२०८१ आश्विन ८

“हाम्रो जित संबिधानको रक्षा , भ्रष्टाचार नियन्त्रण र सुकुम्बासी समस्या समाधानको लागि हो ”
  • लुम्बिनी खोज
  • २०७९ कार्तिक २७, आईतवार १७:०६ गते

 संविधानको रक्षा, भ्रष्टाचार नियन्त्रणका लागि मत दिनुसः उम्मेदवार थापा
बुटवल ।  रुपन्देही क्षेत्र नं. २ का प्रतिनीधि सभा सदस्य उम्मेदवार केशवबहादुर थापा सुर्यवंशीले संकटमा परेको संवैधानिक व्यवस्थाको रक्षाको लागि सत्ता गठबन्धनका उम्मेदवारलाई जिताउन आग्रह गरेका छन । सत्ता गठबन्धनका उम्मेदवार राष्ट्रिय जनमुक्ति पार्टीका केन्द्रीय कार्यकारी अध्यक्ष थापाले व्यवस्था र संविधानको रक्षा, भ्रष्टाचार नियन्त्रण गर्नकालागि आफूहरु जनताको मत लिन आएको बताए ।बुटवलको वडा नं. ७ र सैनामैनामा भएको चुनावी प्रचारका क्रममा आईतबार उनले आफूहरुले जिते संविधानको रक्षा गर्दै कृषि क्रान्ति, औद्योगिक, पर्यटन लगायतको विकासका काम गर्ने प्रतिवद्धता व्यक्त गरे । तनाशाही, निरंकुश अधिनायकवादी सोच भएका व्यक्तिले जिते भने प्राप्त उपलब्धिहरु गुम्ने खतरा भएको दावी गर्दै त्यसबाट मुक्त रहनको लागि आफूहरुलाई मत दिन आग्रह गरे ।
रोजगारी सिर्जनाको लागि औद्योगिकीकरण, युवालाई सीपसहितको शिक्षा, सर्वशुलभ स्वास्थ्य, न्यायालयमा सहज पहुँच स्थापित गर्ने पनि बताए । ‘आफ्ना सन्ततीको शिक्षा र स्वास्थ्यको लागि चिन्ता लिईरहनु पर्ने अहिलेको स्थितीलाई बदल्न चाहन्छौं ।’ उनले भने –‘त्यसको लागि तपाईहरुले हामीलाई मत दिएर जिताउनु होला ।’उनले एमाले उम्मेदवार विष्णु पौडेलले राजधानी सार्न सकिने गरी दिएको अभिव्यक्ति प्रति राजनैतिक वेईमानीको संज्ञा दिए । हालै एक टेलिभिजन कार्यक्रममा एमाले उम्मेदवार पौडेलले प्रदेशका राजधानी फेरी बुटवल ल्याउन सकिने गरी अभिव्यक्ति दिएका थिए । उम्मेदवार थापाले पौडेलले राजधानीको विषयमा मतदातालाई भ्रम छर्ने काम गरेको आरोप लगाउँदै पहिले गरेको बाचा भुलेर अर्थमन्त्रीसंग राजधानी साट्ने र अहिले आएर फेरी फिर्ता ल्याउँछु भन्नुलाई राजनैतिक वेईमानीको संज्ञा दिएका थिए ।

बिकासको लागि गठबन्धनकै सरकार आवश्यक छ ः उम्मेदवार क्षेत्री


बुटवल ।  रुपन्देही क्षेत्र नं. २ (ख) प्रदेश सभा सदस्य पदका उम्मेद्वार बामदेव क्षेत्रीले आफूहरुले जिते विद्यमान सुकुम्बासी समस्या समाधान गर्ने प्रतिवद्धता व्यक्त गरे । उनले वर्तमान सरकारले सुकुम्बासी समस्या समाधानको लागि आफ्नो काम अगाडि बढाएको बताउँदै त्यसलाई पूर्णता दिनको लागि पनि गठबन्धनकै सरकार आवश्यक रहेको भनाई राखेका थिए । उनले आफू लुम्बिनी प्रदेश योजना आयोगको उपाध्यक्ष भएर काम गर्दा त्यस क्षेत्रको विकासको लागि काम गरेको बताउँदै अव पनि तामनगरमा आपतकालिन अस्पताल बनाउने र लुम्बिनी प्रादेशिक अस्पताल बुटवललाई थप सेवा सहित सुविधासम्पन्न बनाउने बताए ।
उनले विद्यालयमा परम्परागत अध्ययन अध्यापनलाई परिवर्तन गर्नुपर्ने बताउँदै त्यसको लागि डिजिटल शिक्षालाई जोड दिएको भनाई राखेका थिए । उनले यस अगाडि आफूले गरेका बाचा विपरित काम गर्नेका व्यक्तिहरु फेरी पनि मत माग्दै आएको बताउँदै त्यस्तासंग होसियार हुन आग्रह गरे ।

विकासका लागि गठबन्धनका उम्मेद्वारहरुलाई जिताउन केसीको आग्रह

बुटवल  । रुपन्देही क्षेत्र नं. २ (क)मा सत्ता गठबन्धनको तर्फबाट काँग्रेस उम्मेदवार दीर्घबहादुर (कुमार) केसीले विकासका लागि गठबन्धनका उम्मेद्वारहरुलाई जिताउन आग्रह गरे । कोण सभामा बोल्दै उम्मेद्वार केसीले गठबन्धनले विजय हासिल गरे बुटवल वडा नं ७ मा पर्ने सिद्धार्थ बाल तथा महिला अस्पतालको स्तरोन्नती, शिद्धेश्वरी खेलमैदानलाई राष्ट्रिय खेलकुदहरु आयोजना गर्न मिल्ने गरि राष्ट्रिय स्तरको खेलमैदानको रुपमा विकास गर्ने प्रतिवद्धता व्यक्त गरे ।