२०८१ आश्विन ४

एसईई परीक्षाको तयारी पूरा, झण्डै पाँच लाख परीक्षार्थी सहभागी
  • लुम्बिनी खोज
  • २०७९ चैत्र १६, बिहीबार १६:४७ गते

बुटवल, १६ चैत ।

यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)को सम्पूर्ण तयारी पूरा भएको छ । शुक्रबार बिहान ८ बजेदेखि देशभर एकैसाथ सुरु हुने राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिए ।

उनले सबै परीक्षा केन्द्रका लागि केन्द्राध्यक्ष नियुक्ति, सुरक्षा व्यवस्था, जनशक्ति परिचालन, प्रश्नपत्र र उत्तर पुस्तिका पुर्‍याउनेलगायतका सबै काम सकिएको जानकारी दिए ।

एसईईका परीक्षा नियन्त्रक विष्णुनारायण श्रेष्ठले राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयको आयोजनामा सात प्रदेशका प्रदेश सरकारका शिक्षा हेर्ने मन्त्रालयका सचिवहरू, सातै प्रदेशका शिक्षा विकास निर्देशनालयका निर्देशकहरू, ७७ वटै जिल्लाका शिक्षा विकास तथा समन्वय इकाइका प्रमुखहरू, राष्ट्रिय परीक्षा बोर्डका प्रदेश र शाखा कार्यालयका प्रमुखहरू, बोर्डका अध्यक्ष, सदस्य सचिव, परीक्षा नियन्त्रण, उपनियन्त्रक कर्मचारीलगायतको भर्चुअल बैठक सम्पन्न भएको बताए ।

उनले प्रत्येक प्रदेशमा प्रदेश सचिवको अध्यक्षतामा गठन भएका प्रदेश परीक्षा सञ्चालन तथा व्यवस्थापन समितिले बोर्डको निर्देशनको परिधिभित्र रहेर प्रदेश भित्रका परीक्षा सञ्चालन, व्यवस्थापन र अनुगमन गर्ने बताए ।

त्यस्तै प्रत्येक जिल्लामा प्रमुख जिल्ला अधिकारी प्रमुख, शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख सदस्य सचिव, जिल्लाका सुरक्षा निकायका प्रमुखहरूलगायत रहने गरी गठन गरिएको जिल्ला परीक्षा समन्वय समितिले परीक्षा केन्द्रमा केन्द्राध्यक्ष नियुक्ती, सरोकारवालालाई प्रशिक्षण गर्ने, प्रश्नपत्र प्रहरी निकायसम्म पुर्‍याउने, उत्तरपुस्तिका परीक्षा केन्द्रसम्म पुर्‍याउने र आवश्यक समन्वय गर्ने कामसमेत पूरा भएको बताए।

एसईई परीक्षामा सहभागिता जनाउनका लागि यस वर्ष २०७८ मा कक्षा नौमा रजिष्ट्रेसन भर्ने विद्यार्थी पाँच लाख १६ हजार ५९१ जना रहे पनि कक्षा १० सम्म आइपुग्दा भने परीक्षाका लागि आवदेन दिनेमा कूल चार लाख ८४ हजार २२७ जनाले फारम भरेका थिए । परीक्षा नियन्त्रक श्रेष्ठका अनुसार कक्षा नौबाट १० मा आउँदा ३२ हजार ३६४ विद्यार्थी घटेको जानकारी दिए ।