२०८१ पुष १२
बुटवल ३० कात्तिक ।
लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा ए ग्रेडको आईसियूसहितको एम्बुलेन्सको शुभारम्भ गरिएको छ । लुम्बिनी प्रदेश सरकार स्वास्थ्य मन्त्रालयबाट विनियोजित १ करोड बजेटबाट ए ग्रेडको आईसियुसहितको सुविधा सम्पन्न एम्बुलेन्सको बुधबार लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयका सचिव डाक्टर विकास देवकोटाको प्रमुख आतिथ्यतामा शुभारम्भ गरिएको हो ।
उद्घाटन कार्यक्रममा बोल्दै डाक्टर देवकोटाले ए ग्रेडको एम्बुलेन्स बिरामीलाई एक ठाउँदेखि अर्को ठाउँसम्म उपचारको लागि ट्रान्सफरटेशन मात्रै नभएर उपचारसमेत प्राप्त हुने बताए । ए ग्रेडको आईसियुसहित दक्ष स्वास्थ्यकर्मीको रोहबरमा एम्बुलेन्सभित्रै बिरामीले स्वास्थ्य सेवा पाउँने भएकाले सरकारी अस्पतालमा न्यूनतम रकममा विरामीलाई सेवा दिनुपर्ने बताए । अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डाक्टर इन्द्र ढकालले कोभिडको समयमा विरामीलाई काठमाडौं लैजानका लागि एम्बुलेन्सको अभावको महसुस भएपछि अस्पतालका निवर्तमान मेसु डाक्टर विकास देवकोटाले ए ग्रेडको एम्बुलेन्स बुटवलमा ल्याउनु पर्ने निर्देशन बमोजिम प्राप्त प्रदेश सरकार स्वास्थ्य मन्त्रालयको सहयोगले आज एम्बुलेन्सको शुभारम्भले मुर्तरुप लिएको बताए । उनले ए ग्रेडको एम्बुलेन्सभित्र स्वास्थ्यकर्मी समेत रहने भएकाले डेलिभरीको अप्रेशन समेत गर्न सकिने बताए । उनले ए ग्रेडको एम्बुलेन्सले अस्पतालको सेवालाइृ एक कदम अगाडि बढ्न मद्दत पुग्ने बताए । त्यस्तैगरी अस्पतालका फिजिशियन डा। पुष्पराज जोशीले प्रादेशिक अस्पतालमा विशिष्ट क्षमताको आईसियूसहितको एम्बुलेन्सले धेरै समयको आवश्यकता पूरा भएको बताए । उनले ए ग्रेडको एम्बुलेन्स सेवाले जस्तो किसिमको विरामीलाई अर्को अस्पतालमा पुराउँदा सम्म निर्धक्क भएर उपचार गर्न सकिने बताए ।
त्यस्तैगरी उक्त कार्यक्रममा लुम्बिनी प्रदेश स्वास्थ्य महाशाखाका प्रमुख डाक्टर पुष्पराज पौडेलको विशिष्ट आतिथ्यता रहेको थियो । संयुक्त एम्बुलेन्स चालक संघ रुपन्देहीका सचिव अर्जुन लामिछानेले प्रादेशिक अस्पतालबाट सञ्चालित एम्बुलेन्सलाई आफ्नो संघबाट आवश्यक पहलकदमीका लागि सधै तत्पर रहेको बताए ।
ए ग्रेडको एम्बुलेन्स ९२ लाखमा खरिद भएको हो । अस्पतालका प्रशासन शाखा प्रमुख डा सुरेन्द्र भण्डारीको स्वागत मन्तव्यमा भएको कार्यक्रमको सञ्चालन चिरन्जीवी घिमिरेले गरेका थिए ।