२०८१ आश्विन ७

मेयर कप क्रिकेटः सेमिफाइनल समिकरण पूरा
  • लुम्बिनी खोज
  • २०७९ चैत्र २४, शुक्रबार १४:५७ गते

 

भैरहवा,२४ चैत्र ।

सिद्धार्थनगर नगरपालिकाको आयोजनामा भैरहवामा जारी नगरस्तरीय मेयर कप क्रिकेट प्रतियोगितामा सेमिफाइनल समिकरण पूरा भएको छ । शुक्रबार भएको खेलमा विजयी हुँदै वडा नम्बर ३, ६ र ८ सेमिफाइनलमा पुगेसँगै सेमिफाइनल समिकरण पूरा भएको हो । वडा नम्बर २ भने यसअघि नै सेमिफाइनलमा पुगेको थियो । शुक्रबारको खेलमा वडा नम्बर तीन १५ रनले विजयी भएर सेमिफाइनल पुग्दा वडा नम्बर छ २७ रन र वडा नम्बर आठ ५ विकेटले विजयी हुँदै सेमिफाइनल पुगेका हुन् ।

भैरहवास्थित सिद्धार्थ रंगशालामा भएको पहिलो खेलमा टस जितेर ब्याटिङ गरेको वडा नम्बर ३ ले निर्धारित १२ ओभरको खेलमा ४ विकेटको क्षतिमा १ सय ८ रन बनायो । उसका लागि समिर मुसलमानले सर्वाधिक ३१ रन बनाउँदा भगवान कुर्मीले २५ र सुजन न्यौपानेले नटआउट २२ रन बनाए । बलिङमा वडा नम्बर ११ का नर्विक बरईले २ र कमलेश कुर्मीले १ विकेट लिए । जवाफी ब्याटिङ गरेको वडा नम्बर ११ ले ७ विकेटको क्षतिमा ९३ रन मात्रै बनाउन सक्यो । उसका लागि नर्विक बरईले ३१ र नर्विक यादवले २४ रन बनाए । बलिङमा वडा नम्बर ३ का रमेश कुर्मी र अर्जुन चौहाले समान २–२ विकेट लिए । खेलमा समिर मुसलमान म्यान अफ द म्याच भए ।

दोस्रो खेलमा टस हारेर ब्याटिङ गरेको वडा नम्बर ६ ले निर्धारित खेलमा ६ विकेटको क्षतिमा १ सय १ रन बनायो । जसमा अर्जुन चौधरीले ४२, सुरज धवलले १४ र सुरज गुरुङले ११ रन जोडे । बलिङमा वडा नम्बर ९ का रहमान अलीले २, मेहबुब आलम र प्रमोद कुर्मीले १–१ विकेट लिए । प्रतिउत्तरमा वडा नम्बर नौ ७ विकेटको क्षतिमा ७४ रनमै समेटियो । उसका लागि सुनिल साहनीले नटआउट ४४ रन बनाए भने अन्य ब्याट्सम्यानले दोहोरो अंक बटुल्न सकेनन् । बलिङमा वडा नम्बर ६ का अमर मिश्राले ५, सुरज गुरुङ र इकलाख वारिसले १–१ विकेट लिए । खेलमा अमर मिश्रा म्यान अफ द म्याच भए ।

यस्तै, तेस्रो खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको वडा नम्बर १ ले निर्धारित खेलमा सबै विकेटको क्षतिमा ५० रनको झिनो योगफल बनायो । उसका लागि अन्तिम थापा र राजेन्द्र यादवले १२–१२ रन बनाए । बलिङमा वडा नम्बर ८ का सुमन अधिकारीले ५ तथा फरमान मल्लिक र बीरेन्द्र साहनीले समान २–२ विकेट लिए । जवाफी ब्याटिङ गरेको वडा नम्बर ८ ले ८.१ ओभरमा ५ विकेटको क्षतिमा ५२ रन बनाउँदै जित निकाल्यो । उसको जितमा अजय रसाइलीले १५, सुमन अधिकारीले नटआउट ११ र आषिश सिंहले १० रन जोडे । बलिङमा वडा नम्बर १ का एजाद खान र सोइल खानले २–२ विकेट लिए । सुमन अधिकारी म्यान अफ द म्याच भए ।

प्रतियोगितामा विजेता टिमलाई नगद ५१ हजारसहित कप, मेडल र प्रमाणपत्र र उपविजेतालाई २५ हजार ५ सयसहित कप, मेडल र प्रमाणपत्र प्रदान गरिने छ । यस्तै, प्रतियोगिताको म्यान अफ द सिरिजले ११ हजारसहित ट्रफी र मेडल, उत्कृष्ट बलर र ब्याट्सम्यानले ५–५ हजारसहित ट्रफी र मेडल तथा प्रत्येक खेलमा १ जना म्यान अफ द म्याचलाई नगद १ हजार रुपैयाँ र ट्रफी प्रदान गरिने नगरपालिकाले जनाएको छ । प्रतियोगिताको आकर्षणको रुपमा ह्याट्रिक विकेट र छक्का हान्ने खेलाडीलाई पनि १ हजार १ सय रुपैयाँको दरले पुरस्कृत गरिने छ । प्रतियोगिताको सेमिफाइनल र फाइनल खेल शनिबार हुनेछ ।