२०८२ माघ २९
बुटवल । सार्कका महासचिव इसला विराकुनले बौद्ध दर्शनले सार्कका मुलुकहरुलाई एकआपसमा जोड्ने काम गरेको बताएका छन् । सार्कमा रहेकामध्ये दुई वटामात्रै बौद्ध राष्ट्र भएपनि अन्य मुलुकमा पनि बुद्धिष्ट र बौद्ध संस्कृति उत्तिकै महत्वपूर्ण रहेको उनले बताए ।
लुम्बिनी बौद्ध विश्वविद्यालयमा आयोजित स्वागत कार्यक्रममा बोल्दै महासचिव विराकुनले नेपालबाट शान्तिको सन्देश विश्वभर फैलिरहेको बताए । बुद्धका सन्देशले सार्कमात्रै नभई विश्वलाई नै शान्ति र करुणामय राख्ने विश्वास उनले गरे ।
सो अवसरमा बोल्दै विश्वविद्यालयका उपकुलपति प्रा.डा. हृदयरत्न बज्राचार्यले विश्वविद्यालयले सार्कमार्फत अन्य देशसंग प्राज्ञिक उन्नयनमा सहकार्य गर्न खोजिरहेको बताए । उनले महासचिवलाई समन्वयका लागि आग्रह समेत गरे ।
सो अवसरमा विश्वविद्यालयका डीनहरु डा. माणिकरत्न शाक्य, प्रा.डा. रामचन्द्र पौडेल, प्राध्यापक डा. संकिच्च महास्थविरले लुम्बिनी बौद्ध विश्वविद्यालयले बौद्ध दर्शन अध्ययन र अनुसन्धान तथा बौद्ध स्थलको उत्खनन् सम्बन्धी गरेका प्राज्ञिक गतिबिधिको बारेमा जानकारी गराएका थिए ।
सार्क महासचिव विराकुन नेतृत्वमा आएको टोलीमा उनकी पत्नि एवं श्रीलंकन राष्ट्रपतिको विदेश विभाग पूर्व निर्देशक क्रिशान्ति विराकुन, श्रीलंकन महाविहारका इन्चार्ज पन्नसरा थेरो, युएनडीपी लुम्बिनी कार्यालय प्रमुख सुदीप अर्याल, पर्यटन व्यवसायी कृष्ण अधिकारी लगायत सहभागि रहेका थिए । टोलीले लुम्बिनी बौद्ध विश्वविद्यालयपरिसरको बौद्ध स्तुपा, केन्द्रीय क्याम्पसको अवलोकन गरेको थियो ।