२०८२ कार्तिक २७
बुटवल ।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले तरलतासग जोडिएका समस्या रहेपनि अर्थतन्त्र दुर्घटनामा फस्ने खालको नरहेको बताएका छन । अहिले देखिएको तरलता अभावलगायतका समस्याबाट चाडै पार पाउने विश्वास समेत उनले ब्यक्त गरेका छन । उनले आर्थिक क्षेत्रका गंभीर प्रकारका समस्या समाधान गर्न महासंघ विज्ञहरुसग छलफल गर्दै नीजि क्षेत्रको हितमा काम गर्ने गरी अगाडी बढिरहेको समेत बताएका छन ।
सोमवार बुटवलमा बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको ६९ औं साधारण सभालाई सम्वोधन गर्दै उनले तरलतासग जोडिएका समस्याहरु रहेपनि मुलुक श्रीलंकाको बाटोमा नरहेको बताए । नेपाल श्रीलंकाको नजिक नरहेको चर्चा गर्दै श्रीलंका, पाकिस्तान तथा वंगलादेश भन्ने शब्दले मनोवल गिराउने काम भएको धारणा राखे । अहिले हामी समस्यामा छौं, तर दुर्घटनामा फस्ने छैनौं भन्दै उनले नेपालको अर्थतन्त्र कमजोर अवस्था तर्फ नरहेको उनले बताए । कामले समस्या समाधान गर्ने गरी महासंघ जिम्मेवार ढंगले अगाडी बढेको समेत अध्यक्ष गोल्छाले बताए ।
महासंघका पूर्व अध्यक्ष चण्डीराज ढकालले निजी क्षत्रको प्रवद्र्धन र विकास हुन नसके देशको अर्थतन्त्र विग्रिदै जाने धारणा राख्दै यस तर्फ समयमै ध्यान दिनुपर्ने बताए । महासंघ जिल्ला नगर उपाध्यक्ष दिनेश श्रेष्ठले सरकारले स्थायित्व पाउने खालका नीति बनाउनुपर्ने धारणा राखे ।
बस्तुगत उपाध्यक्ष अञ्जन श्रेष्ठ, एशोसियट उपाध्यक्ष रामचन्द्र सांघाईले आर्थिक क्षेत्रका बारेमा धारणा राखेका थिए ।
बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष उज्ज्वलप्रसाद कसजूले खुला सिमानाकाका कारण यस क्षेत्रका व्यवसायी मारमा परेको बताए । चालु पूजी कर्जा मार्ग निर्देशन अव्यहारिक रहेको, तरलता अभाव, महंगी लगायतका समस्या राख्दै उनले बुटवलमा समयमा सडक निर्माणको काम नसकिदा यहाका व्यवसायी मारमा परेको समेत बताए ।
बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेय, बुटवल उपमहानगरपालिकाकी उपप्रमुख सावित्रादेवी अर्यालले व्यवसायिक तथा औद्योगिक विकासको लागि बुटवल उपमहानगरपालिका सहकार्यको लागि तयार रहेको धारणा राखे ।
रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले उद्योगी व्यसायीहरुले आफ्ना हक अधिकारसँगै उपभोक्ता हितमा पनि उत्तिकै ध्यान दिन आग्रह गरे । नेपाल उद्योग वाणिज्य महासंघमा निवर्तमान उपाध्यक्ष उमेश श्रेष्ठले महासंघले साना ठूला सबै उद्योगी व्यवसायीका समस्या समाधान गर्न ध्यान दिनुपर्ने धारणा राखे ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेश अध्यक्ष कृष्णप्रसाद शर्मा, थाहा उद्योग वाणिज्य संघ मकवानपुरका अध्यक्ष कविराम खत्री, नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोख्रेल, मानव सेवा आश्रमका अध्यक्ष रामजी अधिकारी, बुटवल उवासंघका वरिष्ठ उपाध्यक्ष दिनेशप्रसाद श्रेष्ठ, महासचिव बिमलराज भट्टराईलगायतले आर्थिक क्षेत्रका बारेमा चर्चा गरेका थिए ।
अधिकारी र मास्केलाई सम्मान
कार्यक्रममा मानव सेवा आश्रमका अध्यक्ष रामजी अधिकारी र बास्केटवल खेलाडी प्रसंगध्वज मास्केलाई सम्मान गरिएको छ । उनीहरुलाई महासंघ अध्यक्ष शेखर गोल्छा र बुटवल उवासंघका अध्यक्ष उज्ज्वलप्रसाद कसजूले सम्मान पत्र सहित दोसल्ला माला लगाएर सम्मान गरेका थिए ।
त्यसै अवसरमा बुटवल उपमहानगरपालिका वडा नं. १ मा रहेको जलविनायक गणेश मन्दिर र द आर्ट अफ लिभिङ बुटवल सेन्टरलाई आर्थिक सहयोग गरिएको थियो । मन्दिरको सञ्चालन व्यवस्थापन र द आर्ट अफ लिभिङ बुटवल सेन्टरलाई भवन निर्माणको लागि जनही १ लाख १ हजार रुपैया आर्थिक सहयोग गरिएको हो ।