२०८२ माघ २३

यति एयरलाइन्सको विमान पोखरामा दुर्घटना
  • लुम्बिनी खोज
  • २०७९ माघ १, आईतवार ०९:४४ गते

बुटवल ।   पोखरामा जहाज दुर्घटना भएको छ । काठमाडौँबाट पोखराका लागि उडेको यति एयरलाइन्सको विमान आइतबार बिहान पोखरा विमानस्थलबाट नजिकै रहेको सेती खोचमा दुर्घटना भएको नेपाल नागरिक उड्डयन प्राधिकरणले दिएको छ । विमान काठमाडौँबाट ११ बजेर ५ मिनेटमा उडेको थियो ।

उनका अनुसार यति एयरलाइन्सको ६९N कल साइन दुर्घटना भएको हो । माथिबाट तल झरेको  स्थानीयले बताएका छन ।  विमानमा  ७२ जना सवार थिए । यती एयरलाइन्सको विमान दुर्घटनाको उद्धार कार्य जारी छ । सुरक्षा बल र स्थानीयले अहिले उद्धार कार्य गरिरहेका छन् ।

काठमाडौंबाट पोखराका लागि उडेको नाइनएन–एएनसी एटिआर–७२ जहाज अवतरण गर्ने क्रममा पुरानो एयरपोर्ट र नयाँ एयरपोर्टको बीचमा रहेको सेती किनारामा दुर्घटना भएको हो । विमानमा चालक दलका चार सदस्य र ६८ यात्रु रहेका बताइएको छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पोखरामा भएको विमान दुर्घटनामा उद्धार कार्यलाई प्रभावकारी बनाउन अपिल गरेका छन् । दुर्घटनाप्रति दुःख व्यक्त गर्दै प्रधानमन्त्री प्रचण्डले सुरक्षाकर्मी, सरकारका सम्पूर्ण निकाय र आमनागरिकलाई प्रभावकारी रूपमा उद्धार कार्यमा लाग्न अपिल गरेका हुन् ।

‘काठमाडौंबाट यात्रु लिएर पोखराका लागि उडेको यती एयरलाइन्सको एएनसी एटिआर ७२ जहाजको दुःखद र त्रासदीपूर्ण दुर्घटनाप्रति गहिरो दुःख व्यक्त गर्दछु । प्रभावकारी उद्धारमा लाग्न सुरक्षाकर्मी, नेपाल सरकारका सम्पूर्ण निकाय र आमजनसमुदायमा हार्दिक अपिल गर्दछु,’ उनले ट्विटरमार्फत भनेका छन् ।