२०८२ कार्तिक २८
बुटवल ।
बुटवलमा दोस्रो संस्करणमा सञ्चालन गर्न लागिएको विजनेश इन्कुवेशन (नवउद्यमशाला) कार्यक्रमको बारेमा जानकारीमुलक सेमिनार गरिएको छ । बुटवल उद्योग वाणिज्य संघ रुपन्देही, अन्तरप्रेरणा, लुम्बिनी वाणिज्य क्याम्पस र युवा उद्यमी मञ्च रुपन्देहीको सहकार्यमा दोस्रो संस्करणको विजनेश इन्कुवेशन कार्यक्रमको तयारी गरिएको छ । सो कार्यक्रमका बारेमा स्थानीय तथा प्रदेश सरकारलाई जानकारी गराउने उद्देश्यले मंगलबार समुदायमा आधारित इन्कुवेशन सम्बन्धि सेमिनार गरिएको हो ।
कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेश योजना आयोगका उपाध्यक्ष बामदेव क्षेत्रीले कृषि तथा उद्योगमा सामुहिक लगानीमा जोड दिए । उनले मुलुकको अर्थतन्त्रलाई सुदृढ गर्नको लागि औद्योगिक विकास र औद्योगिक विकासको लागि वातावरण बनाउने काममा प्रदेश सरकार प्रतिवद्ध रहेको भनाई राखेका थिए । उद्योग सञ्चालन गर्ने भन्दा पनि तयारी बस्तुको व्यापारमा जोड दिएकै कारण मुलुकको अर्थतन्त्र खस्किँदै गएको उनको भनाई छ ।
त्यस्तै बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले उद्यमशिलता विकासको लागि नगरपालिकाले पनि विभिन्न प्रकारका स्वरोजगारमुलक कार्यक्रम ल्याएको जानकारी गराउँदै ती कार्यक्रमलाई कसरी अगाडि बढाउन सकिन्छ र नीजि क्षेत्रसंग कसरी साझेदारी गर्न सकिन्छ सुझाव दिन आग्रह गरे ।
कार्यक्रममा बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष उज्ज्वलप्रसाद कसजूले सीप, पुँजी र आईडियाको समायोजनबाट नवउद्यमी तथा स्टार्ट अपहरुलाई नयाँ उर्जा प्रदान गर्नको लागि यो कार्यक्रम सञ्चालन गर्न लागिएको जानकारी गराएका थिए । उनले संघ, अन्तरप्रेरणा, लुम्बिनी वाणिज्य क्याम्पस र युवा उद्यमी मञ्च रुपन्देहीको सहकार्यमा पहिलो चरणमा सञ्चालन गरिएको कार्यक्रम निकै फलदायी भएको पनि जानकारी गराए । उनले उद्यमशिलता विकासमा सहयोग गर्न प्रदेश तथा स्थानीय सरकारसंग आग्रह गरे ।
त्यस अवसरमा बोल्दै लुम्बिनी प्रदेशका उद्योग पर्यटन सचिव खिमराज सुवेदीले उद्यमशिलता विकास सम्बन्धि कार्यक्रम मन्त्रालयसंग पनि रहेको र नीजि क्षेत्रसंग साझेदारी र हातेमालो गर्न तयार रहेको भनाई राखेका थिए ।
कार्यक्रममा बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीका पूर्व अध्यक्ष ज्ञानेन्द्र कसजू, युएनडिपिका प्रतिनीधि सुदिप अर्याल, बैंकर एशोसियसन लुम्बिनीका संयोजक तथा नेपाल बैंकका लुम्बिनी प्रदेश प्रमुख लेखनाथ भुसाल, लुम्बिनी वाणिज्य क्याम्पस बुटवलका क्याम्पस प्रमुख डा. ताराप्रसाद उपाध्याय नेपालमा उद्योग सञ्चालनको राम्रो सम्भावना भएपनि त्यस किसिमको वातावरण नुहँदा युवाहरु अन्यौलमा परेको बताएका थिए । उनीहरुले युवाहरुलाई उद्योगसंग जोड्नको लागि विजनेश इन्कुवेश कार्यक्रम फलदायी हुने विश्वास पनि व्यक्त गरे ।
त्यस अवसरमा पुम नेदरल्याण्डका एक्सपर्ट पिम डि बक्स र तन्रप्रेरणाकी श्रद्धा शाक्यले विजनेश इन्कुवेशनको अवधारणा तथा यसले उद्यमशिलता विकासमा पार्ने प्रभावका बारेमा अवधारणा प्रस्तुत गरेका थिए । कार्यक्रम संघका वरिष्ठ उपाध्यक्ष दिनेशप्रसाद श्रेष्ठको धन्यवाद तथा महासचिव बिमलराज भट्टराईको सञ्चालनमा भएको थियो ।