२०८२ माघ २४
रुपन्देही क्षेत्र नं २ मा उम्मेदवारहरु घरदैलोमा व्यस्त
बुटवल ।
रुपन्देही निर्वाचन क्षेत्र नं २ का वाम लोकतान्त्रिक गठवन्धनका साझा उम्मेदवारहरुको घरदैलो जारी छ । सबै उम्मेदवार आ आफ्नो निर्वाचन क्षेत्रमा घरदैलोमा खटिएका छन । प्रतिनिनिधि सभा सदस्य पदका उम्मेदवार केशव बहादुर थापा (सुर्यवंशी) तिलोत्तमा नगरपालिका ४ डिङगरनगर र बुटवल ३ का विभिन्न वडामा घरदैलो गरि मतदातासंग भोट मागेका छन ।
बुटवल –३ को ज्योतिनगर, चिडियाखोला र गोलपार्क क्षेत्रमा घरदैलो कार्यक्रम सम्पन्न गरिएको प्रचार प्रसार समितिले जनाएको छ । ज्योतिनगरका पहिरो प्रभावितहरुले पहिरोको नियन्त्रणको लागि दिर्घकालिन योजना बनाउन आग्रह गरेका थिए । प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार थापा र प्रदेश सभा सदस्य पदका उम्मेदवार वामदेव क्षेत्रीले पहिरो प्रभावितहरुको समस्या समाधान गठवन्धन सरकारले मात्र गर्न सक्ने बताउदै चुनावमा मात्र होईन अन्य समयमा पनि जनताको साथसंगै रहेको बताएका थिए ।

प्रदेश सभा सदस्य पदका उम्मेदवार क्षेत्रीले पहिरो नियन्त्रण गरि जनताको जिउधनको शुरक्षाको लागि स्थानीय, प्रदेश र संघीयसरकारसंग समन्वय गरि काम भईरहेकाले विश्वस्त रहन आग्रह गरे । गठवन्धनका साझा उम्मेदवारहरुलाई जिताउन आग्रह गदै आफुहरु नै जनताको सच्चा प्रतिनिधि बन्ने विश्वास दिलाएका थिए ।
त्यसैगरी प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार थापा, निर्वाचन क्षेत्र नं २(१) प्रदेश सभा सदस्य पदका उम्मेदवार दिर्घबहादुर केसी कुमारले संयुक्त रुपमा घरदैलो कार्यक्रम गरेका छन । तिलोत्तमा ४ डिङगरनगर, सिमानगर, सुनौलोनगर श्रृजना नगर लगायतका स्थानमा घरदैलो कार्यक्रम सम्पन्न भएको प्रदेश १ नं क्षेत्रका प्रचार प्रसार संयोजक खड्ग बहादुर महतले जानकारी दिए । घरदैलो पश्चात डईभर टोलमा आयोजित कोण सभामा प्रदेश सभा सदस्य पदका उम्मेदवार केसीले जनज्योति युवा क्लवको खेल मैदानलाई राष्ट्यि स्तरको रंगशालामा स्तरोन्नती गर्ने, अस्त व्यस्त रहेका सडकहरुको ढल नालि सहित स्तरोन्नती गर्ने प्रतिवद्धता जनाएका थिए ।
