२०८२ कार्तिक १९

बुटवलमा सामुदायिक कुकुरहरुको बन्ध्याकरण शुरु
  • लुम्बिनी खोज
  • २०७९ चैत्र २१, मंगलवार ०७:२२ गते

बुटवल, २१ चैत ।
बुटवलमा सामुदायिक कुकुरहरुको बन्ध्याकरण शुरु गरिएको छ ।   बुटवल उपमहानगरपालिकाको आयोजना र वातावरण तथा सामाजिक परिवर्तनका लागि युवासँगको सहकार्यमा ३ दिने अभियान शुरु भएको हो । बुटवल उपमहानगरपालिकाभित्र सडकका कुकुरहरुको संख्या वृद्धि नहोस् र रेबिज रोग फैलिन नदिन बन्ध्याकरण तथा रेबिजविरुद्धको खोप लगाउन थालिएको हो ।
अभियानका क्रममा बुटवलभित्रका सडकका कुकुरहरुको बन्ध्याकरणले कुकुरको संख्या वृद्धि रोकिने बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले बताए । उनले कुकुर पाल्नेहरुले सार्वजनिक स्थलमा दिसापिसाब गराउनेलाई कारबाही गर्ने र आगामी वर्षदेखि बुटवलमा कुकुर पाल्नका लागि अनुमति लिनुपर्ने व्यवस्था गर्ने कानून बनाइरहेको बताए । सबैतिरबाट सहज पहुँच भएकाले बुटवलमा छाडा चौपाया र कुकुरहरुको संख्या बढ्दै गएकाले यसलाई रोक्नका लागि तयारी थालिएको उनको भनाइ छ ।
कार्यक्रममा बुटवल उपमहानगरपालिकाका प्रवक्ता तथा वडा नं १५ का अध्यक्ष शिव रानाले बुटवलका १९ वटै वडाका सामुदायिक कुकुरहरुको बन्ध्याकरण गरिने बताए । बुटवल उपमहानगरपालिकाका पशुपंक्षी विकास शाखाका प्रमुख झविन्द्र बञ्जाडेले बुटवलभित्र कुकुरको संख्या बढ्दै गएकाले संख्या वृद्धि हुन नदिन बन्ध्याकरण गरिएको बताए । उनले ३ दिनसम्म चल्ने बन्ध्याकरण कार्यक्रममा बुटवलका सबै वडाहरुबाट कुकुर संकलन गरिने बताए ।