२०८१ आश्विन ८

नदीजन्य पदार्थको अवैध उत्खनन् र ओसारपसार रोक्न बुटवलले थाल्यो पहल
  • लुम्बिनी खोज
  • २०७९ माघ ८, आईतवार ११:५२ गते

बुटवल ।
बुटवलको तिनाउ–दानव कोरिडोर निर्माणका क्रममा अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन् र ओसारपसार हुन थालेपछि बुटवल उपमहानगरपालिकाले नियन्त्रणको पहल थालेको छ ।
कोरिडोर निर्माणका लागि ठेक्का पाएको निर्माण कम्पनीले बुटवल क्षेत्रभित्रको नदीजन्य पदार्थ उत्खनन् गर्दा राजस्व भुक्तानी नगरेको र नदीजन्य पदार्थको मनपरी उत्खनन् र ओसारपसार हुन थालेको पाइएपछि बुटवलले नियन्त्रणको पहल थालेको हो ।
शुक्रबार बुटवल उपमहानगरपालिकाको अगुवाईमा सरोकारवालासहितको टोलीले अनुगमन गरी नदीजन्य पदार्थ प्रयोग गरेवापत् निर्माण कम्पनी राजस्वको दायरामा आउने, अवैध उत्खनन् र ओसारपसार रोक्ने निष्कर्ष निकालेको थियो ।
बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयको अध्यक्षतामा शनिबार बसेको बैठकले राजस्वको दायरामा नआएको निर्माण व्यवसायीलाई राजस्वको दायरामा ल्याउने र निरन्तर अनुगमन तथा नियमन गर्ने निर्णय गरेको हो ।
बैठकले तिनाउ र दानव नदीमा भइरहेको दोहन नियन्त्रण गर्नका लागि जिल्ला समन्वय समिति, जिल्ला प्रशासन कार्यालय, बुटवल उपमहानगरपालिका र सरोकारवाला निकायका बीचमा समन्वय र सहकार्य गर्ने निर्णय गरेको छ ।
तिनाउ–दानव करिडोर निर्माणका क्रममा सञ्चालन हुने उपकरण तथा ढुवानीका साधनबारे पूर्वजानकारी गराउने र नदीजन्य पदार्थ उत्खनन् र ढुवानी बिहान सूर्योदयदेखि बेलुका सूर्यास्तसम्ममात्रै गर्ने निर्णय बैठकले गरेको छ ।
तिनाउ–दानव करिडोर निर्माण पक्षसँग नदीमा उत्खनन् र ओसारपसारमा समन्वय र नियमन गर्नका लागि बैठकले बुटवल उपमहानगरपालिकाका राजस्व अधिकृतको नेतृत्वमा समिति बनाएको छ ।
समितिमा जिल्ला समन्वय समिति, जिल्ला प्रशासन कार्यालय, सडक डिभिजन कार्यालय, निर्माण व्यवसायी र वडा कार्यालयका प्रतिनिधि रहने निर्णय बैठकले गरेको बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले बताए ।
बैठकमा जिल्ला समन्वय समितिका प्रमुख उमाकान्त चपाइँले नदीजन्य पदार्थको अवैध उत्खनन् रोक्नका लागि सबै संयन्त्र क्रियाशील हुनुपर्ने बताए ।
बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले तिनाउ दानव करिडोर निर्माणमा पूर्ण सहयोग हुने बताउँदै निर्माणका क्रममा अवैध उत्खनन् र निकासी हुन नदिन निर्माण पक्षपनि चनाखो हुनुपर्ने बताए ।
रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले रुपन्देहीमा कसैले पनि नदीजन्य पदार्थको अवैध उत्खनन् र ओसारपसार गर्न नपाउने बताउँदै नियमनमा सहकार्य गर्ने बताए ।
सडक डिभिजन कार्यालय बुटवलका होम बहादुर एसीले नदीजन्य पदार्थ उत्खनन् तथा ओसारपसारमा निर्माण पक्षले नियमसंगत तरिकाले काम गर्नुपर्ने बताए ।
कार्यक्रममा निर्माण कम्पनी लामा बिरुवा जेभीका दीपेन्द्र डंगोलले बुटवल उपमहानगरपालिकालाई नदीजन्य पदार्थवापतको राजस्व बुझाउने र आगामी दिनमा बुटवलसँग सहकार्य गर्ने प्रतिबद्धता जनाए ।
कार्यक्रममा औद्योगिक क्षेत्रका भोलानाथ भुजेल, निर्माण व्यवसायी अञ्जु भुसाल, वडाध्यक्षहरु ज्ञानबहादुर रेश्मी, गुरुप्रसाद पंगेनी, रामचन्द्र क्षेत्री, डिल्लीप्रसाद शर्मा उपाध्यायलगायतले बोलेका थिए ।