२०८३ भाद्र २९

बाढीपीडितको पुनर्स्थापनामा स्रोतको कमी हुन नदिने प्रधानमन्त्रीको प्रतिबद्धता
  • लुम्बिनी खोज
  • २०८३ भाद्र २९, सोमबार १२:५१ गते

काठमाण्डौं २९ भदौ ।
प्रधानमन्त्री बालेन्द्र शाह(बालेन)ले रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछिको पुनर्स्थापनाका लागि स्रोतको कुनै पनि कमी हुन नदिने प्रतिबद्धता व्यक्त गरेका छन्।
प्रभावित क्षेत्रका जनप्रतिनिधिहरूसँग सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा छलफल गर्दै प्रधानमन्त्रीले पुनर्स्थापनाका लागि सरकारले आफूसँग भएको तथा दातृ निकायहरूले उपलब्ध गराएको स्रोतसाधन प्रयोग गर्ने तयारी गरिरहेको बताए।
छलफलका क्रममा उनले प्रभावित क्षेत्रका जनप्रतिनिधिहरूबाटै विपतका वेला संघ, प्रदेश र स्थानीय तहबिचको तत्कालै समन्वय भएको कुरा सुन्न पाउँदा खुसी लागेको बताए। उनले जनप्रतिनिधिहरूलाई लक्षित गर्दै भने, ‘यसअघि संघ, प्रदेश र स्थानीय तहबिच समन्वय हुँदैन भन्ने सुन्दै आएका थियौँ, तर यस विपतमा हामी एकै ठाउँमा उभियौँ, मिलेर काम गर्‍यौँ।’
प्रधानमन्त्री शाहले सरकार प्रभावित क्षेत्रमा जतिसक्दो चाँडो सडक सञ्जाल पुनर्स्थापना गर्ने गरी निरन्तर काम गरिरहेको उल्लेख गरे। उनले सडक सञ्जाल सञ्चालनमा आएसँगै प्रभावितहरू पूर्ववत् अवस्थातर्फ स्वतःस्फूर्त फर्कन सहज हुने विश्वास व्यक्त गरे।