२०८१ आश्विन ८

बैंकले बृद्धि गरेको व्याज नघटाए कडा आन्दोलनको चेतावनी
  • लुम्बिनी खोज
  • २०७९ आश्विन ३१, सोमबार १०:०९ गते

बुटवल ।
बैंक तथा वित्तीय संस्थाहरुले व्याज बढाएको विरोधमा रुपन्देहीका उद्योगी व्यवसायीहरुले प्रदर्शन गरेका छन् । बैंक तथा वित्तीय संस्थाहरु आफू मोटाउने र उद्योगी व्यवसायीलाई समाप्त पार्ने गरी व्याजदरमा चर्को बृद्धि गरेको भन्दै रुपन्देही क्रियाशिल उद्योग वाणिज्य संघहरुले सोमबार बुटवलमा विरोध प्रदर्शन गरेका हुन् ।

बुटवल उद्योग वाणिज्य संघ, सिद्धार्थ उद्योग वाणिज्य संघ, तिलोत्तमा उद्योग वाणिज्य संघ, देवदह उद्योग वाणिज्य संघ र सैनामैना उद्योग वाणिज्य संघको संयुक्त आयोजनामा विरोध प्रदर्शन गरिएको बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीका महासचिव बिमलराज भट्टराईले बताए । ‘बैंक तथा वित्तीय संस्थाहरुलाई सचेत गराउनको लागि सांकेतिक कार्यक्रम मात्रै हो ।’ महासचिव भट्टराईले भने–‘हाम्रो माग सुनुवाई भएन भने अझै ससक्त आन्दोलन चर्काउने छौं ।’

बुटवल उद्योग वाणिज्य संघको सचिवालय बालमन्दिरबाट सुरु भएको विरोध प्रदर्शन अमरपथ, बीपि चोक, राममन्दिर लाईन हुँदै जेसीज चोकमा पुगेर समापन गरिएको थियो । विरोध प्रदर्शनको समापन कार्यक्रममा बोल्दै बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष उज्ज्वलप्रसाद कसजूले कोभिड–१९ को महामारीबाट थलिएका उद्योगी व्यवसायीहरु तरलता अभावले झनै पिल्सिनु परेको र त्यसमाथी बैंक तथा वित्तीय संस्थाहरुले महिनै पिच्छे व्याजदर बृद्धि गर्दै जाँदा भएका उद्योग, व्यापार, व्यवसाय पनि बन्द गर्नुपर्ने स्थिती आएको बताए । ‘बैंक तथा वित्तीय संस्थाहरुलाई राष्ट्र बैंकले नियन्त्रणमा राख्नु पर्ने हो ।’ उनले भने–‘राष्ट्र बैंकले लगाम छोडिदिँदा बैंक तथा वित्तीय संस्थाहरुमा मोनोपली भएको छ ।’ जसका कारण ८÷९ प्रतिशतमा रहेको बैंकको व्याजदर बृद्धि भएर अहिले १५÷१६ प्रतिशत सम्म पुगिसकेको उनको भनाई छ ।

यस्तो अवस्थामा उद्योगी व्यवसायीलाई बचाउनको लागि राहत दिनुपर्नेमा झनै च्याप्ने काम भएको बताउँदै उनले आफूहरुको माग तत्काल सुनुवाई गर्न आग्रह गरे । मुलुकको अर्थतन्त्रको मेरुदण्डको रुपमा रहेको उद्योग व्यवसायलाई बचाउनको लागि बैंकको व्याजदर सिंगल डिजिटमा झार्नुपर्ने, अहिलेको आर्थिक संकटका कारण उद्योगी व्यवसायी किस्ता व्याज तिर्न नसक्ने अवस्थामा रहेकाले असोज मसान्तमा बुझाउनु पर्ने किस्ता व्याज तिर्ने समयावधि थप गर्नुपर्ने उनीहरुको माग छ ।

त्यस्तै बैंक तथा वित्तीय संस्थाहरुले लिने प्रिमियम दर १ प्रतिशत भन्दा बढी बनाउन नहुने, बैंकले सुरुमा लगानी गरेको व्याजदर कम्तिमा १ वर्षसम्म ऋणीको सहमति विना बढाउन नपाईने, चालु पँुजीको नियम तत्कालै लागु गर्दा उद्योगी व्यवसायीहरुलाई कठिन हुने भएकाले कम्तिमा आर्थिक अवस्था सहज भएपछि लागु गर्न माग गरिएको छ ।

मुलुकको अर्थतन्त्रमा ७० प्रतिशत भन्दा बढी योगदान गरेको नीजि क्षेत्रलाई राहत दिई आर्थिक गतिबिधिलाई अझै बढी चलायमान बनाउनु पर्नेमा बैंक तथा वित्तीय संस्थाहरुले गरेको व्याजदरको चरम बृद्धिले सञ्चालन भईरहेका उद्योग व्यापार व्यवसाय बन्द गर्नुपर्ने स्थिति आएको सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष भिष्मप्रसाद न्यौपानेले बताए । उनले उद्योगी व्यवसायीहरुले पटक पटक आग्रह गर्दा पनि राष्ट्र बैंकले सुनुवाई नगरेको भन्दै व्यवसायीको विनम्रतालाई सुनिँदैन भने उद्योगी व्यवसाय थप ससक्त आन्दोलनमा उत्रिन बाध्य हुने उनको चेताबनी छ ।