२०८२ माघ २५
बुटवल ।
नेकपा एकीकृत समाजवादीले गठबन्धनमा रुपन्देहीको प्रतिनिधिसभा निर्वाचन क्षेत्र न। २ लाई बटमलाइन बनाउने निर्णय गरेको छ । नेकपा एकीकृत समाजवादी रुपन्देहीको बिहीबार बसेको जिल्ला सचिवालय बैठकले गठबन्धनमा प्रतिनिधिसभातर्फ २ नम्बर र प्रदेश सभातर्फ ३ वटा निर्वाचन क्षेत्र दाबी गरेर अगाडि बढ्ने निर्णय गरेको हो ।
केन्द्रीय राजनीतिमा भएको सहमतिलाई रुपन्देहीमा पूर्ण रूपमा कार्यान्वयन गर्नेसमेत सचिवालय बैठकले निर्णय गरेको जिल्ला अध्यक्ष अविराम विश्वकर्माले जानकारी दिए ।
बैठकले निर्वाचनमा गठबन्धनका उम्मेदवारलाई जिताउने गरी लाग्ने र आवश्यक परे एक्लै पनि निर्वाचन लड्न सक्ने गरी निर्वाचनको तयारीमा जुटन कार्यकर्तालाई निर्देशन दिएको छ । यसअघि रुपन्देहीका प्रतिनिधिसभाका पाँच र प्रदेश सभातर्फका १० वटा निर्वाचन क्षेत्रमा नामहरू सिफारिस गरिसकेको छ ।
रुपन्देही निर्वाचन क्षेत्र नं। २ मा पार्टीका केन्द्रीय सदस्य एवं रुपन्देही इन्चार्ज राजु गुरुङलाई एकल सिफारिस गरिसकेको छ । बैठकमा बोल्दै केन्द्रीय सदस्य गुरुङले आफूहरूले स्वाभाविक दाबी गरेको बताउँदै गठबन्धनबाट आफू नै उम्मेदवार हुने बताए । उनले आफूहरूले मात्रै बुटवलवासी र रुपन्देहीका जनताको भावनाको सम्बोधन गर्न सक्ने भन्दै निर्वाचनमा खटिनसमेत कार्यकर्तालाई आग्रह गरे ।संविधान, लोकतन्त्र र गणतन्त्रमाथि अझै खतरा देखिएकाले गठबन्धनबाट आफूहरू चुनावी मैदानमा आउन लागेको बताउँदै कांग्रेस इमानदार नभए एक्लै पनि चुनाव लड्न तागत एकीकृत समाजवादीले राख्ने जिकिर गरे ।
बैठकमा नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य सिद्धिचरण भट्टराईले मंसिर ४ को चुनाव परिवर्तनकारी र संविधान मास्नेका विरुद्धमा हुने बताए । त्यस्तै, बैठकमा पार्टीका केन्द्रीय सदस्य उमा काफ्ले, अर्का केन्द्रीय सदस्य भगवती घिमिरे, प्रदेश कमिटीका पदाधिकारी र सदस्य तथा जिल्लाका पदाधिकारीहरूको सहभागिता रहेको जिल्ला सचिव सरिता श्रीसले बताइन । बैठकले निर्वाचन क्षेत्रअनुसार चुनावी रणनीति र जनताको बीचमा पुग्ने कार्यक्रम लिएर जाने निर्णय भएको जिल्ला उपाध्यक्ष श्रीराम यादवले बताए।
एमाले परित्याग गरी समाजवादी प्रवेश
नेकपा एमालेनिकट राष्ट्रिय युवा संघ नेपाल, ओमसतिया गाउँ कमिटी रुपन्देहीका अध्यक्ष धनबहादुर थापाले एमाले परित्याग गरेका छन् । बिहीबार थापाले एमाले परित्याग गरी नेकपा एकीकृत समाजवादीमा समाहित भएका हुन् ।
पार्टीका केन्द्रीय सदस्य तथा रुपन्देही इन्चार्ज राजु गुरुङले पार्टीमा स्वागत गरे । एमाले वैचारिक रूपमा गलत बाटोमा लागेकाले एमाले परित्याग गरेको थापाले बताए ।