२०८२ माघ २६

रुपन्देहीको रोहिणी पुलमा बस दुर्घटना, नौ जनाको मृत्यु
  • लुम्बिनी खोज
  • २०७९ जेष्ठ २२, आईतवार ०८:२० गते

बुटवल ।
पुर्ब जनकपुरबाट भैरहवा आउँदै गरेको यात्रुबाहक बस रुपन्देहीको भैरहवा–परासी सडकखण्डमा पर्ने रुपन्देहीको रोहिणी पुलमा दुर्घटना हुँदा नौ जनाको मृत्यु भएको छ । मृत्यु भएकामध्ये पाँचजनाको सनाखत भएको छ । सनाखत हुनेमा रुपन्देही ओमसतियाका राजेन्द्र पाण्डे, रुपन्देही तिलोत्तमा–२ का विष्णु पौडेल, रौतहट चपुरका दिनेश दास, रुपन्देही कालिकानगरका कृष्णप्रसाद बस्याल र भारतका अरविन्द्र शर्मा छन् । दुर्घटनामा २३ जना घाइते भएका छन । प्रहरीले चालक निदाएर दुर्घटना भएको प्रारम्भिक अनुमान गरेको छ । बसमा सवार ३३ जनामध्ये २५ जना पुरुष, ६ महिला र दुई बालिका थिए ।  घाइतेको भैरहवास्थित भीम अस्पताल र मेडिकल कलेजमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।
आइतबार बिहान करिब साढे ४ बजे बस रोहिणी पुलबाट खोलामा खसेको थियो । दुर्घटनामा परी पाँचजनाको मेडिकल कलेज भैरहवामा र चारजनाको भीम अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । जनकपुरबाट भैरहवातर्फ आउँदै गरेको लु।२ख ३८४१ नम्बरको बस रोहिणी नदीमा खसेको हो । चालक निदाएकाले बस दुर्घटनामा परेको हुन सक्ने प्रहरीले प्रारम्भिक अनुमान गरेको छ । बाकी मृतकको सनाखत हुन सकेको छैन ।

यसै बिच गृहमन्त्री बालकृष्ण खाणले जनकपुरबाट भैरहवा जाँदै गरेको यात्रुबाहक बस आज बिहान रुपन्देहीको रोहिणी पुलबाट खसेर भएको दुर्घटनाका घाइतेको शीघ्र स्वास्थ्योपचारमा ध्यान दिन सम्बन्धित निकायलाई निर्देशन दिएका छन् । गृहमन्त्री खाणले रुपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारी, लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक नलप्रसाद उपाध्याय, रुपन्देही प्रहरी प्रमुख प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीलाई टेलिफोन गरी घाइतेलाई भरपर्दो उपचारको व्यवस्था गर्न निर्देशन दिएका हुन् । गृहमन्त्री खाणले घाइतेहरूको उपचार भइरहेको भीम अस्पतालका अध्यक्ष कुलप्रसाद न्यौपाने र मेडिकल सुपरिटेन्डेन्ट डा। शकुन्तला गुप्ता तथा युनिभर्सल मेडिकल कलेजका प्रशासन प्रमुख तेज केसीलाई सम्पर्क गरी घाइतेहरूको यथाशक्य चाडो उपचारको व्यवस्था गर्न आग्रह गरेको बताइएको छ ।