२०८३ भाद्र ३०

नवीन स्पोर्ट्स क्लबको फुट्सलमा व्यवस्थापन समूह विजयी
  • लुम्बिनी खोज
  • २०८३ भाद्र २८, आईतवार १२:४० गते

सिभिल इन्जिनियरिङ समूह उपविजेता, जितेन न्यौपाने उत्कृष्ट खेलाडी

बुटवल, २८ भदौ ।

नवीन औद्योगिक कदरबहादुर रीता माध्यमिक विद्यालयको मातहतमा रहेको नवीन स्पोर्ट्स क्लबको आयोजनामा शिक्षक तथा कर्मचारीबीच आयोजित मैत्रीपूर्ण फुट्सल प्रतियोगिताको उपाधि व्यवस्थापन समूहले जितेको छ।

तिलोत्तमा नगरपालिकास्थित मोनालिसा फुट्सलमा शनिबार सम्पन्न प्रतियोगितामा व्यवस्थापन समूह, विज्ञान समूह, सिभिल इन्जिनियरिङ समूह र विद्यालयस्तरीय अन्य एक टोली गरी चार टोलीको सहभागिता रहेको थियो। फाइनल खेलमा व्यवस्थापन समूहले सिभिल इन्जिनियरिङ समूहलाई ४–० गोलले पराजित गर्दै विजेता बनेको हो। सिभिल इन्जिनियरिङ समूह उपविजेतामा सीमित भयो।

प्रतियोगितामा व्यवस्थापन समूहका जितेन न्यौपाने उत्कृष्ट खेलाडी घोषित भए। विजेता टोलीको नेतृत्व विद्यालयका सहायक प्रधानाध्यापक अर्जुन खनालले गरेका थिए भने उपविजेता सिभिल इन्जिनियरिङ समूहको नेतृत्व कक्षा ११ र १२ का संयोजक इन्जिनियर विमल अर्यालले गरेका थिए।

नवीन स्पोर्ट्स क्लबका संरक्षक तथा विद्यालयका प्रधानाध्यापक प्रेमबहादुर बस्नेतले विद्यालयमा खेलकुदको समग्र विकास गर्ने उद्देश्यले यसै वर्षदेखि बुटवल उपमहानगरपालिकामा नवीन स्पोर्ट्स क्लब दर्ता गरी पहिलो कार्यक्रमका रूपमा प्रतियोगिता आयोजना गरिएको बताए। उनले खेलकुदले शारीरिक सक्रियता बढाउनुका साथै मानसिक क्षमता, अनुशासन, सहकार्य र समूहगत कार्यशैलीको विकासमा महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गरे।

खेलकुदले सामाजिक सम्बन्ध विस्तार, स्वस्थ प्रतिस्पर्धाको भावना, नेतृत्व क्षमता तथा आत्मविश्वास विकास गर्नसमेत सहयोग पुर्‍याउने बताउँदै प्रधानाध्यापक बस्नेतले खेलकुदका गतिविधिलाई निरन्तर र सन्तुलित रूपमा अघि बढाउने बताए। उनले ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने नारालाई व्यवहारमै स्थापित गर्न विद्यालयले खेलकुदलाई प्राथमिकतामा राख्ने उल्लेख गरे।

प्रतियोगितापछि विजेता तथा उपविजेता टोलीका खेलाडीलाई प्रधानाध्यापक बस्नेत, विद्यालय व्यवस्थापन समितिका सदस्य हुमाकान्त लम्साल र सहायक प्रधानाध्यापक रोमनाथ घिमिरेले प्रमाणपत्र, पदक तथा टिसर्ट प्रदान गरे। नवीन स्पोर्ट्स क्लबका कार्यवाहक अध्यक्ष केशव भण्डारीको अध्यक्षता तथा क्लबका सचिव जुनियर इन्जिनियर विशाल रावतको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो।