२०८२ माघ २६

बुटवलमा सुकुम्वासीको पक्षमा मेयरको पहिलो निर्णय 
  • लुम्बिनी खोज
  • २०७९ जेष्ठ ९, सोमबार १७:०० गते
बुटवल ।
बुटवल उपमहानगरपालिकाका नवनिर्वाचित प्रमुख खेलराज पाण्डेयले अब्यवस्थीत क्षेत्रमा वसोवास गरेकाहरुलाई लगत संकलनका आधारमा बसोवास प्रमाणित निस्सा उपलब्ध गराउने टिपपणी सदर गरेका छन ।
सोमवार पदभार ग्रहण गर्दै उनले सुकुम्वासी तथा अब्यवस्थीत बसोवासीका पक्षमा त्यस्तो निर्णय गरेका हुन । ‘भुमिहिन, सुकुम्वासीको समस्या हल गर्न अल्पकालीन उपायका रुपमा तथ्यांक संकलन गर्ने र नगर परिषदबाट निर्णय गरी बसोबासका आधारमा थोरै शुल्क लिएर बसोवासको प्रमाणपत्र दिने छौं, पदभार ग्रहणपछि उनले भने । यसबाट वार्डबाटै नामसारीको काम हुने र कसैले पनि त्यहा वसोवास गर्नेलाई दुःख दिन नपाउने अवस्था सिर्जना हुने उनले बताए । पाण्डेयले भने, ‘दीर्घकालीनरुपमा जग्गाधनी प्रमाणपत्र वितरणको लागि राष्ट्रिय भूमि आयोगसंग सहकार्य गर्नेछौं ।’ पाण्डेयले बुटवलको मुख्य सडक खण्ड चौराहा–गोलपार्क सडक, तिनाउ दानव कोरिडोर, मोतीपुर औद्योगिक क्षेत्र र ज्योतिनगर पहिरो प्रभावित नागरिकका समस्या समाधान, गृहिणी र विद्यार्थी रोजगार कार्यक्रम, नयाँ अटो भिलेज र कृषि थोक बजार केन्द्र निर्माणलाई प्राथमिकतामा रोखर काम गर्ने बताए ।
पाण्डेयले जनताले आफूलाई दिएको विश्वास पाँच वर्षसम्म कायम राख्ने प्रतिवद्धता जनाए । २०७४ को निर्वाचनमा एमालेका शिवराज सुवेदीसँग पराजित भएका पाण्डेय यसपटक एमालेका बाबुराम भट्टराईलाई सात हजार ५३१ मतान्तरले पराजित गरेर निर्वाचित भएका हुन् । सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका बुटवल नगरसभापति समेत रहेका पाण्डेय बुटवलको निर्वाचनमा भिडेका थिए । बुटवलमा उपमेयरमा भने नेकपा एमालेकी सावित्रादेवी अर्याल निर्वाचित भएकी छन् । १९ वडा रहेको बुटवलमा कांग्रेसले ११, एमालेले ५ तथा माओवादी केन्द्र, एकीकृत समाजवादी र स्वतन्त्रले एक–एक वडामा विजय प्राप्त गरेका छन् ।