२०८१ माघ ६

बुटवल कोभिड विरुद्धको पूर्ण खोप सुनिश्चित उपमहानगर 
  • लुम्बिनी खोज
  • २०७९ असार २८, मंगलवार ११:१४ गते
बुटवल ।
रुपन्देहीको बुटवल उपमहानगरपालिकालाई कोभिड विरुद्धको पूर्ण खोप सुनिश्चित उपमहानगर घोषणा गरिएको छ । सोमबार बुटवलमा एक कार्यक्रमका बीच १२ वर्ष माथिका उमेर समुहको कोभिड १९ विरुद्धको पूर्ण खोप सुनिश्चितता उपमहानगर तथा नियमित खोपको दिगोपना सुनिश्चितता घोषणा गरिएको हो । कार्यक्रममा वोल्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले प्रदेश सरकारले स्वास्थ्य र शिक्षालाई प्राथमिकतामा राखेको बताए । उनले स्वास्थ्य र शिक्षामा स्थानीय सरकारसँग सहकार्य र समन्वय गरी कार्यक्रम सञ्चालन गर्ने बताए । उनले कोभिड १९ महामारी नियन्त्रणमा स्थानीय सरकारको भूमिका प्रशंसनीय रहेको भन्दै आगामी दिनमा प्रदेश सरकारले स्वास्थ्यका अधिकांश कार्यक्रम स्थानीय सरकारसँग सहकार्यमै सञ्चालन गर्ने बताए ।
स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण मन्त्री इन्द्रजित थारुले आगामी समयमा हुनसक्ने स्वास्थ्य चुनौतीको सामना गर्नका लागि प्रदेश सरकारले स्थानीय सरकारसँग सहकार्य गर्दै कार्यक्रमहरु सञ्चालन गर्ने बताए । बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डे, उपप्रमुख सावित्रादेवी अर्याल, प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डे, उपमहानगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत मित्रमणि खनाल, जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीका गौरव ढकाल, बुटवल उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख युवराज पाण्डेलगायतले स्वास्थ्य क्षेत्रका बारेमा चर्चा गरेका थिए ।