२०८१ माघ ५

लुम्बिनी प्रदेश खेलकुद परिषदको बैठकले के गर्यो निर्णय ?
  • लुम्बिनी खोज
  • २०७९ चैत्र ८, बुधबार १४:३१ गते

बुटवल, ८ चैत ।
लुम्बिनी प्रदेश खेलकुद परिषदको बैठक बुटवलमा सम्पन्न भएको छ । परिषद अध्यक्ष एवं सामाजिक बिकास मन्त्री चन्द्रकेश(सिके) गुप्ताको अध्यक्षतामा बसेको बैठकमा प्रदेशको खेलकुदको अवस्था र आगामी दिनमा गरिने प्रतियोगिता तथा खेल गतिविधिका विषयमा गम्भिर छलफल भएको परिषदले जनाएको छ ।
बैठकले प्रदेशले आयोजन गर्ने लुम्बिनी पिस म्याराथन, मुख्यमन्त्री रनिङ शिल्ड तथा विभिन्न प्रतियोगिताका बिजेता खेलाडी एंव प्रशिक्षकहरुलाई प्रोत्साहन र सम्मान कार्यक्रमका बारेमा सैद्धान्तिक सहमति गरि आवश्यक काम अगाडी बढाउने निर्णय गरेको परिषदका सदस्य सचिव जयप्रकाश भट्टराईले जानकारी गराए । बैठकमा सदस्य सचिव भट्टराईले परिषदले हालसम्म गरेको कामको बारेमा जानकारी गाउदै प्रदेशमा गरिने खेलकुदका गतिविधिलाई व्यवस्थित गर्ने र यसअघि भएका निर्णयलाई कार्यान्वयन गर्ने प्रस्तावका रुपमा राखेका थिए । सोही अनुसार मुख्य गरि लुम्बिनी पिस म्याराथन, मुख्यमन्त्री रनिङ शिल्ड तथा विभिन्न प्रतियोगिताका बिजेता खेलाडी एंव प्रशिक्षकहरुलाई प्रोत्साहन र सम्मान गर्ने कार्यक्रमलाई तत्काल अगाडी बढाउने निर्णय बैठकले गरेको जनाइएको छ ।
बैठकले विश्व ओलम्पिक दिवश अप्रेल ६ तारिखका दिन नेपाल ओलम्पिक कमिटीसंगको सहकार्यमा प्रदेश खेलकुद परिषदले लुम्बिनी पहिलो पटक खुल्ला लुम्बिनी पिस म्याराथन आयोजना गर्ने प्रस्तावलाई अनुमोदन गर्दै त्यसको तयारी र आयोजना प्रक्रियाका लागि आवश्यक तयारी गर्न सदस्य सचिवलाई जिम्मेवारी दिने निर्णय गरेको छ । त्यसैगरि प्रदेशको आफ्नो एक मात्र कार्यक्रम मुख्यमन्त्री रनिङ शिल्डको आयोजना विभिन्न कारणले रोकिएको हुदाँ त्यसलाई यस वर्ष आयोजना गर्ने निर्णय भएको सदस्य सचिव भट्टराईले बताए ।
बैठकले लुम्बिनी प्रदेशबाट सहभागि राष्ट्रपति रनिङ शिल्डका विजेता तथा अन्य विभिन्न राष्ट्रिय एवं अन्तराष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी खेलाडी र प्रशिक्षकहरुलाई प्रोत्साहन स्वरुप सम्मान गर्ने पूर्व घोषित कार्यक्रमलाई तत्काल आयोजना गर्ने निर्णय गर्दै त्यसका लागि आवश्यक वजेट विनियोजन गर्न प्रदेश सरकारसंग अनुरोध गर्ने निर्णय गरेको छ ।
बैठकमा बोल्दै सामाजिक बिकास मन्त्री गुप्ताले खेलकुदको विकासका लागि दलगत आग्रह पूर्वाग्रह त्याग्दै खेल संस्थाहरुलाई काम गर्न आग्रह गरे । उनले युवाहरुलाई खेलप्रति आकर्षण बढाउने र उनीहरुलाई प्रोत्साहान गर्ने दायित्व राज्यका अंगहरुको भएको हुदा एकै पटक ठूलो योजना बनाउनु भन्दा सानोबाट काम सुरु गर्न निर्देशन दिदै खेलकुदको गतिविधिका लागि प्रदेश सरकारबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाए ।
सो अवसरमा परिषदका सदस्य सचिव जयप्रकाश भट्टराईले वजेटको अभावमा परिषदले चाहे अनुसारको काम गर्न नसकेको जानकारी गराउदै विनियोजन गरिएको वजेट प्रतियोगिताहरु हुन नसक्दा फ्रिज हुने अवस्था आउन सक्ने हुदा त्यसमा ध्यान दिन अनुरोध गरे ।
लुम्बिनी प्रदेश खेलकुद परिषदले नेपाल ओलम्पिक कमिटिसंग सहकार्य गरि लुम्बिनीमा लुम्बिनी पिस म्याराथनको आयोजना गर्ने प्रस्ताव अगाडी बढाएको र त्यसको तयारीका लागि ओलम्पिक कमिटी, लुम्बिनी विकास कोष, लुम्बिनी सांस्कृतिक नगरपालिका लगायतसंग चरणबद्ध रुपमा छलफल भएको जनाइएको छ । यसैगरि प्रदेशले मुख्यमन्त्री रनिङ शिल्ड प्रतियोगिता चैत्रको अन्तिम सातामा गर्न सक्ने प्रस्ताव गरेको छ ।