२०८२ माघ २६

जबजको लोकप्रियता बढ्दोः पौडेल
  • लुम्बिनी खोज
  • २०७९ असार १३, सोमबार १७:१६ गते

बुटवल ।
एमाले उपाध्यक्ष विष्णु पौडेलले जनताको बहुदलीय जनवाद र अभिव्यक्ति स्वतन्त्रताबीच अन्योन्यार्शित सम्बन्ध रहेको बताएका छन् । उनले जनताको बहुदलीय जनवाद मान्ने एमाले सधै अभिव्यक्ति स्वतन्त्रताको पक्षमा रहेको बताए ।
७१ औं मदन जयन्तीका अवसरमा प्रेस चौतारी नेपाल रुपन्देहीले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले अभिव्यक्ति स्वतन्त्रतालाई पार्टी पंक्ति र नागरिकबीच प्रयोगमा देखाउने बताए ।
“मदनले नागरिकलाई अभिव्यक्ति स्वतन्त्रता दिनुपर्छ र प्रतिष्पर्धाका आधारमा समाजमा श्रेष्ठता हासिल गर्न सकिन्छ भन्ने मूल धारणा प्रतिपादन गर्नुभएको थियो । उहाँले शिक्षा र स्वास्थ्य सबै नागरिकका लागि सर्वशुलभ बनाउनुपर्छ र लैंगिक र सामाजिक समावेशीकरणका मुद्धामा काम गर्नुपर्छ भन्ने विचार प्रतिपाद गर्नुभएको थियो”–एमाले उपाध्यक्ष पौडेलले भने । जनताको बहुदलीय जनवादका अलगअलग विशेषतालाई नागरिकबीच पु¥याउन आफू निरन्तर लागेको उनले बताए ।
विचार, वर्ग संघर्ष र व्यवहारिक प्रयोगबाट निर्माण हुने बताउँदै उपाध्यक्ष पौडेलले मदन भण्डारीले पनि नागरिकको समस्या बुझेर त्यसको निराकरणका लागि जनताको बहुदलीय जनवाद ल्याएकाले त्यसको लोकप्रियता बढ्दै गएको बताए । कम्युनिष्टहरु पनि आवधिक निर्वाचनमा जाने र नागरिकबाट अनुमोदित हुनुपर्छ भन्ने जवजको धारणा रहेको बताउँदै उनले हरेक कुरामा पार्टी अनुमोदित हुने अभ्यास गरिरहेको बताए ।
पौडेलले मदन पद र आलोचनाको वास्ता नभएको तर आफ्नो विचार र निश्कर्षको एकदमै विश्वासी र परिपक्व रहेको बताए । लुम्बिनी प्रदेशका एमाले प्रचार विभाग प्रमुख डिआर घिमिरेले अभिव्यक्ति स्वतन्त्रता र मदनका विचारबारे आफ्ना धारणा राखेका थिए ।
प्रेस चौतारी रुपन्देहीका अध्यक्ष लक्ष्मण पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रीय सदस्य अमृता अनमोल, लेखक ऋषि आजाद, सहप्राध्यापक लिलावल्लभ ढकाल, आर्थिक अनुसन्धान केन्द्रका अध्यक्ष तथा विश्लेषक हुमराज भुसाल, चौतारीका उपाध्यक्षद्वय वीपी गौतम, भगवति पाण्डे लगायतले जनताको बहुदलीय जनवादे अंगीकार गरेका नीति र विचारलाई सबैले व्यवहारमा अनुसरण गर्नुपर्ने बताएका थिए ।