२०८२ कार्तिक २७
बुटवल, ९ पुस
‘समृद्ध नेपाल निर्माणको आधार, स्वदेशी उद्यमशीलताको विस्तार’ भन्ने मूल नाराका साथ सञ्चालन भइरहेको १५ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी कृषि, प्रविधि तथा पर्यटन महोत्सवमा शनिवार अवलोकन गर्नेहरुको संख्या ह्वात्तै बढेको छ । स्वदेशी उत्पादनको प्रदर्शन र बजारीकरण गर्ने उद्देश्यका साथ नेपाल उद्योग परिसंघ र लुम्बिनी प्रदेश उद्योग संघको संयुक्त आयोजनामा रुपन्देही उद्योग संघद्वारा बुटवल मण्डपमा भइरहेको महोत्सवको तेस्रो दिन शनिवार प्रदर्शनीको अवलोकन गर्न उल्लेख दर्शकहरु प्रदर्शनी स्थल पुगेका छन् ।
सार्वजनिक विदाको दिन परेका कारण दर्शकको विहानैबाट बाक्लो उपस्थिति रहेको थियो । विहान १० बजेबाट सुरु भएको टिकट विक्रिका लागि काउन्टर खुल्ला गरिएको भए पनि अवलोकन कर्ताहरु सो समयभन्दा अगाडिदेखि नै लाइनमा बसेका थिए । टिकट लिएर अवलोकन गर्न आएका दर्शकहरुलाई लाइनवद्ध बनाएर सजिलै प्रवेश गराउन आयोजकहरु सक्रिय रहेका थिए । नयाँ व्यवस्थापनाका साथ आयोजना गरिएको यस पटकको आयोजनामा प्रवेशद्वारदेखि स्टल तथा मञ्च क्षेत्रमा धेरै खुल्ला स्थलको व्यवस्था गरिएको हुँदा दर्शकहरुले कुनै समस्या झेल्नु नपरेको आयोजकले बताएका छन ।
प्रदर्शनी मुल आयोजक समितिका सदस्य सचिव तथा रुपन्देही उद्योग संघका महासचिव हरि बहादुर खत्रीका अनुसार शनिवार मात्र एकै दिन करिव ५० हजार दर्शकले प्रदर्शनी अवलोकन गरेका छन् । अवलोकनका लागि आएका दर्शकहरुले प्रदर्शनी स्थलमा राखिएका स्वदेशी उत्पादनहरु रुचीका साथ हेरेका थिए । प्रदर्शनीमा विशिष्टकृत उद्योगी, खाद्यान्न, कपडा, कस्मेटीक, साबुन, चिया तथा कृषि उत्पादनका स्टलहरुमा बढी चासो राखेका थिए शनिवार मात्र करिव ५० लाखको आर्थिक कारोवार भएको अनुमान गरिएको आयोजकको भनाइ छ ।
आधुनिक प्रदर्शनी केन्द्रमा आयोजना गरिएको प्रदर्शनीमा दर्शकहरुले नयाँ अनुभूति गर्नुका साथै चासोका साथ अवलोकन गरेको बताउँदै दर्शकहरुको आगमन तथा स्टलमा राखिएका सामाग्रीहरुमा देखाएको चासोले आफुहरु उत्साहित बनेको मुल समितिका संयोजक माधव प्रसाद पौडेलले बताए ।
प्रदर्शनी अवलोकन गर्न आएका दर्शकहरुले उद्योग प्रतिष्ठानतर्फका ठूला पेभेलियनमा राखिएका उत्पादन प्रक्रियामा चासो देखाएका थिए । प्रदर्शनीमा पहिलो पटक राखिएको नेपालमा उत्पादन भएको टायलको पेभिलियनमा उपभोक्ताहरुले ध्यानपूर्वक जानकारी लिएका थिए । स्टलधनीले अवलोकनकर्ताहरुले निकै चासो लिएर जानकारी लिने र सम्पर्क लिएकोमा आफु निकै उत्साहित बनेको उद्योगीहरुले बताएका छन् ।
प्रदर्शनीलाई व्यवस्थित र सुरक्षित बनाउनका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीको सहयोगमा आन्तरिक सुरक्षा प्रवन्ध मिलाएको सुरक्षा समितिका संयोजक युवराज आचार्यले बताए । उनले प्रदर्शनी स्थल भित्र कुनै पनि अप्रिय घटना घट्न नपाओस भनेर निकै सतकर्ता अपनाएको र त्यसका लागि स्थलभित्र प्रर्याप्त सिसी क्यामराको व्यवस्था गरिएको बताए ।
दर्शहरुको आर्कषणको क्षेत्र प्रदर्शनीको मनोरञ्जनात्मक कार्यक्रम अन्तरगत सांस्कृतिक प्रस्तुति तथा प्रतियोगिताहरु रोचक बन्दै गएका छन् । शनिवार चर्चित लोकदोहोरी गायक बद्री पंगेनी, लोक दोहोरी गायिका रितु थापा, लोकदोहोरी गायक विधान कार्की तथा हास्य कलाकार पुरुषोत्तम भण्डारी (पुर्खे) बाको प्रस्तुति रहेको थियो । चर्चित लोकदोहोरी गायक बद्री पंगेनीले दर्शकहरुलाई नचाएका थिए । दोहोरी गित प्रतियोगिता अन्तरगत दोहोरी गित प्रतिष्ठान, लुम्बिनी प्रदेश र हिमचुली दोहोरी साँझ, बुटवलकावीच प्रतिपष्र्धा भएको छ ।
आइतवार सांस्कृतिक कार्यक्रमतर्फ चर्चित लोकदोहोरी गायक राजु परियार, लोक दोहोरी गायिका विष्णु श्रीपाली, आधुनिक गायक हेमन्त शर्मा तथा हास्य कलाकार उज्जवल गिरी, डान्सर सविता भुसालको प्रस्तुति रहने छ । दोहोरी गित प्रतियोगिता अन्तरगत घुम्टे रोधीघर जापान र राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान कास्की, कावीच प्रतिस्पर्धा हुनेछ ।
प्रदर्शनी आइडल २०७९ को टप १० को प्रस्तुति भएको छ भने शुक्रवार आफ्नो प्रस्तुती दिएका दुई जना प्रतियोगी बाहिरिएका छन् । आइतवार पनि सार्वजनिक विदाको दिन परेका कारण प्रदर्शनी हेर्ने दर्शकहरुको घुइचो हुने अनुमान गरी सोही अनुसारको तयारी गरिएको प्रदर्शनी प्रबन्धक यादव प्रसाद भण्डारीले बताए ।