२०८२ कार्तिक २८
बुटवल ।
आन्दोलनमा उत्रिएका कर्मचारीहरुले मंगलवार जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा धर्ना दिएका छन । संघीय निजामति सेवा ऐनको मस्यौदा कर्मचारीको हितमा नभएको तथा तलब वृद्धि असमान भएको भन्दै कर्मचारी आन्दोलनमा उत्रिएका छन ।
संघीय निजामति सेवा ऐनमा राप अन कर्मचारीको वृति विकासका अवसर वन्द गर्ने गरी मस्यौदा सार्वजनिक भएको भन्दै कर्मचारीहरुले विरोध जनाएका छन ।
असमान तलव वृद्धिलाई समान गराउनुपर्ने, राजपत्राकिंत र राप अन कर्मचारीहरुलाई समान प्रतिशतमा तलब वृद्धि गर्नुपर्ने माग गर्दै रुपन्देहीका संघीय कार्यलयहरुमा कार्यरत नासु, खरिदार साथै प्रदेश तथा स्थानियमा कार्यरत चौथो , पाचौं, छैठौं तहमा कार्यरत कर्मचारीहरुले जिल्ला प्रशासन कार्यालयमा धर्ना दिएका हुन ।
धर्नापछि कोण सभामा वोल्दै कर्मचारी युनियनका केन्द्रीय उप महासचिव इन्दु शर्माले तत्काल कर्मचारी मैत्री संघीय निजामति सेवा ऐन जारी गर्नुपर्ने बताए । उनले कानुन वमोजिम तलब भत्ता पुनरावलोकन समिति गठन गरी कार्यालय सहयोगी देखि मुख्य सचिव सम्मको तह अनुसारको तलब भत्ता निर्धारण गर्न माग गरे । सो अनुसार काम नभए कडा संघर्षका थप कार्यक्रम तय गर्ने चेतावनी पनि उनले दिए । कार्यक्रममा रुपन्देहीमा कार्यरत करिब ५ सय निजामति कर्मचारीहरुको सहभागिता रहेको थियो ।