२०८२ बैशाख ८
बुटवल ।
नेपालको चिया क्षेत्रमा काम गर्दै आएको सरकारी निकाय राष्ट्रिय चिया तथा कफी विकास बोर्डले बुटवलमा बृहत राष्ट्रिय चिया प्रदर्शनी आयोजना गरेको छ । चिया क्षेत्रमा क्रियाशील विभिन्न संघ÷संस्थाहरु, एशोसिएशन लगायतसँगको सहकार्यमा कफी विकास बोर्डले असार ३ र ४ गते (शुक्रवार र शनिवार) बृहत चिया प्रदर्शनी गर्न लागेको हो ।
चिया प्रदर्शनी बुटवल मिलनचोकस्थित सिद्दार्थ कटेजमा आयोजना हुने बोर्डका कार्यकारी निर्देशक विष्णु प्रसाद भट्टराईले जानकारी दिए । “बुटवलमा नेपाली चियाको राष्ट्रिय प्रदर्शनीका साथै नेपालमा उत्पादित बिभिन्न ब्राण्डको चियाको निःशुल्क स्वाद लिन पाइने छ”–उनले भने । “स्वदेशमा उत्पादित चियाको सेवन गरौँ, स्वस्थ, समृद्ध र आत्मनिर्भर बनौं” भन्ने मूल नाराका साथ नेपालमा उत्पादित चियाको देशभित्रै खपत बढाउने र यसका फाइदाहरुको विषयमा जानकारी दिने, सही चियाको सही रुपमा सेवन गर्न चिया संस्कृतिको विकास गर्ने उद्देश्यले बृहत राष्ट्रिय चिया प्रदर्शनी तथा टि टेस्टिङ् कार्यक्रम आयोजना गरिएको हो । कार्यकारी निर्देशक भट्टराईका अनुसार कार्यक्रममा विभिन्न चियाका ब्राण्डहरुसहित २५ वटा स्टलहरु रहने छन । राष्ट्रिय चिया प्रदर्शनी कार्यक्रममा नेपालको चियाका मुख्य जिल्लाहरु झापा, इलाम, धनकुट्टादेखि पश्चिमसम्म उत्पादित चियाको प्रदर्शन हुनेछ । नेपालको चिया उत्पादन तथा बजारीकरणमा लामो समयदेखि कार्य गर्दै आएका निजी क्षेत्रका नेपाल टि एशोसिएशन, हिमालयन अर्थोडक्स टि प्रोड्युसर एशोसिएशन, नेपाल टि प्रोड्युसर एशोसिएशन, केन्द्रीय चिया सहकारी संघ, स्पेसियालिटि टि एशोसिएशन नेपालमा आवद्ध चियाका व्यवसायीहरुबाट उत्पादित चियाका ब्राण्डहरुको प्रदर्शनीमा मुख्य रुपमा सहभागिता रहने छ । कार्यक्रममा १ सय भन्दा बढी चिया व्यवसायीहरुको सहभागिता रहने कार्यकारी निर्देशक भट्टराईले जानाकारी दिए । नेपाली चिया गुणस्तर र स्वादका हिसाबले विश्वमै उत्कृष्ट मानिन्छ ।