह सान्त्वना भएका छन्।

कक्षा ११ र १२ मा ६ टोली, कक्षा ३ देखि ६ मा ४३ टोली तथा कक्षा ७ देखि १० मा १७ टोली सहभागी भएका थिए। प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुने समूहलाई क्रमशः ५ हजार, ३ हजार, २ हजार र १ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिएको थियो।

प्रतियोगिताको मूल्यांकनका लागि नृत्य निर्देशक संघ लुम्बिनी प्रदेशका अध्यक्ष लोकेन्द्र शाहको संयोजकत्वमा पूजा पाण्डे र कामना लम्साल सदस्य रहेको तीन सदस्यीय मूल्यांकन समिति गठन गरिएको थियो। कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका सदस्य हुमाकान्त लम्साल, प्रधानाध्यापक प्रेमबहादुर बस्नेत, नवीन विद्यार्थी क्लबका सदस्य अनिश पोखरेललगायतले तीज पर्व र संस्कृति संरक्षणमा विद्यार्थीको भूमिकाबारे धारणा राखेका थिए।

सहप्राध्यापक लिलाबल्लभ ढकालले तीज पर्वको ऐतिहासिक तथा सांस्कृतिक महत्व उजागर गर्दै विद्यार्थीले आयोजना गरेको कार्यक्रमले पर्वको मौलिकता र सांस्कृतिक पक्षलाई थप प्रवर्द्धन गर्न सहयोग पुग्ने बताए। उनले यस्ता कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिनुपर्नेमा जोड दिए।

नवीन विद्यार्थी क्लबकी अध्यक्ष अञ्जना ज्ञवालीको अध्यक्षता तथा सचिव राजन नेपाली र प्रबन्ध निर्देशक निष्मा चुदालीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा ईसीए इन्चार्ज नेत्र खरेल, मोतिलाल हरिजन, मिलन श्रेष्ठ, किशोर गौतम, विनिता थापा, शरिता दर्जी र देवराज चौधरीलगायतले सहजीकरण गरेका थिए।